काठमाडौँ, ९ फागुन : आमनागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले स्वीकृत कार्यक्रमअनुसार देशभरका६ हजार ७ सय ४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा यही फागुन ३ देखि १७ गतेसम्म देशभरका ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा एकएक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको जानकारी गराइएको हो । आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाबारे मतदातालाई जानकारी गराउने कार्य खटिएका स्वयंसेवकबाट भइरहेको आयोगका प्रवक्ता सीता पुन श्रीसले जानकारी दिनुभयो । मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ ।
निर्वाचन सामग्री र मतपत्र पुग्यो जिल्ला जिल्लामा
प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पूर्वतयारी निर्वाचन आयोगले अन्तिम चरणमा पुर्याएको छ । आयोगबाट स्वीकृत कार्यतालिकाअनुसार व्यवस्थापकीय कार्यतालिकाबद्ध र तोकिएको समयमा सञ्चालित छन् । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फका मतपत्र छपाइ सम्पन्न भई सम्बन्धित जिल्लाहरूमा पठाउने कार्य जारी छ ।
निर्वाचन सामग्री अधिकांश जिल्लामा पुर्याइसकिएको छ । स्वीकृत कार्यक्रमअनुसार मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम फागुन ३ देखि १७ गतेसम्म ७ सय ५३ स्थानीय तहका ६ हजार ७ सय ४३ वडामा निरन्तर सञ्चालित छ । निर्वाचन आचारसंहिता अनुगमन एवं परिपालनामा निरन्तरता दिँदै केन्द्रीय आचारसंहिता अनुगमन समितिलगायतका संयन्त्रहरूले सक्रिय रूपमा कार्यसम्पादन गर्दै आएका छन् । यही फागुन ४ गतेदेखि राजनीतिक दलहरूले चुनावको मुख्य प्रचारप्रसारका गतिविधि सुरुआत गरेका छन् । प्रचारप्रसारलाई प्रचलित कानुन र आचारसंहिताको अधीनमा रही शिष्ट र मर्यादित बनाउन आयोगबाट राजनीतिक दल र उम्मेदवारहरूलाई निर्देशन भइसकेको छ ।
‘डिजिटल प्लेटफर्म’ बाट प्रचारप्रसार जारी
निर्वाचन शिक्षा प्रदान गर्ने उद्देश्यले आयोगको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रअन्तर्गतको मतदाता शिक्षा एकाइले हालसम्म ३ सय ४५ वटा सामग्री आयोगबाट स्वीकृत गराई आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युबमा राखिएको पनि उहाँले बताउनुभयो । मतदाता, राजनीतिक दल, उम्मेदवार तथा सरोकारवाला लक्षित यस्ता सामग्रीले निर्वाचनको स्वच्छता बढाउने र नागरिकलाई आधिकारिक तथा विश्वसनीय सूचना प्राप्त हुने र मिथ्या तथा भ्रमपूर्ण सूचनाको प्रभाव न्यूनीकरणमा सहयोग पुग्ने विश्वास आयोगले लिएको छ । यस्ता सामग्रीले डिजिटल प्लेटफर्मबाट समेत मतदाता शिक्षा कार्यक्रम प्रवर्द्धन र नागरिक तथा आमसरोकारवालाले आधिकारिक सूचना पाउने अपेक्षा आयोगको रहेको सहायक प्रवक्ता श्रीसले बताउनुभयो ।
संवादमूलक सन्देश प्रसारण
मतदाता शिक्षा कार्यक्रम प्रवर्द्धनका लागि आयोगले उत्पादन गरेका संवादमूलक भिडिओ सन्देश, गीति सन्देश, लघु भिडिओ तथा जिङ्गलहरू प्रसारण सुरु गरेको छ । यस्ता सामग्री आयोगका आधिकारिक डिजिटल प्लेटफर्मबाट प्रसारण भइरहेका छन् । मतदातालाई निर्वाचनमा सहभागी हुन प्रेरित गर्ने, निर्वाचन स्वच्छता बढाउने तथा निर्वाचन आचारसंहिता पालनाका लागि उत्प्रेरित गर्ने सन्देशमूलक सामग्रीबाट मतदान प्रतिशत बढाउने तथा बदर मत प्रतिशत घटाउन भूमिका खेल्ने आयोगको अपेक्षा छ ।
कलाकारहरूसँग सहकार्य
आसन्न निर्वाचनको प्रचारप्रसार र मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन आयोगले राष्ट्रिय कलाकार, सोसल मिडियाका कन्टेन्ट क्रियटर र इन्फ्लुयन्सरसँग सहकार्यका लागि छलफल गरेको छ । विशिष्ट परिस्थितिमा हुन गइरहेको निर्वाचनको महाउत्सवलाई सहयोग पुर्याउन आयोगले गरेको आग्रहलाई स्वीकार गर्दै सहभागी कलाकारहरूले मतदाता शिक्षा तथा निर्वाचन स्वच्छता प्रवर्द्धन र मिथ्या सूचना न्यूनीकरणका लागि सत्यतथ्य जानकारी आम मतदातासम्म पुर्याउन आफ्ना डिजिटल प्लेटफर्ममा सन्देश प्रवाहको प्रतिबद्धता जनाउनुभएको छ ।
जिल्ला–जिल्लामा पुर्याइँदै मतपत्र
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सम्पन्न भएको व्यहोरा सर्वविदितै छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १ सय ६५ निर्वाचन क्षेत्रका लागि २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।
गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरी सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा ढुवानी कार्य सम्पन्न भइसकेको छ । अन्य प्रदेशहरूमा ढुवानी कार्य जारी छ । मतपत्रबाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको आयोगले जनाएको छ ।
मतपत्र छपाइतर्फ आयोगले तोकेको कार्यतालिकाअनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा गत पुस २२ गतेदेखि मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो । जसअनुसार १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरिएको थियो । गत पुस २६ गतेदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी माघ १३ गतेसम्म आवश्यक पर्ने जम्मा २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ सम्पन्न गरिएको आयोगले जनाएको छ ।


















