चेन्नाई(तामिलनाडु भारत), २२ माघ। आईसीसी टी २० विश्वकप २०२६ का लागि भारतमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज दोस्रो अभ्यास खेलमा क्यानडाको सामना गर्दैछ।
खेल चेन्नाईस्थित एमए चिदाम्बरम अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार दिउँसो १ बजेर १५ मिनेट जाँदा सुरु हुने नेपाल क्रिकेट संघले जनाएको छ ।
यसअघि सोही रंगशालामा भएको पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो ।
उक्त खेलमा नेपालका दीपेन्द्रसिंह ऐरी र आरिफ शेख चम्केपछि नेपालले युएईले दिएको १ सय ४६ रनको लक्ष्य ३ ओभर बाँकी छँदै ३ विकेट गुमाएर पूरा गयो ।
पहिलो वार्म अप खेल अगाडि विश्वकप खेलको तयारी गरिरहेको नेपाली टोलीले भारतको मुम्बई र श्रीलंकाको कोलम्बोमा अभ्यास खेलहरु खेलेको थियो । मुम्बईमा नेपालले दुई अभ्यास खेल खेल्यो भने कोलम्बोमा तीन ।
नेपालले मुम्बईमा भएका दुवै खेल जितेको थियो । नेपालले दोस्रो अभ्यास खेलमा मुम्बई क्रिकेट एकेडेमी प्रेसिडेन्ट्स ११ लाई ४८ रनले हराएको थियो।भारतको पहिलो अभ्यास खेल पनि नेपालले ७ विकेटले जितेको थियो।
श्रीलंकामा भएको श्री लंका ए संगको तीन खेलमध्ये नेपालले तेस्रो खेल शानदार ढंगले जितेको थियो भने पहिलो र दोस्रो अभ्यास खेल गुमाउन पुगेको थियो ।
नेपालले तेस्रो खेलमा श्रीलंका ‘ए’ टोलीलाई ७ विकेटले पराजित गर्दै श्रीलंकाको अभ्यास खेल टुंग्याएको थियो। कोलम्बोमा भएको दोस्रो अभ्यास खेलमा नेपाल श्रीलंका ‘ए’ सँग ७३ रनले पराजित भएको थियो । त्यसअघि पहिलो अभ्यास खेलमा नेपाल श्रीलंकासंग ६ विकेटले पराजित भएको थियो ।
विश्वकपमा नेपाल समूह सीमा परेको छ । समूह सी मा २-२ पटकका च्याम्पियन इंग्ल्यान्ड र वेस्ट इन्डिज छन्। अघिल्लो टी-२० विश्वकपपछि नेपालले २४ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्यो, जसमा १६ मा जित र ५ मा हार ब्यहोयो, बाँकी खेल टाइ वा नतिजाविहीन रहे।
२०२४ देखि अक्टोबर २०२५ को बिचमा नेपालले अमेरिकाविरुद्धको श्रृङ्खलामा दुई जित हासिल गर्यो भने वेस्ट इन्डिज जस्तो बलियो टोलीलाई शारजाहमा दुई खेलमा १९ र ९० रनले हरायो। अब टोली फेरि एकपटक वेस्ट इन्डिजसामु हुनेछ।
बंगलादेश टी-२० विश्वकपबाट बाहिरिएपछि समूह सी मा स्कटल्यान्डलाई समावेश गरिएको छ। यो समूहमा अब स्कटल्यान्डसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, नेपाल र इटाली छन्। इटालीले पहिलो पटक कुनै आईसीसी प्रतियोगिताका लागि छनोट गरेको हो।
नेपालले विश्वकपको पहिलो खेलमा आइतबार इंग्ल्याण्डको समाना गर्दैछ ।
नेपाली टिममा उपकप्तान दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुलशन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम सम्मिलित छन् ।


















