चेन्नाई(भारत), २० माघ ।आईसीसी टी २० पुरुष विश्वकप खेल्ने नेपाली टोलीले आज भारतको चेन्नाईमा विश्वकप खेल्ने अर्को राष्ट्र युनाईटेड अरब इमिरेट्ससंग पहिलो वार्मअप खेल खेल्दै छ ।
खेल चेन्नाईको एमए चिदाम्बरम अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपरान्ह ५ः१५ बजे हुने छ ।
नेपाली टोली वार्मअप खेलका लागि मुम्बईबाट अस्ति नै चेन्नाई पुगिसकेको छ । चेन्नाईमा विश्वकप खेल्ने नेपाली टोलीलाई भव्य स्वागत गरिएको थियो ।
नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाली विश्वकप टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी,सोमपाल कामी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम रहेका छन्।
नेपालले दोस्रो वार्म अप खेल बिहीबार क्यानडासँग खेल्नेछ । दुवै अभ्यास खेल विश्वकप खेलिने एमए चिदम्बरम मैदानमै आयोजना हुँदैछन् ।
नेपालले फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ । नेपाल विश्वकपको समूह ‘सी’ मा रहेको छ, जहाँ दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली रहेका छन् ।
नेपालले फेब्रुअरी १२ मा इटाली, १५ मा वेस्ट इन्डिज र १७ मा स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्ने तालिका छ । समूह चरणका सबै खेल नेपालले मुम्बईमा खेल्नेछ । नेपालले यसअघि सन् २०१४ र सन् २०२४ को विश्वकप खेलेको थियो ।
विश्वकप खेलको तयारी गरिरहेको नेपाली टोलीले यस अगाडि भारतको मुम्बई र श्रीलंकाको कोलम्बोमा अभ्यास खेलहरु खेलेको थियो । मुम्बईमा नेपालले दुई अभ्यास खेल खेल्यो भने कोलम्बोमा तीन ।
नेपालले मुम्बईमा भएका दुवै खेल जितेको थियो । नेपालले दोस्रो अभ्यास खेलमा मुम्बई क्रिकेट एकेडेमी प्रेसिडेन्ट्स ११ लाई ४८ रनले हराएको थियो।भारतको पहिलो अभ्यास खेल पनि नेपालले ७ विकेटले जितेको थियो।
श्रीलंकामा भएको श्री लंका ए संगको तीन खेलमध्ये नेपालले तेस्रो खेल शानदार ढंगले जितेको थियो भने पहिलो र दोस्रो अभ्यास खेल गुमाउन पुगेको थियो ।
नेपालले तेस्रो खेलमा श्रीलंका ‘ए’ टोलीलाई ७ विकेटले पराजित गर्दै श्रीलंकाको अभ्यास खेल टुंग्याएको थियो। कोलम्बोमा भएको दोस्रो अभ्यास खेलमा नेपाल श्रीलंका ‘ए’ सँग ७३ रनले पराजित भएको थियो । त्यसअघि पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासंग ६ विकेटले पराजित भएको थियो ।


















