किगाल-रुवाण्डा), १५ वैशाख । रुवान्डामा भईरहेको आइसीसी महिला टी–२० च्यालेन्ज कपमा नेपाल घरेलु टोली रुवान्डामाथि ३८ रनको शानदार विजय हासिल गरेको छ ।
रुवान्डाको किगालीस्थित गहङ्गा क्रिकेट स्टेडियममा मङ्गलबार भएको खेलमा १ सय ४ रनको लक्ष्य पछ्याएको रुवान्डा १७.४ ओभरमा अलआउट हुँदै ६५ रनमा समेटिएको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ३ रन बनाएको थियो ।
खेलमा नेपालकी कप्तान इन्दु बर्माले ३३, कविता कुँवरले २४ रन बनाइन् ।
नेपाललाई रोक्ने क्रममा रुवान्डाकी हेनरिएट इशिम्वेले ३ विकेट लिइन् ।
प्रतियोगितामा नेपालको यो छैटौँ खेल हो ।
पहिलो खेलमा अमेरिकासँग पराजित भएको नेपालले दोस्रो खेलमा इटाली र तेस्रो खेलमा रुवान्डालाई हराएको थियो । यस्तै नेपाल चौथो खेलमा भानुआतुसँग र पाँचौँ खेलमा अमेरिकासँग पराजित भएको थियो ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् -आईसीसी) ले पहिलो पटक आयोजना गरेको प्रतियोगितामा आयोजक रुवान्डासहित नेपाल, अमेरिका, इटाली र भानुआतु सहभागी छन् । सबै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् ।अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
प्रतियोगिता आउँदो शुक्रवारसम्म चल्नेछ । प्रतियोगितामा नेपालले अब सातौँ खेल वैशाख १७ गते भानुआटुसँग र अन्तिम खेल १८ गते इटलीसँग खेल्ने छ ।


















