Prakash Adhikari March 13, 2026

पेन्टागन(संयुक्त राज्य अमेरिका), २९ फागुन (बीबीसी) । अमेरिकी सेनाले आफ्नो एउटा इन्धन भर्ने जहाज पश्चिमी इराकमा दुर्घटनाग्रस्त भएको पुष्टि गरेको छ। उक्त घटनामा शत्रुपक्ष वा आफ्नै सेनातर्फबाट भएको कुनै पनि गोलाबारीको संलग्नता नदेखिएको बताइएको छ।

घटनापछि जारी गरिएको वक्तव्यमा दुईवटा विमानसँग सम्बन्धित उक्त घटनापछि उद्धार कार्य जारी रहेको बताइएको छ। दोस्रो विमान भने सुरक्षित रूपमा अवतरण भएको पनि उक्त वक्तव्यमा उल्लेख गरिएको छ।

त्यस्ता जहाजहरू युद्धका बेला आकाशमै अन्य जहाजहरूलाई तेल भर्न परिचालित गरिन्छन्।

सँगसँगै मध्यपूर्वका क्षेत्रहरूमा तनावको अवस्था कायमै रहेको छ।

यसअघि इरानको राजधानी तेहरानमा नयाँ चरणको आक्रमण सुरु गरेको जानकारी दिएको इजरायलले शुक्रवार पनि लेबननमा हेजबुल्लाहका ठेगानाहरूलाई निशाना बनाइरहेको छ।

अर्कोतर्फ इरानका नयाँ सर्वोच्च नेताको एउटा वक्तव्य सरकारी टेलिभिजनमार्फत् पढेर सुनाइएको छ। सत्ता सम्हालेपछि आएको उनको पहिलो वक्तव्यमा स्ट्रेट अफ हर्मुजलाई निरन्तर अवरुद्ध राख्ने प्रतिबद्धता पनि समावेश छ।

हालै इरानको नयाँ सर्वोच्च नेताको रूपमा मोज्तबा खामेनेईको नाम घोषणा गरिएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले जनाएका थिए। उहाँ अमेरिकी र इजरायली आक्रमणको पहिलो चरणमै तेहरानस्थित निवास परिसरमा मारिनुभएका आयातोल्लाह अली खामेनेईका छोरा हुनुहुन्छ ।

पिताको उत्तराधीकारी बनेयता मोज्तबा खामेनेई सार्वजनिक रूपमा देखिनुभएको छैन। त्यसले गर्दा उहाँ घाइते भएको वा मारिएको पनि हुन सक्ने अड्कलबाजी भइरहेको बीबीसी पर्सिअनले जनाएको छ।

अमेरिकाले जारी कारबाहीका क्रममा इरानका लगभग ६ हजार ठेगानाहरूमा आक्रमण गरिएको जनाएको छ।

अमेरिकी सेन्ट्रल कमान्डले जनाएअनुसार त्यस क्रममा करिब ६० वटा पानीजहाज र ३० वटा माइन बिछ्याउने वाहनहरू क्षतिग्रस्त वा नष्ट गरिएका छन्।

खाडी क्षेत्रमा कम्तीमा थप तीन मालवाहक पानीजहाजमाथि आक्रमण भएको विवरणहरू आएका छन्।

ती घटनाहरूमा इरानको संलग्नता रहेको ठानिएको छ तर इरानी सरकारी सञ्चारमाध्यमहरूले ती हमलामध्ये कम्तीमा एउटामा इरानी बलको भूमिका रहेको बताएका छन्।

संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायका अनुसार २८ फेब्रुअरीमा अमेरिका र इजरेलले आक्रमण थालेयता इरानमा लगभग ३२ लाख मानिस विस्थापित भएका छन्।

तेलको मूल्य

विश्व ऊर्जा बजारमा यो साता देखिएको ठूलो हलचल भए पनि एसियामा शुक्रवार बिहानको तेल कारोबारमा मूल्य सामान्यतः स्थिर देखिएको छ।

व्यापारीहरूले हर्मुज स्ट्रेटका घटनाक्रमलाई नियालिरहँदा हालैका दिनहरूमा इरानसँग सम्बन्धित युद्धले ऊर्जा आपूर्तिमा पार्न सक्ने प्रभावको चिन्ताले बजारमा हलचल मच्चाएको थियो।

यसअघि अमेरिकाले केही देशहरूलाई पहिले नै ट्रान्जिटमा रहेको रूसी इन्धन किन्न अनुमति दिन प्रतिबन्धहरू अस्थायी रूपमा खुकुलो पारेको जनाएको थियो।

