Prakash Adhikari January 27, 2026

पोखरा(कास्की), १३ माघ । छैटौं टाइगर कप भलिबल प्रतियोगिता अन्तरगत आज भएका खेलमा महिलातर्फ न्यू डायमन्ड स्पोट्स क्लब र थाईल्याण्ड क्वीन्सले जितेका छन् भने पुरुषतर्फ गण्डकी र पर्वत फाइनल नजिक पुगेका छन् ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार सम्पन्न दोस्रो खेलमा विभागी टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न्यू डायमन्ड उपाधिनजिक पुगेको हो।

न्यू डायमन्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–२० ले जित निकाल्यो। डायमन्ड ३ खेलबाट ९ अंकसहित फाइनलमा पुगेको हो। अब एपीएफ, थाइल्यान्ड क्विन्स र पुलिसमध्ये एक टोलीले फाइनलमा स्थान बनाउनेछन्। पहिलो खेलमा आर्मीलाई हराएको पुलिसले लगातार दोस्रो हार बेहोरेको छ।

यसअघि आजै भएको खेलमा थाइल्यान्डले आर्मी ३–० को सोझो सेटमा पराजित गरेको थियो। थाइल्यान्डले पहिलो सेट २५–११, दोस्रो सेट २५–२१ र तेस्रा सेट २५–१६ ले सहज जित निकालेको हो।

पहिलो खेलमा एपीएफसँग पाँचौं सेटमा पराजित भएको थाइल्यान्डले दोस्रो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो। आर्मी भने जितविहीन रहँदै प्रतियोगिता समाप्त गरेको छ। आर्मी सबै चार खेलमा पराजित भयो।

गण्डकी फाइनलनजिक

आजै सम्पन्न पुरुषतर्फको खेलमा साबिक विजेता तथा विभागीय टोली नेपाल पुलिस क्लबमाथि सहज जित निकाल्दै गण्डकी प्रदेशले टाइगर कप भलिबल प्रतियोगिताको फाइनल पुग्ने सम्भावना कायम राखेको छ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार सम्पन्न खेलमा घरेलु टोली गण्डकीले ३–० को सोझो सेटमा जित हासिल गरेको हो। जितसँगै गण्डकीले चार खेलबाट ९ अंक पुर्‍याएको छ।

खेलको सुरुआतदेखि नै दबाबमा राखेको गण्डकीले पहिलो सेटमा २५–२२ को रोमाञ्चक जित निकाल्यो। दोस्रो र तेस्रो सेट भने २५–२० तथा २५–१४ ले आफ्नो बनाउँदै सहज जित हात पार्‍यो।

माल्दिभ्सलाई हराउदै पर्वत फाइनलनजिक

आजै भएको पुरुषतर्फको खेलमा लगातार तेस्रो जित निकाल्दै पर्वत जिल्ला भलिबल संघले माल्दिभ्स भलिबल एसोसिएसनलाई ३–० को सोझो सेटमा पराजित गरेको द्ध.छ।

पर्वतले पहिलो सेट २५–१७ ले जितेको थियो। तर, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१६ ले सहजै आफ्नो पक्षमा पार्‍यो।

यसअघि पर्वतले विभागीय टोलीद्वय नेपाल पुलिस र एपीएफ क्लबलाई पराजित गरेको थियो।

यो जितसंगै पर्वत ८ अंकसहित फाइनलको बाटोमा पुगेको छ ।

माल्दिभ्सको भने लगातार चौथो हार हो।

 

Share Now