Prakash Adhikari February 20, 2026
गण्डकी, ८ फागुनः “तपाईका पाइला उद्देश्यतर्फ दृढ बनिरहुन्, तपाईका सपनाहरू आकाशजस्तै विशाल बनुन्”, पोखरा विश्वविद्यालयको २१ औं दीक्षन्त समारोहका प्रमुख अतिथि लैङ्गिक तथा नीति विशेषज्ञ चाँदनी जोशीले सम्बोधनका क्रममा सो कुरा भन्नुभएको हो ।
दीक्षित विद्यार्थीलाई केवल डिग्रीधारी नभै परिवर्तनको संवाहकका रूपमा चित्रण गर्दै उहाँले आफ्नो शिक्षा अवसरका लागि मात्र नभै न्यायका लागि प्रयोग गर्न आग्रह गर्नुुभयो ।
ज्ञानले दीक्षित विद्यार्थीको मार्ग उज्यालो बनोस् भन्ने कामना गर्दै उहाँले साहसले प्रत्येक चुनौतीलाई अवसरमा बदलोस् भन्ने कामना गर्नुुभयो ।
“तपाइँ जहाँ पग्नुुहोस्, आशा त्यहाँ जन्मियोस्, तपाइँ जे बन्नुहुन्छ, त्यसमा मानवता झल्कियोस्”, उहाँले भन्नुुभयो, “उड्नुुहोस् तर आफ्ना जराहरू नबिर्सनुहोस्, चम्किनुुहोस् र अरुका लागि पनि उज्यालो बनिरहनुुहोस् ।”
दीक्षित विद्यार्थीको भविष्य गौरव र गरिमाले भरिपूर्ण होस् भन्दै उहाँले उज्वल भविष्यको कामना गरिहँदा विद्यार्थीले निकै चाख पूर्वक उहाँका मन्तव्य सुनिरहेका थिए ।
विश्वविद्यालयले छ दशक लामो राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुभव सँगाल्नुुभएकी जोशीलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको थियो । नेपाल सरकारको पूर्वसहसचिव र ’युएन वुमन’को दक्षिण एसिया क्षेत्रीय निर्देशकका रूपमा १८ वर्ष सेवा गर्नुुभएकी जोशीले आफ्नो सम्बोधनकै सुरुमा हिमाल, ताल र प्रकृतिले सजिएको पोखराले केवल आँखालाई मात्र नभै मनलाई पनि शान्ति र उर्जा प्रदान गर्ने बताउनुुभयो ।
दीक्षान्तलाई नवदीक्षितको जीवन यात्राको एउटा ऐतिहासिक मोड भएको बताउँदै उहाँले यसलाई विद्यार्थीको सफलता एवम् व्यक्तिगत परिश्रमको परिणामका रूपमा चित्रण गर्नुुभयो ।
“यसमा तपाईहरूको परिवारको त्याग, शिक्षकको समर्पण र समाजको संरचनात्मक सहयोग पनि जोडिएको छ । त्यसैले आजको यो उपलब्धि व्यक्तिगत गर्व मात्र नभइ सामूहिक आशाको क्षण हो ।”, उहाँले भन्नुुभयो, “पोखरा विश्वविद्यालय जस्तो प्रतिष्ठित विश्वविद्यालयबाट दीक्षित हुनु भनेको केबल शैक्षिक उपाधि प्राप्त गर्नु मात्र होइन, यो ज्ञान, सीप, मूल्य र समाजप्रतिको उत्तरदायित्वलाई औपचारिक रूपमा स्वीकार गर्ने क्षण हो ।”
विश्वविद्यालयले केवल पाठ्यक्रमको ज्ञान मात्र नदिएको भन्दै उहाँले यसले विद्यार्थीलाई प्रश्न गर्ने साहस, समालोचनात्मक सोच, अनुसन्धान गर्ने दृष्टि, सहकार्य गर्ने संस्कार र समाजका जटिल समस्यालाई समाधानतर्फ लैजाने क्षमता विकास गरेको बताउनुुभयो ।
