Prakash Adhikari April 7, 2026

 

काठमाडौं, २३ चैत्र । नेपालको शेयर बजारले आज उकालो यात्रा तय गरेको छ । ब्रोकर एशोसियसनले अर्थमन्त्रीलाई भेटेर पूँजी बजारलाई नकारात्मक असर पर्ने खालका नीतिगत कामहरु नगर्न प्रस्ताव गरेपछि शेयर बजारको ओरालो गति थामिएको हो ।

आइतबार १०५ अंकभन्दा बढीले ओरालो लागेको शेयर बजार क्र्यास हुने चिन्ता बढ्दै गएपछि आज बिहान स्टक ब्रोकर एशोसिएसनका प्रतिनिधिहरुले अर्थमन्त्री वाग्लेलाई भेट्न भेटेका थिए। ब्रोकर एशोसिएसनका प्रतिनिधिसंग अर्थमन्त्री वाग्लेले सरकार पुँजी बजारको विकासमा उदार रहेको र यसलाई असर पार्ने गरी कुनै काम नगरिने आश्वासन दिनुभएको थियो ।

ब्रोकर एशोसिएसनसंगको उक्त भेटको सन्देश बाहिरिएसंगै शेयर बजार उकालो लाग्न सुरुभएको थियो ।

सोमबार नेप्से परिसूचक ८३.३३ अंक बढेर २७६०.०२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १४.३० अंक बढेको छ भने फ्लोट इण्डेक्स ६.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०३ अंक बढेको छ।

आइतबार १२ अर्ब ३८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा सोमबार ३ सय ४५ स्टकको २ करोड ५१ लाख ५५ हजार कित्ता शेयर खरिदबिक्रीबाट १० अर्ब ९२ करोड ८५ लाख ६ हजार रुपैयाँबराबरको कारोबार भएको छ।

यस दिन ८ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन उपकार लघुवित्त वित्तीय संस्था, भुजुङ्ग हाइड्रोपावर, रिडी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र होटल फरेष्ट इनको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब १३ करोड ५८ लाख ५८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब ५५ करोड रुपैयाँको शेयर किनबेच भएकोछ भने एनआरएन इन्फ्रास्ट्रक्चरको कारोबार रकम ४८ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ४.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक ४ प्रतिशत बढेको छ भने बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

Share Now