Prakash Adhikari April 24, 2026

काठमाडौं, ११ बैशाख । प्रधानमन्त्री कप भलिबल लिग अन्तरगत आज भएको खेलमा महिलातर्फ एभरेष्ट र न्यु डायमण्ड क्लबले जित हासिल गरेका छन् ।

घरेलु महिला भलिबलको टोली मध्ये सफल मानिएको एपीएफलाई स्तब्ध पार्दै एभरेष्ट भलिबल क्लबले प्रतियोगिता जितेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा एभरेष्टले एपीएफलाई ३-१ सेटमा हराएको हो। दोस्रो सेटमा बाहेक एपीएफले एभरेष्ट विरुद्ध कमजोर प्रदर्शन गरेको थियो ।

एभरेष्ट क्लब आजको खेलमा २५-२०,१६-२५,२५-१७,२५-१६ ले विजयी भएको थियो।

एपीएफले आफ्नो पहिलो खेलमा हिजो त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले हराएको थियो।एभरेष्ट क्लब भने आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ३-० को सेटमा पराजित भएको थियो।

न्यु डायमण्डको सहज जित

आज बिहानको पहिलो खेलमा सुदूरपश्चिम भलिबल क्लबलाई हराउँदै न्यु डायमण्ड युथ स्पोर्टस क्लबले विजयी सुरुवात गरेको छ।

न्यु डायमण्डले २५-११,२५-३,२५-१ ले विजयी भएको थियो। लिगमा यी दुबै टोलीको यो पहिलो खेल हो।

नेपाल भलिबल संघको आयोजनामा बैशाख १९ गते सम्म चल्ने प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन्।

Share Now