प्राप्त ज्ञानलाई व्यवहारमा उत्तार्ने, समाजको आवश्यकतासँग जोड्ने र सकारात्मक परिवर्तनको पक्षमा उभिने जिम्मेवारी दीक्षित विद्यार्थीको काँधमा आएको उल्लेख गर्दै उहाँले आफ्ना जीवन र सङ्घर्षबारे जानकारी गराउनुुभयो ।
“म पाल्पामा जन्मेकी हुर्केकी हुँ र पहिलो पटक मैले मोटर देखेको बेला म छ वर्षकी थिएँ । म मेरो परिवारमा पहिलो साक्षर महिला हूँ । मेरी आमाले विद्यालय जाने अवसर पाउनु भएन, तर उहाँको चाहना र प्रेरणाले मलाइ पढ्ने अवसर प्राप्त भयो”, उहाँले भन्नुुभयो ।
आँफूले पद्मकन्या कलेजबाट स्नातक गरेको, त्रिभुवन विश्वविद्यालयबाट उन्नाइस वर्षको उमेरमा स्नातकोत्तर पूरा गरेको अनुुभव सुनाउँदै उहाँले लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गरी नेपाल सरकारको शिक्षा सेवामा प्रवेश गरेको, पद्मकन्या कलेजमा नौ वर्षसम्म अग्रेजी साहित्य पढ़ाएको र आफ्ना बीस हजारभन्दा बढी विद्यार्थी रहेको जानकारी गराउनुुभयो ।
आँफूले गत साठी वर्ष राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय तहमा काम गर्ने अवसर पाएको बताउँदै उहाँले शिक्षण पेशाबाट सार्वजनिक सेवा हुँदै सयुक्त राष्ट्रसङ्घ अन्तर्गत युएन वुमन दक्षिण एशियाको निर्देशककार्य सफलतापूर्वक सम्पन्न गरेको अनुभव सुनाउनुुभयो ।
“त्यो यात्रामा मैले सधै महसुस गरें पद, संस्था वा देशको आकारभन्दा ठूलो कुरा व्यक्तिको सोच, मूल्य र प्रतिबद्धता हो । सानो देशबाट पनि विश्व मञ्चमा प्रभावकारी योगदान दिन सकिन्छ, यदि हामी ज्ञान, तयारी र नैतिक साहसका साथ अघि बढ्यौ भने”, उहाँले भन्नुुभयो ।
आँफू नेपालकी एक साधारण छोरीले विकासमा पछाडि पारिएका बर्गका लागि साहसका साथ आवाज उठाउन पाएकोमा अत्यन्तै गर्व र खुसी महसुस गरेको बताउँदै उहाँले विश्वका नेता राष्ट्रपति अब्दुल कलाम, बिल क्लिन्टन, बेनजिर भुट्टो, र हामिद करजाईजस्ता व्यक्तित्वसँग तर्क–वितर्क गर्दै, सामाजिक न्यायका लागि संवाद र सहकार्य गरेर उनीहरूको आवाज अन्तरराष्ट्रियस्तरमा पु¥याउन पाउनु आँफ्नो जीवनको महत्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुुभयो ।
लैंगिक समानता, महिला अधिकार, मानव बेचबिखन, विपद व्यवस्थापन र नीति निर्माणका क्षेत्रमा काम गर्दा आँफूले धेरै चुनौती र अवरोधको सामना गरेको बताउँदै उहाँले संरचनागत असमानता र सोचगत प्रतिरोधका बीच पनि अघि बढ्नुपरेको अनुुभव सुनाउनुुभयो ।
