काठमाडौं, १४ माघ । बुधबार नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार उच्च अंक घटेर बन्द भएको नेप्से, यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
यस दिन धितोपत्र बजार परिसूचक ५.३८ अंक बढेर २७३१.८९ विन्दुमा पुगेको छ।
बजार परिसूचक बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। मंगलबार १४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ३४ स्टकको २ करोड ३६ लाख १८ हजार कित्ता शेयर खरिदबिक्रीबाट ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँबराबरको कारोबार भएको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य यस दिन सर्वाधिक ८.०७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ८३ करोड ५७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन राधी विद्युत कम्पनीको कारोबार रकम ५४ करोड रुपैयाँ नाघेको छ भने एसवाई प्यानल नेपालको करिब ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक १।२४ प्रतिशत बढेको छ। कारोबारमा आएको बैंकिङ्ग, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य घटेको हो।


















