दुबाई(संयुक्त अरब इमिरेट्स), ३ चैत्र (बीबीसी)। इरानबाट क्षेप्यास्त्र र ड्रोन हमलाको चेतावनीपछि बन्द रहेको संयुक्त अरब एमिरेट्स (यूएई)को हवाई क्षेत्र आंशिक खुलेको छ।
त्यसअघि यूएईको नागरिक उड्डयन मन्त्रालय र देशका रक्षामन्त्रीले निश्चित अवधिका लागि हवाई क्षेत्र बन्द गरिएको बताएका थिए।
यसअघि सोमवार पनि बन्द गरिएको हवाई क्षेत्र खुला भएर इतिहाद र एमिरेट्स वायुसेवाले केही उडान सुरु गरेको केही समयपछि पुनः हवाई क्षेत्र बन्द गरिएको थियो।
समाचार संस्था रोएटर्सले यूएईको सरकारी सञ्चार माध्यमलाई उद्धृत गर्दै बन्द गरिएको हवाई क्षेत्र खुला भएको बताएको छ।
हवाई क्षेत्र खुला भएसँगै देशको आकाशमा विमानहरूको आवतजावत साधारण अवस्थामा फर्किएको नागरिक उड्डयनले जनाएको छ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागीपछि त्यहाँको नागरिक उड्डयन प्राधिकरणले सोमवारदेखि निश्चित अवधिका लागि उडान बन्द गरेको थियो। विमानस्थल खुलेपछि राष्ट्रिय ध्वजावाहक एमिरेट्सले नियमित भन्दा घटाइएका सङ्ख्यामा उडानहरू सुरु गर्ने तालिका सार्वजनिक गरेको थियो।
देशको अर्को प्रख्यात वायुसेवा इतिहादले पनि आबुधाबीबाट सीमित व्यावसायिक उठानहरू जारी राखेको थियो।
ओमान एअरले दुबई, दोहा र बाहरेनका उडानहरू मार्च ३१ सम्मका लागि स्थगित गरेको छ।
कतार एअरले पनि आफ्नो देशको हवाई क्षेत्र बन्द रहेका कारण यो क्षेत्रका उडानहरू गरेको छैन। तर यो वायुसेवाले १८ देखि २८ मार्चसम्म निश्चित उडानहरू गर्ने कार्यतालिका बनाएको छ।
टर्किश एअरलाइन्सले पनि बाहरेन, साउदी अरब, इरान, इराक, कतार र यूएईका गन्तव्यमा हुने उडानहरू स्थगन गरेको छ।
एअर क्यानडा, डेल्टा र विज् एअरले पनि मार्च अन्त्यसम्मका लागि तेलअभिभमा हुने उडानहरू स्थगन गरेका छन्।
बगदादको अमेरिकी दूतावासमा आक्रमण
इराकको बगदादमा रहेको अमेरिकी दूतावासमा ड्रोन र शृङ्खलाबद्ध रकेट आक्रमण भएको समाचार संस्था एएफपीले जनाएको छ।
इराकी सुरक्षा स्रोतहरूले अमेरिकी दूतावासमा भएको हमलालाई यो क्षेत्रमा पछिल्लो युद्ध सुरु भएयताकै सबैभन्दा सघन आक्रमण भएको बताएका छन्।
दूतावासले त्यसको करिब छ घण्टा अघिमात्रै इराकमा रहेका अमेरिकी नागरिकहरूलाई सुरक्षित रहन भनेको थियो।
यसैबीच अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यूकेका प्रधानमन्त्रीले आफ्नो देश इरानसँगको व्यापक युद्धमा नजोडिने बताएको कुराबाट आफू बेखुस भएको बताउनुभएको छ।
ट्रम्पले खासगरी नेटोका सहयोगी राष्ट्र सहितका अन्य देशहरूलाई इन्धन ढुवानीको प्रमुख जलमार्ग स्ट्रेट अफ होर्मुज सुरक्षित गर्ने योजनामा सहयोग गर्न आग्रह गरेका छन्। तर विश्वका धेरै नेताहरू यो प्रमुख ढुवानी मार्गमा सहभागी नभएको कुराले आफूलाई अचम्ममा पारेको उहाँले प्रतिक्रिया दिनुभएको छ ।
जर्मन चान्सलर फ्रेडरिख मेर्ट्सले यो युद्ध नेटोको सरोकारको विषय नभएको बताउनुभएको छ । नेटोले भूमध्य सागरमा अतिरिक्त सुरक्षा दिन सहयोगी राष्ट्रहरू अघि बढिसकेको जनाएको छ।
यूके, क्यानडा, फ्रान्स, जर्मनी र इटलीका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै लेबनानमा जारी इजरेलको महत्त्वपूर्ण स्थल आक्रमणले ठूलो मानवीय सङ्कट निम्तिनसक्ने बताएका छन्।


