स्ट्रेट अफ होर्मुजुमा इरानले अवरोध जारी राख्ने

इरानका नयाँ सर्वोच्च नेता मुज्तबा खामेनेई स्ट्रेट अफ होर्मुज अवरोध जारी राख्ने पक्षमा भएको सार्वजनिक भएको छ।

इरानको सरकारी टेलिभिजनले मुज्तबा खामेनेईको नाममा जारी भएको विज्ञप्ति पहिलो पटक वाचन गर्दै युद्ध जारी रहे पानीजहाजहरूले प्रयोग गर्ने उक्त जलमार्गमा बाधा पुर्‍याइराख्ने जनाएको हो।

इरानले उक्त साँघुरो जलमार्ग प्रयोग गर्ने मालवाहक पानीजहाजहरूमाथि आक्रमण गर्दै आएको छ।

दुई साताअघि अमेरिका र इजरायलले गरेको आक्रमणमा परेर उनका पिता तथा सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको मृत्यु भएको थियो। उहाँको उत्तराधिकारीका रूपमा छोरा मुज्तबा इरानको सर्वोच नेता नियुक्त गरिनुभएको थियो।

तर उहाँ कहाँ र कस्तो अवस्थामा हुनुहुन्छ भन्ने स्पष्ट छैन।

आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै

तेलको मूल्य उच्च रहँदा विश्वभरका शेयर बजारहरूमा गिरावट आएको छ । इरानका नेता आयातोल्लाह मोज्ताबा खमेनीले हर्मुज स्ट्रेट बन्द गर्ने र अमेरिका तथा इजरायलसँगको युद्धमा नयाँ मोर्चा खोल्ने आह्वान गरेपछि बजारमा अस्थिरता बढेको हो । हर्मुज स्ट्रेट विश्वको ऊर्जा आपूर्तिको एक महत्वपूर्ण मार्ग हो, जहाँ विश्वको लगभग पचांश तेल र ग्याँस ढुवानी हुन्छ । खमेनीले सार्वजनिक रूपमा भन्नुभयो,“ स्ट्रेटको अवरोध ‘अवश्य प्रयोग गर्नुपर्ने’ छ र यदि युद्ध जारी रह्यो भने अन्य संवेदनशील मोर्चा पनि खोलिनेछ ।”

इरानले यस हप्ता खाडी क्षेत्रमा विभिन्न ऊर्जा संरचनामा हमला गरेको छ । इराक नजिक जहाजहरूमा आक्रमण भएको छ, बहराइनमा इन्धन ट्यांकरमा धावा भएको छ र साउदी अरबमा तेल क्षेत्रहरूमा ड्रोन आक्रमण गरिएको छ । इरानले यदि यसको ऊर्जा पूर्वाधार वा बन्दरगाहहरूमा हमला भयो भने ‘क्षेत्रको तेल र ग्याँस जलाइने चेतावनी दिएको छ ।’

तेल बजारमा उच्च मूल्य कायम रहँदा अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले यो सङ्कटलाई ‘विश्व इतिहासकै सबैभन्दा ठूलो आपूर्ति अवरोध’ भनेको छ । ब्रेन्ट क्रूडको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ, र यसले वैश्विक ऊर्जा बजारमा अनिश्चितता थपेको छ । तेल मूल्य बढ्दा विश्व अर्थतन्त्रमा मुद्रास्फीतिको खतरा र आर्थिक दबाब बढ्ने जोखिम पनि बढेको छ ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका विश्वकै सबैभन्दा ठूलो तेल उत्पादक भएकाले मूल्य बढ्दा यसबाट लाभ हुने बताउनुभएको छ । तर उहाँले आफ्नो प्राथमिकता इरानलाई आणविक हतियारबाट रोक्ने र मध्यपूर्व तथा विश्वलाई सुरक्षा दिनेतर्फ केन्द्रित रहेको पनि उल्लेख गर्नुभएको छ । बजारमा चिन्ता बढेसँगै एशियाली अर्थतन्त्रहरू सबैभन्दा संवेदनशील देखिएका छन्, किनकि ती अर्थतन्त्रहरू ऊर्जा आयातमा अत्यधिक निर्भर छन् ।

वैश्विक शेयर बजारमा गिरावट आएको छ । टोकियो, हङकङ, शाङ्घाई, सिङ्गापुर, सिओल, मुम्बई, बैङ्कक, वेलिङ्गटन, मनीला र जकार्ताका बजारहरू सबै घटेका छन् । बजार विशेषज्ञहरूले हर्मुज स्ट्रेट बन्द रहँदा शेयर बजारमा दबाब रहिरहनेछ र ऊर्जा मूल्य उच्च रहिरहने चेतावनी दिएका छन् ।

Share Now