Prakash Adhikari March 7, 2026
काठमाडौं, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको विजय अभियान निरन्तर बढिरहेको छ । हाल प्राप्त पछिल्लो परिणाम अनुसार थप निर्वाचन क्षेत्रको नतिजा रास्वपाको पक्षमा आएको छ । जसमा,
दाङ-२ मा पनि रास्वपा उम्मेदवार विपिनकुमार आचार्य विजयी
घोराही (दाङ), २३ फागुनः दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विपिनकुमार आचार्य निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार आचार्यले ४३ हजार ५५७ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का शङ्कर पोख्रेलले १५ हजार २८२ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी, नेपाली कांग्रेसका किरणकिशोर घिमिरेले ११ हजार ५०९ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका निर्मल आचार्यले सात हजार ८० मत प्राप्त गर्नुभएको छ ।
रौतहट-१ मा रास्वपाका राजेशकुमार चौधरी विजयी
चन्द्रपुर (रौतहट), २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रौतहट–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  राजेशकुमार चौधरी विजयी हुनुभएको छ । आज सम्पन्न मतगणनामा चौधरीले २८ हजार ९४६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा नेकपा (एमाले)का  अजयकुमार गुप्ताले १० हजार ६९३ प्राप्त गर्दा नेपाली कांग्रेसका अनिल झाले आठ हजार ५७४ मत प्राप्त गर्नुभयो । साथै नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सात हजार ६६९ मत प्राप्त गर्नुभयो ।
यस क्षेत्रमा एक लाख आठ हजार ७२६ मतदाता रहेकामा ७१ हजार १५६ मत खसेको थियो ।
हाल रौतहटको–२, ३ र ४ मा मतगणना जारी छ । क्षेत्र नंं २ मा नेपाली कांग्रेसका मो. फिरदोश आलम, क्षेत्र नं. ३ मा रास्वपाका रवीन्द्र पटेल र क्षेत्र नं. ४ मा रास्वपाकै गणेश पौडेलले अग्रता कायम राखिरहनुभएको छ ।
गुल्मी-२ मा रास्वपाका गोविन्द पन्थी विजयी
गुल्मी, २३ फागुनः गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार गोकर्ण बिष्टलाई ५६१ मतान्तरले पराजित गर्नुभएको हो ।
निर्वाचन अधिकृत हरिहर पौडेलका अनुसार पन्थीले १६ हजार ९६७ र बिष्टले १६ हजार ४०६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १४ हजार ४३४ मत प्राप्त गर्नुभएको छ ।
नुवाकोट-२ मा रास्वपाका डा अचुतम लामिछाने विजयी
त्रिशूली (नुवाकोट), २३ फागुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचनमा नुवाकोट निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा अचुतम लामिछाने विजयी हुनुभएको छ । रास्वपाका लामिछानेले ३२ हजार ५४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार उक्त क्षेत्रमा नेपाली कांग्रेसका जगदिश्वरनरसिंह केसीले १५ हजार ५०३ मत प्राप्त गर्नुभयो । यस्तै, नेकपा (एमाले)का केशवराज पाण्डेले आठ हजार २८५ मत, नेपाली कम्युनिष्ट पार्टीका हिरानाथ खतिवडाले छ हजार ७२० मत र उज्यालो नेपाल पार्टीका उम्मेदवार ज्ञानेन्द्रप्रकाश घलेले दुई हजार ७५० मत ल्याउनुभयो ।
नुवाकोट–२ मा बाह्र जना उम्मेदवार रहेकामा बाँकी सबैले एक हजारभन्दा कम मत प्राप्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका झनक प्याकुरेले ७७५, मङ्गोल नेशनल अर्गनाइजेशनका रेञ्छेन तामाङले ४२६, श्रम संस्कृति पार्टीका बिनोदकुमार तामाङले ३९६, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का नवराज ढुङ्गानाले ९०, नेपाल कम्युनिष्ट पार्टी (सयुक्त)का किरण तिम्सेनाले ५२, नेपाल मजदुर किसान पार्टीका सुवास भट्टले २८ र आम जनता पार्टीका मानसिं गदाइलीले ११ मत पाउनुभयो ।
