Prakash Adhikari March 8, 2026

अहमदावाद(गुजरात,भारत), २४ फागुन । भारत तेस्रोपटक आईसीसी पुरुष टी २० विश्वकप च्याम्पियन बनेको छ ।

भारतको गुजरातको राजधानी अहमदावादको नरेन्द्र मोदी अन्तर्राष्टिय क्रिकेट मैदानमा आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले हराउँदै आइसीसी पुरुष टी ट्वान्टी विश्वकप २०२६ को उपाधि जितेको हो।

टस हारेर ब्याटिड.को निम्तो पाएको भारतले २० ओभरको निर्धारित खेलमा ५ विकेट गुमाएर २‌सय ५५ रन बनाएको थियो । यो टी ट्वान्टी विश्वकप फाइनल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो।

भारतले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य न्युजिल्यान्डले पूरा गर्न सकेन । ऊ १९ ओभरमा १ सय ५९ रनमै अलआउट भयो।

न्युजिल्यान्डका ओपनर टिम सिफर्टले सर्वाधिक ५२ रन बनाए। २६ बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गरे। मिचेल स्यान्टनरले ४३ र डारियल मिचेलले १७ रनको योगदान दिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । फिन एलेन ९ रनमा आउट भए भने जेम्स निशम ८ रनमा । लक्की फगुर्सनले ६ रन बनाए भने ग्लेन फिलिप्सले ५ । मार्क च्यम्पिेन र ज्याकोभ डर्फीले ३ /३ रन बनाए भने रचिन रभिन्द्रले १ रन । म्याट हेनरी खाता नखोली आउट भए ।

न्युजिल्याण्डलाई रोक्न भारतका पेसर बलर जसप्रित बुमराह निर्णायक बने। उनले ३.५ ओभरमा मात्र १५ रन दिएर ४ विकेट लिए भने अक्षर पटेलले ३ विकेट झारे । हार्दिक पाण्ड्या, अभिषेक शर्मा र वरुण चक्रवर्तीले समान एक विकेट लिए।

 

यस पहिले टस हारेर पहिले ब्याटिड.मा उत्रेको भारतका सञ्जु स्यामसनले उत्कृष्ट प्रदर्शन गर्दै ८९ रन बनाए। ४६ बल‌ खेलेका स्यामसनले ८ छक्का र ५ चौका प्रहार गरे ।

फाइनल खेलमा अभिषेक शर्माले २१ बलमा ६ चौका र ३ छक्कसहित ५२ रन र इशान किशनले २५ बलमा समान ४ छक्का र चौकासहित ५४ रन बनाए। उनीहरूको आक्रामक ब्याटिङले भारतलाई ठूलो स्कोर बनाउन मद्दत गर्‍यो। खेलम शिभम् दुवेले २८, हार्दिक पाण्डेयले १८ र तिलक बर्माले ८ रनको योगदान दिए भने क्याप्टेन सूर्यकुमार यादव खाता नखोली आउट भए ।

भारतलाई रोक्न जेम्स निसमले ३ तथा म्याट हेनरी र रचिन रभिन्द्रले १।१ विकेट लिए ।

योसँगै भारत सबैभन्दा बढीपल्ट विश्वकप जित्ने पहिलो टोली बनेको छ। अहिलेसम्म यसअघि भारतसँगै इङ्ल्यान्ड र वेस्ट इन्डिजले समान दुईपल्ट विश्वकप जितेका थिए।

यसअघि भारतले २००७ र २०२४ मा विश्वकप जितेको थियो। इङ्ल्यान्डले २०१० र २०२२ तथा वेस्ट इन्डिजले २०१२ र २०१६ मा विश्वकप जितेका थिए।

भारतले तेस्रो पटक टी ट्वान्टी विश्वकप जित्दै क्रिकेटको दुनियामा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

 

Share Now