Prakash Adhikari March 15, 2026

 

काठमाडौं, १ चैत्र । निर्वाचन आयोगले दिएको अन्तिम समयभित्रै नेपाली कम्युनिस्ट पार्टी (नेकपा), श्रमसंस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक निर्वाचन पद्धतिबाट आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको नाम सिफारिस गरेका छन् ।

नेकपाले आफूले पाएको मतभार अनुसार ९ जनालाई समानुपातिक सांसद बनाउन ं निर्वाचन आयोगमा सिफारिस गरेको छ ।

नेकपाले निर्वाचन आयोगमा बुझाएको नामहरूमा खसआर्यबाट प्रमेश हमाल र बलावती शर्मा, आदिवासी जनजाति समूहबाट परशुराम तामाङ र भीमकुमारी बुढा, अपाङ्‍गताबाट प्रेमबहादुर बयक, मधेशी समूहबाट जोगकुमार बर्बरिया यादव, दलितबाट पार्वती विक र गणेश विश्वकर्मा, थारू समूहबाट निराशा चौधरी डगौरा रहनुभएको छ ।

श्रम संस्कृति पार्टीले बुझायो चार जनाको नाम

श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ क्लष्टरअनुसार निर्वाचित चार जनाको नाम निर्वाचन आयोगमा पेस गरेको छ ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड (तीन प्रतिशत मत)पार गरेको श्रम संस्कृति पार्टीले मधेसी महिला रुवीकुमारी ठाकुर, दलित महिला राधिका रम्तेल, खस आर्य महिला अम्बिकादेवी सङ्ग्रौला खड्का र आदिवासी जनजातितर्फ पूर्णप्रसाद लिम्बूलाई निर्वाचित गर्न आयोगमा नामवली पेस गरेको छ ।

पार्टीका उपाध्यक्ष लोकनाथ चुडालका अनुसार गत कात्तिक १६ गते आयोगमा दर्ता भएको दलले चार महिनामा २२ जिल्लामा सङ्गठन विस्तार गरी प्रत्यक्षतर्फ तीन र समानुपातिकतर्फ चार जना निर्वाचित गर्न सफल भएको छ ।

राप्रपाले पनि सिफारिस गर्यो चार जना

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत चार जनालाई प्रतिनिधिसभा सदस्यका निम्ति सिफारिस गरेको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले भरत गिरी (खस आर्य पुरुष) महोत्तरी, ताहिर अली (मुस्लिम पुरुष) रुपन्देही, खुस्बु ओली (खस आर्य महिला) झापा तथा सरस्वती लामा (जनजाति महिला) धादिङलाई सिफारिस गरेको छ ।

निर्वाचनमा थ्रेसहोल्ड पार गरेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिवादी), नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज क्लष्टर मिल्ने गरी निर्वाचित उम्मेदवारको नाम पेस गरेका छन् ।

निर्वाचन आयोगले नाम स्वीकृत गरेपछि ती सांसदहरूले प्रमणपत्र प्राप्त गर्नेछन्।

आयोगले गत फागुन २८ गते नै आजसम्म क्लष्टर मिलाएर पेस गर्न पत्राचार गरेको थियो ।

–––

Share Now