पोखरा(कास्की), १७ माघ । आजदेखि नेपालको पोखरामा साफ यु १९ महिला च्याम्पियनसिप प्रतियोगिता हुँदैछ ।
पोखरा रंगशालामा आयोजना हुने प्रतियोगिताको समुद्घाटन खेलमा आयोजक राष्ट्र नेपाल र भारत भिड्ने भएका छन् ।
खेल अपरान्ह ३ बजे सुरु हुने बताइएको छ ।
प्रतियोगिताको पूर्वसंध्यामा पोखराको लेकसाइडमा हिजो भएको प्रिम्याच कन्फरेन्समा सहभागी राष्ट्रका टिमका कप्तान र प्रशिक्षकले च्याम्पियनसिपका लागि तयार रहेको प्रतिक्रिया दिएका छन् । च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश र भुटानले प्रतिस्पर्धा गर्नेछन् ।
स्थानिय आयोजकको रुपमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । नेपाली यू–१९ महिला टोलीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले प्रतियोगिताका लागि राम्रो तयारी भएकाले नतिजा राम्रो आउने विश्वास व्यक्त गरेका छन् ।
यस्तै पहिलो पटक उमेर समूहमा कप्तानी गरिरहेकी सुशिला केसीले घरेलु मैदानमा हुने प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गर्ने प्रतिक्रिया दिइन् ।
बंगलादेशका मुख्य प्रशिक्षक पिटर बटलर र कप्तान अर्पिता विश्वास अर्पिताले यू(१९ महिला च्याम्पियनसिप नयाँ खेलाडीहरुका लागि राम्रो अवसर भएको बताए ।
यस्तै भुटानकी मुख्य प्रशिक्षक टंका माया घलेले टोलीको तयारी राम्रो रहेको बताइन् । भुटानकी कप्तान सोनम छोदेनले टिमको तयारी राम्रो भएको र खेल्न उत्सहित रहेको बताइन् ।
भारतकी मुख्य प्रशिक्षक पामेला कोन्टीले टोलीमा अधिकांश खेलाडी १७ वर्षभन्दा मूनिको रहेको जानकारी दिइन् । यस्तै भारतकी कप्तान जुलान नोङमैथेमले तयारी राम्रो भएको र टोलीले उत्कृष्ट प्रदर्शन गर्ने बताइन् ।
पहिलो पटक राजधानी काठमाडौं बाहिर साफको उमेर समूहको प्रतियोगिता आयोजना हुन लागेको हो । यसअघि सन् २०१९ मा सिनियर साफ महिला च्याम्पियनसिप विराटनगरमा भएको थियो ।
साफले सकेसम्म आफ्नो प्रतियोगिताहरुलाई राजधानी भन्दा बाहिर शहरहरुमा पनि लैजाने योजना अनुसार यस पटक साफ यू(१९ महिला च्याम्पियनसिप पोखरामा आयोजना गर्न लागिएको हो ।
साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत पहिलो खेल शनिबार भुटान र बंगलादेशबीच पोखरा रंगशालमा हुनेछ । खेल मध्यान्ह १२ बजे सुरु हुनेछ ।
यस्तै शनिबारै घरेलु टोली नेपालले भारतसँग आफ्नो पहिलो खेल खेल्नेछ । यो खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
साफ यू-१९ महिला च्याम्पियनसिपको खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ यु–१९ महिला च्याम्पियनसिपको टिकटदर तोकेको छ।
प्रतियोगिता माघ १७ देखि २४ कास्कीस्थित पोखरा रंगशालामा हुने तय छ। एन्फाका अनुसार साधारण पारापिटतर्फ २०० र भीआइपी पारापिटतर्फ ५०० रुपैयाँ टिकटदर तोकिएको हो।
प्रतियोगितामा नेपाल लगायत भारत, भुटान र बंगलादेशको सहभागिता रहनेछ। सहभागी टोलीको लागि लामाचौर गोस्ते खेलमैदानमा प्रशिक्षण गर्ने व्यवस्था गरिएको छ।
प्रतियोगिताका लागि एन्फाले सम्पूर्ण तयारी पूरा गरेको प्रवक्ता सुरेश शाहले जानकारी दिए।


