“ती अनुभवले मलाइ एउटा कुरा सिकाए समस्या नै परिवर्तनको ढोका हो । समाधान खोज्ने दृष्टि भयो भने कठिन परिस्थिति पनि अवसरमा रूपान्तरण हुन सक्छ”, उहाँले भन्नुुभयो ।
आँफूले नेपालमा पेवा बढाउने कार्यक्रम सुरु गर्ने अवसर पाएकोमा त्यसबाट करिब पन्ध्र लाख महिलाले रोजीरोटी कमाएर गरिबीको रेखालाई पार गर्न सकेको उहाँले बताउनुुभयो ।
अफगानिस्तानमा तेइस वर्षको युद्ध समाप्त हुने बित्तिकै आँफूले दुई हजार महिलालाई सङ्गठित गरेर उनीहरूले आठ बुँदाको दस्तावेज तयार गरेर त्यहाँका राष्ट्रपति र संसद्का सदस्यलाई प्रस्तुत गरेको महिला अधिकार ऐन(वुमन राइट बिल) पास गर्न सफल भएको जानकारी गराउनुुभयो । आँफूले बनाएको समावेशी योजनाले लाखौँ महिला र धेरै समाजको सकारात्मक परिवर्तन हुन सकेको उहाँले बताउनुुभयो ।
नेपाल अहिले परिवर्तन र रूपान्तरणको चरणमा रहेको बताउँदै उहाँले हामी सबै नेपाली हातेमालो गर्दै सहकार्य र समन्वयका साथ नवप्रवर्तनका नमूना (इनोभेटिभ मोडेल) विकास गर्दै उद्यमशीलतालाई टेवा दिँदै, दिगो पर्यटन, हिरो विकास तीव्र गतिमा बढ्ने बताउनुुभयो ।
हामीले निर्भरता होइन, गरिमामा आधारित विकास मोडेल निर्माण गर्नुपर्ने बताउँदै उहाँले हाम्रो विकासको केन्द्रमा मानवीय गरिमा हुनुपर्नेमा जोड दिनुुभयो । शिक्षित नागरिक हुनु विशेषाधिकार भएको र त्यससँगै उत्तरदायित्व पनि आउँने उहाँको भनाइ छ ।
समावेशिता सहितको नवप्रवर्तन, नैतिकताका आधारमा प्रविधि विकाससँगै कमजोर र सीमान्तकृत समुदायलाई केन्द्रमा राखेर नीति बनाउनुपर्ने उहाँको भनाइ छ ।
आफ्नो साठी वर्षको अनुभवले साँचो नेतृत्व शक्ति प्रदर्शनमा मात्र नभै शक्ति बाँडफाँडमा देखिने पाएको उहाँले बताउनुुभयो । नेतृत्वका केही महत्वपूर्ण जीवनपाठ आँफूले आफ्नै जीवनयात्राबाट सिकेको बताउँदै उहाँले साहस अभ्यासबाट बलियो हुने भन्दै कठिन निर्णयबाट नभाग्न नवदीक्षित विद्यार्थीलाई आग्रह गर्नुुभयो ।
शक्ति जवाफदेही हुनुपर्नेमा जोड दिँदै उहाँले पारदर्शिता र नैतिकता बिना दीर्घकालीन सफलता सम्भव नहुुने बताउनुुभयो । सीमान्त समुदायको आवाजमा भविष्यको संकेत प्रायः त्यहींबाट आउँने बताउँदै उहाँले असफलता अन्त्य नभै अनुभव र सुधारको भाग भएको बताउनुुभयो् ।
करुणा कमजोरी नभै दीर्घकालीन परिवर्तनको रणनीति भएको उल्लेख गर्दै उहाँले शिक्षित युवा केवल पेशेवर नभै लोकतान्त्रिक नागरिक भएको बताउनुुभयो । विभेद, हिंसा, भ्रष्टाचार र असमानताविरुद्ध मौन बस्नु सजिलो हुन सकेपनि पनि मौनताले संरचनागत अन्यायलाई बल दिने उहाँको भनाइ छ ।
–––
Share Now