काठमाडौं, १६ माघ। १५ औं राष्ट्रिय कबड्डी प्रतियोगितामा पुरुषतर्फको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको भने महिलातर्फको उपाधि एपीएफले जितेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न फाइनलमा एपीएफ क्लबलाई पेनाल्टीमा ६–५ अंकले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।
निर्धारित समयको खेल ३८–३८ अंकमा सकिएको थियो। त्योसँगै उपाधिको छिनोफानो अतिरिक्त समयमा गरिएको हो। प्राप्त समान ५ मिनेटमा आर्मीले ६ अंक जोड्दा एपीएफले भने ५ अंक मात्र जोड्न सक्यो।
पहिलो हाफमा आर्मीले जम्मा एक अंकको अग्रता लिएको थियो। उक्त हाफ २२–२१ मा टुंगिएको थियो। तर, दोस्रो हाफ भने रोमाञ्चक रह्यो। एक समय ३६–३८ को स्थितिमा रहेको आर्मीले समय सकिन केही अगाडि मात्र आफ्नो रेइडमा दुई अंक जोड्दै खेल ‘टाइ’ गरेको थियो। त्यसपछि खेल पेनाल्टीमा धकेलिएको हो।
पेनाल्टीमा पनि एक समय आर्मी र एपीएफ ४–४ को स्थितिमा थिए। तर, आर्मीले लगातार दुई अंक बटुल्दा एपीएफले भने एक अंक मात्र हात पार्न सक्यो।
महिलातर्फ एपीएफकी रविना चौधरी उत्कृष्ट खेलाडी घोषित भइन्। पुरुषतर्फ भने आर्मीका गणेश पार्की उत्कृष्ट खेलाडी घोषित भए।
महिलातर्फ आर्मीलाई हराउँदै एपीएफ विजेता
विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एपीएफ क्लबले २१औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा शुक्रबार सम्पन्न फाइनलमा एपीएफले आर्मीलाई २४–२० को स्कोरमा हरायो।
आर्मीले दुई अंकले पछाडि रहेको अवस्थामा पुनरागमन गर्दै ११–११ को स्थितिमा पहिलो हाफ सकाएको थियो।
तर, दोस्रो हाफमा १५–१३ ले पछि परेको अवस्थामा पुनरागमन गर्दै एपीएफले जित हात पार्न सफल भयो। दोस्रो हाफमा एपीएफले १३ अंक बटुल्यो। तर, आर्मीले भने ९ अंक मात्र थप्न सक्यो।


















