चेन्नई(भारत), २० माघ । आईसीसी टी २० पुरुष विश्वकप २०२६ खेल्न भारतमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो वार्मअप खेलमा शानदार जित निकालेको छ ।
मंगलबार अपरान्ह चेन्नईको एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा नेपालले युनाइटेड अरब इमिरेट्सलाई ७ विकेटले पराजित गरको हो ।
नेपालको जितमा आज आरिफ शेख र दीपेन्द्रसिंह ऐरीको शतकीय साझेदारीले ठूलो योगदान गर्यो ।
युएईले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा मात्र ३ विकेटको क्षतिमा १ सय ४८ रन जोडेर हासिल गर्यो ।
खेलमा नेपालका आरिफले ८ चौका र दुई छक्काका मद्दतले सर्वाधिक ६१ रन बनाए। उपकप्तान दीपेन्द्रसिंह ऐरीले ५० रन बनाए। यी दुई अविजित रहे। यी दुईले चौथो विकेटका लागि १ सय ३ रनको साझेदारी गरेका थिए।
खेलमा कप्तान रोहितकुमार पौडेल १६ रनमा आउट भए भने ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले समान ८ रनमा आउट भए ।
नेपाललाई रोक्ने क्रममा युएईका मुहम्मद रोहिदले एक विकेट लिए।
त्यसअघि चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो।
खेलमा युएईका सोहेब खानले अविजित ३८ रन बनाए।हर्षित कौशिकले ३५, ओपनर आर्यन्श शर्मा २५, मुहम्मद जोहैब १९, अलिशान सराफु १२ रनमा आउट भए । अरु खेलाडीको ब्याटिड. त्यति राम्रो भएन ।
युएईलाई रोक्ने क्रममा नेपालका करण केसी र सन्दीप लामिछानेले समान २ । २ विकेट लिए।


















