Prakash Adhikari September 19, 2018

 

काठमाडौँ, ३ असोज (रासस) । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी–२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा आज १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी १८ सदस्यीय टोली घोषणा गरिएको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिएका छन् ।

कप्तान खड्का, आइसिसीका प्रतिनिधि अनिमूल इस्लाम र मुख्य प्रशिक्षक जगत टमाटा संलग्न छनोट समितिले १८ सदस्यीय टोली छनोट गरको हो । टोलीको उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ ।

नेपाली टोलीमा अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दीपेश श्रेष्ठ, करन केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, सहाब आलम, शरद भेषवाकर, सोमपाल कामी र सुनिल धमला रहेका छन् ।

मलेशियामा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । नेपालको समूहमा चीन, म्यानमार, थाइल्याण्ड, भूटान, सिङ्गापुर र मलेशिया रहेका छन् ।

प्रतियोगितामा सहभागी हुन् नेपाली टिम असोज १५ गते मलेसिया जानेछ।

राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणका लागि छानिनेछन्।

यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का भइसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए।

दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ।

तेस्रो चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।

नेपालले पहिलो खेल असोज १७ गते म्यानमारसँग, दोस्रो खेल २० गते मलेशियासँग, २१ गते थाइल्याण्डसँग, २४ गते चीनसँग र २६ गते सिङ्गापुरसँग खेल्नेछ ।

नेपालले बिहीबारबाट तयारी सुरू गर्ने भएको छ। १० दिनको अभ्यासपछि १४ सदस्यीय राष्ट्रिय टिम घोषणा गरिने छ।

Share Now

Leave a comment.