नुवाकोट–२ मा एक लाख २३ हजार ९३९ जना मतदाता रहेकामा ७० हजार ४५२ मत खसेको थियो ।
–––
भक्तपुर-२ मा रास्वपाका राजीव  खत्री विजयी
भक्तपुर, २३ फागुनः प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुरको निर्वाचन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजीव खत्री विजयी हुनुभएको छ । उहाँले ४२ हजार ३३४ मत प्राप्त गर्नुभयो ।
यस क्षेत्रमा नेकपा (एमाले)का महेश बस्नेतले १० हजार ९९६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरका सूचना अधिकारी भिम विसीले जानकारी दिनुभयो । नेपाली कांग्रेसका कबिर राणाले आठ हजार ४०१ मत प्राप्त गर्नुभएको छ ।
यस क्षेत्रमा ९८ हजार ३५६ मतदाता रहेकामा ७२ हजार ७६१ मत खसेको थियो ।
बारा–३ र ४ मा अरविन्द साह र रहवर अन्सारी रास्वपा विजयी
बारा, २३ फागुनः बारा निर्वाचन क्षेत्र नम्बर ३ र ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । बारा–३ मा अरविन्द साह र बारा–४ मा रहवर अन्सारी निर्वाचित हुनुभएको हो ।
बारा–३ मा साहले ४० हजार ६७७ र बारा–४ मा अन्सारीले ४१ हजार २०० मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बारा–४ मा नेपाली कांग्रेसका फर्सुल्लाह मन्सुरले १० हजार ५२ मत प्राप्त गर्नुभयो भने बारा–३ मा नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले सात हजार १२३ मत प्राप्त गर्नुभएको छ ।
पर्सा-२ मा रास्वपाका कानु विजयी
वीरगञ्ज (पर्सा), २३ फागुनः पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशीलकुमार कानु विजयी हुनुभएको छ । निर्वाचन अधिकृत मधुसुदन आचार्यले रास्वपाका उम्मेदवार कानु ३० हजार ७४० मतसहित विजयी हुनुभएको घोषणा गर्नुभयो ।
सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार चौरसियाले ११ हजार आठ सय ९० मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले)का उम्मेदवार रिमाकुमारी यादवले ११ हजार ६०५ मत ल्याउनुभएको छ । त्यस्तै जनता समाजवादी पार्टीका अशोककुमार अग्रवालले दुई हजार ६४२ मत ल्याउनुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिना जैसवालले एक हजार नौ सय ९९ मत ल्याउनुभएको छ ।
यस क्षेत्रमा ३१ जना उम्मेदवारले प्रतिस्पर्धामा हुनुहुन्थ्यो । स्वतन्त्रतर्फ १४ जना र दलीय उम्मेदवारतर्फ १७ जना हुनुहुन्छ । पर्सा क्षेत्र नम्बर २ मा कुल मतदाता संख्या ९५ हजार एक सय २० जनामध्ये प्रत्यक्षतर्फ ६५ हजार आठ सय ७८ मत खसेको छ । सोमध्ये  चार हजार पाँच सय ६८ मत बदर भएको छ भने सदर मत भने ६१ हजार तीन सय १० रहेको छ ।
–––
कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली विजयी
घोडाघोडी (कैलाली), २३ फागुनः कैलाली क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कोमल ज्ञवाली विजयी हुनुभएको छ ।
उहाँले १७ हजार ८२६ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नेपाली कांग्रेसका जनकराज चौधरीले १२ हजार ८६७ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टीका रामलाल डगोरा थारुले आठ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।
रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल निर्वाचित
