Prakash Adhikari September 17, 2018

काठमाडौं, १ असोज । अखिल नेपाल फुटबल संघ(एन्फा)ले शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि विजेतालाई नगद ५० लाखको पुरस्कार प्रदान गर्ने भएको छ ।

आइतबार एन्फा कम्प्लेक्स सात दोबाटो ललितपुरमा पत्रकार सम्मेलनको आयोजना गरी एन्फाले यसको जानकारी गराएको हो ।

त्यसैगरी लिगको दोस्रो स्थान हासिल गर्ने टोलीले ३५ लाख हात पार्नेछ भने तेस्रो स्थान हासिल गर्ने टोलीले २५ लाख प्राप्त गर्नेछ । त्यस्तै चौथो स्थान हासिल गर्ने टोलीले १५ लाख प्राप्त गर्नेछ भने पाँचौ स्थान हासिल गर्ने टिमले ७ लाख हात पार्नेछ ।

लिगमा व्यक्तिगत विधातर्फका विजेता खेलाडीहरुले जनही एक–एक थान मोटरसाईकल प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सहभागिता जनाउने क्लबहरुलाई तयारी स्वरुप दिइने रकममा समेत बृद्धि गरिएको छ ।

यसपटक लिगमा सहभगिता जनाउने प्रत्येक क्लबलाई तयारी स्वरुप २० लाख उपलब्ध गराइने छ । पाँच बर्ष अगाडीको संस्करणमा क्लबहरुलाई तयारी स्वरुप १०–१० उपलब्ध गराइएको थियो ।

लिगका सबै खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र सशस्त्र प्रहरीको हल्चोक स्टेडियममा हुनेछन् ।

एन्फाले यहि आउँदो असोज १३ गतेदेखि शहिद स्मारक ए डिभिजन लिगको आयोजना गर्दैछ । लिगमा काठमाडौंका कुल १४ टोलीहरुले सहभागिता जनाउँदैछन् ।

Share Now

Leave a comment.