काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसले प्रतिनिधिसभा अन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ ।
निर्वाचन तालिकासमेत प्रकाशित भइसकेको अवस्थामा कांग्रेसले निर्वाचन स्थगित गरेको हो । निर्वाचन समिति सदस्य मुना भुसालका अनुसार निर्वाचनको नयाँ मिति भने तोकिएको छैन ।
दलको नेता सहमतिमा चयन गर्नका लागि उपसभापति विश्व प्रकाश शर्माको नेतृत्वमा सात सदस्य समिति बनाइएको थियो । समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे, निर्वाचन समितिका संयोजक प्रकाश रसाइली ‘स्नेही’, मुना भुसाल र राजु कटुवाल थिए ।
कांग्रेस संसदीय दलको नेता चयनमा संस्थापन पक्षभित्रै कुरा मिलेको छैन । सभापति थापाले रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलाई अघि सार्नुभएको छ भने उपसभापति शर्माले समानुपातिक सांसद भीष्मराज आङ्देम्बेलाई ।
त्यस्तै कांग्रेसका वरिष्ठ नेता तथा समानुपातिक सांसद अर्जुननरसिंह केसीले पनि संसदीय दलको नेतृत्व लिने इच्छा देखाउनुभएको छ । नेताहरूबीच दलको नेता चयनको विषयमा सहमति नजुट्दा आज हुने भनिएको निर्वाचन नै स्थगित भएको छ ।
निर्धारित निर्वाचन तालिका अनुसार दिउँसो ३ बजे दरखास्त दिने, दिउँसो ३ः१० बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, ३ः२० बजे दाबी विरोध दिन सकिने, ३ः२५ बजे दाबी विरोध उपर जाँचबुझ गर्ने, ३ः३० बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्ने, ४ः३० बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने, ४ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन, मतदान साँझ ५ बजेका लागि तय गरिएको थियो । मतदान स्थल कांग्रेस संसदीय दलको कार्यालय, मतगणना मतदान सम्पन्न भएपछि सुरु गर्ने निर्वाचन तालिका थियो ।


