लुम्बिनी, २३ फागुनः रुपन्देही क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी हुनुभएको छ ।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार उहाँले ५६ हजार ५५० मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले १२ हजार ८६१ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका चुन्नुप्रसाद पौडेलले नौ हजार ३९२ मत प्राप्त गर्नुभएको छ ।
बागलुङ–२ मा रास्वपाका सोम शर्मा विजयी
ढोरपाटन (बागलुङ), २३ फागुन : बागलुङ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोम शर्मा विजयी हुनुभएको छ । उहाँले १२ हजार ६४७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उहाँका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका टेकराज पौडेलले ११ हजार ८६८ मत प्राप्त गर्नुभएको छ । एमालेकी मञ्जु चालिसेले सात हजार ८६४ र नेपाली कम्युनिष्ट पार्टीका ज्ञामनाथ गैरेले १० हजार ७०९ मत प्राप्त गर्नु भएको छ ।
ललितपुर–१ रास्वपाका  बुद्धरत्न महर्जन विजयी
पाटन (ललितपुर), २३ फागुनः ललितपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बुद्धरत्न महर्जन २३ हजार ३७३ मतका साथ विजयी हुनुभएको छ । निर्वाचन अधिकृत सर्वोच्च अदालतका उपरजिष्ट्रार ईशा सुवेदीका अनुसार रास्वपाका महर्जनले नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर राणालाई ९ हजार ८५३ मतले पछि पार्दै जित हासिल गर्नुभएको हो ।
प्रतिस्पर्धी उम्मेदवार राणाले १३ हजार ५२० मत प्राप्त गर्नुभएको छ । त्यस्तै ६ हजार ५४६ मत प्राप्त गरी नेकपा (एमाले)का उम्मेदवार चेतनाथ सञ्जेलले तेस्रो स्थान हासिल गर्नुभएको छ ।
यस क्षेत्रमा निर्वाचन क्षेत्रमा कूल ७७ हजार ७३७ मतदाता रहेकामा ५२ हजार ६३२ मत खसेको थियो । खसेको मतमध्ये दुई हजार ४९ मत बदर भएको छ । यस निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्रसमेत गरी जम्मा २८ जना उम्मेदवार बन्नुभएको थियो ।
बागलुङ–१ रास्वपाका खड्का विजयी
गलकोट (बागलुङ) २३ फागुन : बागलुङ क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशिल खड्का विजयी हुनुभएको छ । सुरुआती चरणबाटै मतान्तर बढाउँदै लगेका खड्काले प्रतिस्पर्धी कांग्रेसका भीम श्रीसलाई ८ हजार ९८३  मतले पछाडि पार्दै विजयी हुनुभएको छ ।
बागलुङ क्षेत्र नम्बर १ मा खसेको जम्मा ४८ हजार ९३२ मतमा रास्वपाका खड्काले २० हजार ९२७ मत प्राप्त गर्नुभएको थियो । यस्तै  नेपाली कांग्रेसका श्रीसले ११ हजार ९४४ मत प्राप्त गर्नुभएको छ । यस्तै एमालेका हीराबहादुर केसीले ८ हजार ६४० मत प्राप्त गर्नुभएको छ ।
यस्तै राजमोका कृष्ण अधिकारीले ४ हजार ५२१ मत र राप्रपाका कल्याणविक्रम आचार्यले ५२३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङका सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिनुभयो ।
रुपन्देही–३ मा रास्वपाका लेखजङ्ग थापा निर्वाचित
भैरहवा, २३ फागुनः रुपन्देही जिल्लाको ३ नम्बर निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा लेखजङ्ग थापा ५८ हजार ८१४  मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतका  अनुसार नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत प्राप्त गर्नुभएको छ । नेकपा (एमाले) का उम्मेदवार वासुदेव घिमिरेले ८ हजार २७५ मत प्राप्त गर्नुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार गौरव बोहराले ७ हजार ७८९ मत प्राप्त गर्नुभयो ।
