Prakash Adhikari April 28, 2026

काठमाडौं, १५ बैशाख । मंगलबार नेपालको शेयर बजार ओरालो लागेको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार सामान्य सकारात्मक भएर बन्द भएको शेयर बजारमा आज दोहोरो अंकको गिरावट देखिएको हो।

मंगलबार नेप्से परिसूचक २६.१६ अंक घटेर २७७०.२६ विन्दुमा झरेको छ। यस दिन क वर्गका कम्पनीहरुको सूचक सेन्सेटिभ इण्डेक्स २.१४ अंक घटेको छ भने बजारमा कारोबारमा आएका शेयरहरुको फ्लोट इण्डेक्स १.५३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक घटेको छ।

धितोपत्र बजार परिसूचक घटेपनि यस दिन कारोबार रकम भने बढेको छ। मंगलबारको बजारमा कारोबारमा आएका २ सय ६९ कम्पनीको १ करोड ४० लाख १८ हजार ९ सय २० कित्ता शेयर ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । सोमबारको बजारमा ४ अर्ब ७४ करोड ८८ लाख ९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

यस दिन करोबारमा आएका स्टकहरु मध्येमा डिबेञ्चरहरुको मूल्य सर्वाधिक बढेको देखिन्छ । जसमा हिमालयन बैंक लिमिटेड बन्ड, २०८६ को मूल्य सर्वाधिक बढेको छ । यो डिबेञ्चरको मूल्य ६ प्रतिशतले बढेर कारोबार भएको हो। त्यसैगरी शाईन रेसुङ्गा डिबेञ्चरको मूल्य ३.४० प्रतिशतले बढेर कारोबार भएको छ। त्यसैगरी, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य सर्वाधिक घटेको छ । यस बैंकको शेयर मूल्य १४.९९ प्रतिशतले घटेर कारोबार भएको हो भने रिज लाईन इनर्जीको शेयर मूल्य १०.२७ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन पाल्पा सिमेन्टको सबैभन्दा धेरै रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै रिलायन्स स्पिनिङ्ग मिल्सको ३४ करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
नेपालको शेयर बजारमा वर्गीकृत भएका १३ उपसमूहमध्ये आज अन्य उपसमूहको परिसूचक मात्रै सामान्य अंकले सकारात्मक भएर बन्द भएको छ । बाँकी १२ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल उपसमूहको सूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक २.४६ प्रतिशतले घटेको हो । त्यस्तै, यस दिन विकास बैंक र जविद्युत उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Share Now