पाटन (ललितपुर), २२ फागुनः ललितपुर क्षेत्र नं १ को बागमती र महाँकाल गाउँपालिकाको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणाको अग्रता कायमै रहेको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका क्रममा ललितपुर जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रमा २ः३० बजेसम्मको प्राप्त परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार राणाले पाँच हजार चार मत प्राप्त गरी अग्रता लिनुभएको छ ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले तीन हजार २४३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै दुई हजार ९२० मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थानमा हुनुहुन्छ ।
अहिले कोञ्ज्योसोम गाउँपालिकाको मतगणना भइरहेको क्षेत्र नं १ को निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार इशा सुवेदीले जानकारी दिनुभयो । यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कुल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना प्रत्यासी हुनुहुन्छ ।
ताप्लेजुङमा कांग्रेसका तुम्याहाङको अग्रता
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत ताप्लेजुङमा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले अग्रता लिनुभएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ५७१ मत प्राप्त गर्नुभएको छ । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बूढाक्षेत्री परागले ४४२, नेकपा (एमाले) का क्षितिज थेबेले २९४ मत प्राप्त गर्नुभएको छ ।
यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ९७, श्रम संस्कृति पार्टीका सन्तोष राईले ४४ मत, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुकसाम लाबुङ लिम्बूले नौ मत प्राप्त गर्नुभएको छ ।
यहाँ विभिन्न पार्टी र स्वतन्त्र गरी १३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
लमजुङमा कांग्रेसको अग्रता
एकमात्रै सङ्घीय निर्वाचन क्षेत्र रहेको लमजुङमा नेपाली कांग्रेसले अग्रता लिएको छ । मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार नेपाली कांग्रेसका उम्मेदवार गमप्रसाद गुरुङ १७७ मतका साथ अग्रता लिनुभएको छ ।
यस्तै नेकपा (एमाले) का पृथ्वी सुब्बा गुरुङले ११८, राष्ट्रिय स्वतन्त्र पार्टीका धर्मराज केसीले ११०, नेकपाका उम्मेदवार हरिजङ्ग तामाङले ३४ र श्रम संस्कृति पार्टीका कोषलाल गुरुङले १३ मत प्राप्त गर्नुभएको छ ।
दूधपोखरी गाउँपालिका–४ मा रहेको दुई मतदान केन्द्रमा खसेको ४९५ मत गणना सम्पन्न भएको हो ।
जिल्लामा एक लाख ३७ हजार १२४ मतदातामध्ये ७५ हजार ८५ मत खसेको थियो । यहाँ एक सय ३० मतदानस्थल तथा १९२ मतदान केन्द्र रहेका थिए ।
यस क्षेत्रबाट २०७९ सालको निर्वाचनमा एमाले उम्मेदवार पृथ्वी सुब्बा गुरुङ विजयी हुनुभएको थियो ।
रसुवामा कांग्रेसको अग्रता कायमै
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य पाँच हजार ३११ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
आज दिउँसो २ः३० सम्म १२ हजार ४२९ मत गणना हुँदा रास्वपाका वसन्त भट्टले दुई हजार ९८३, नेकपा (एमाले) का प्रेमबहादुर तामाङले २२५६मत प्राप्त गर्नुभएको छ ।
यहाँ कुल ४१ हजार ४७१ मतदाता रहेकामा २५ हजार ४५८ ले मतदान गका थिए ।
सुर्खेत–१ मा कांग्रेसका खड्काको अग्रता
सुर्खेत निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका विष्णुबहादुर खड्काले अग्रता कायम गर्नुभएको छ । छ हजार २५९ मत गणना गर्दा खड्काले दुई हजार ५१० मत मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी, नेकपा एमालेका ध्रुवकुमार शाहीले एक हजार ६५४, राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर सिंहले एक हजार ४४२ र नेपाली कम्युनिष्ट पार्टीका जीतबहादुर रानाले २५४ मत प्राप्त गर्नुभएको भएको निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उक्त निर्वाचन क्षेत्रमा १३ दलका प्रत्यासी छन् । एक लाख २२ हजार ९०२ मतदाता सङ्ख्या रहेको यो क्षेत्रमा ७० हजार १६७ मत खसेको थियो ।
कैलाली क्षेत्र नं १ मा कांग्रेसको अग्रता
प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्तगरी अग्रता कायम राख्नुभएको छ ।
सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका कोमल ज्ञवालीले ६६२ मत प्राप्तगरी पछ्याइरहनु भएको छ । यस्तै स्वतन्त्र उम्मेदवार फागुराम चौधरी ६४६ मत प्राप्त गर्नुभएको छ ।


