पर्सा–१ बाट रास्वापाका बुद्धिप्रसाद पन्त विजयी
वीरगञ्ज (पर्सा), २३ फागुनः पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा )का उम्मेदवार बुद्धिप्रसाद पन्त विजयी हुनुभएको छ ।
मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीले रास्वपाका उम्मेदवार पन्तले २७ हजार २७४ मत ल्याएर विजयी हुनुभएको घोषणा गर्नुभयो । पन्तले निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार प्रदीप यादवभन्दा १४ हजार २४४ को मतान्तरले हराउँदै प्रतिनिधिसभा सदस्यको यात्रा तय गर्नुभएको छ ।
एमालेका उम्मेदवार यादवले १३ हजार ३० मत प्राप्त गर्नुभयो । त्यस्तै गरी नेपाली कांग्रेसका उम्मेदवार अनिलकुमार रूगटाले ११ हजार ८८५ मत ल्याउनुभएको छ । त्यस्तै जनता समाजवादी पार्टीका उम्मेदवार रामनरेशप्रसाद यादवले एक हजार २०१ मत प्राप्त गर्नुभएको छ । विजयी भएका उम्मेदवार पन्तले नेपाली जनताले परिवर्तन चाहिरहेकाले पनि यो जित सम्भव भएको बताउनुभयो ।
पर्साको क्षेत्र नम्बर १ मा कूल ८९ हजार ६३८ मतदातामध्ये ६१ हजार २४७ जना अर्थात् ६८ दशमलव ३२ प्रतिशत मत खसेको थियो । यहाँ दलीय र स्वतन्त्रतर्फ गरेर ३० जना उम्मेदवार चुनावमा प्रतिस्पर्धा गर्नुभएको थियो । यहाँ समानुपातिकतर्फ भने ६२ हजार ३४९ अर्थात् ६९ दशमलव ५५ प्रतिशत मत खसेको छ ।
पर्वतमा रास्वपा उम्मेदवार सागर भुसाल विजयी
पर्वत, २३ फागुनः पर्वतमा प्रत्यक्षतर्फको मतगणना सम्पन्न भएको छ । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार रास्वपाका उम्मेदवार सागर भुसाल २६ हजार ५६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीभन्दा १० हजार ६०७ मतको फराकिलो अन्तरमा विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ । कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गर्दा नेकपा (एमाले) का उम्मेदवार पदम गिरीले १५ हजार ७५ मत प्राप्त गर्नुभएको छ ।
पर्वतमा प्रतिनिधिसभा सदस्यका लागि चार स्वतन्त्रसहित १३ वटा राजनीतिक दलबाट गरी १७ जना उम्मेवार चुनावी मैदानमा होमिएका थिए ।
अर्घाखाँचीमा रास्वपाका हरिप्रसाद भुसाल विजयी
अर्घाखाँची, २३ फागुनः प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का हरिप्रसाद भुसाल विजयी हुनुभएको छ । मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार भुसालले ३५ हजार २३ मत प्राप्त गर्नुभयो ।
यस क्षेत्रमा नेकपा (एमाले)का पीताम्बर भुसालले २२ हजार ६४९, नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान)ले १८ हजार ९८३, नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले तीन हजार ८४७ मत प्राप्त गर्नुभयो ।
अर्घाखाँचीमा कूल एक लाख ७१ हजार ६५२ मतदाता रहेकामा ८६ हजार ६६८ मत खसेको थियो ।

काभ्रे २ मा रास्वपाका बदन भण्डारी विजयी

काभ्रेपलान्चोक २ नम्बर क्षेत्रमा रास्वपाका बदन भण्डारी ५३ हजार ३४४ मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मधु आचार्यले १७ हजार ८६८ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका अशोक व्यान्जुले १३ हजार ९४० मत र नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गर्नुभएको छ ।

नेकपाका बसुन्धरा हुमागाइले ८ हजार १०७ मत प्राप्त गरे ।

Share Now