Prakash Adhikari May 4, 2026

काठमाडौं, २१ बैशाख । नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को ६०औँ वार्षिक साधारण सभा आज ललितपुरमा उद्घाटन हुने भएको छ।

सभाको उद्घाटन ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा गरिने कार्यक्रम छ। उद्घाटन सत्रमा देशभरका उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी र सरोकारवालाहरूको बाक्लो उपस्थिति रहनेछ।

साधारण सभाको दोस्रो दिन अर्थात् भोलि २२ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा मतदान प्रक्रिया सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ।

महासंघको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ। यस अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ महासंघको आगामी अध्यक्ष बन्ने निश्चित भएको छ। नयाँ संशोधित विधानअनुसार अञ्जन श्रेष्ठको कार्यकालपछि अध्यक्ष पदमा पनि प्रत्यक्ष निर्वाचन हुने व्यवस्था गरिएको छ।

अञ्जनको काँधमा वर्तमान शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको तर्फबाट सरकारलाई दबाब दिने र व्यवसायीका समस्या समाधान गर्ने ठूलो चुनौती रहेको छ।

कार्यसमितिका ७३ पदका लागि १ सय ३७ उम्मेदवार

यस पटकको निर्वाचनमा कार्यसमितिका विभिन्न पदहरूमा कडा प्रतिस्पर्धा देखिएको छ। महासंघको ७३ सदस्यीय नयाँ कार्यसमितिका लागि कुल १ सय ३७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। देशभरका २,१५३ जना मतदाताले यस निर्वाचनमा भाग लिनेछन्। सबैभन्दा बढी मतदाता एसोसिएट समूहबाट रहेका छन्। जसले निर्वाचनको नतिजामा निर्णायक भूमिका खेल्ने देखिन्छ। वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष (जिल्ला–नगर, वस्तुगत र एसोसिएट) र विभिन्न समूहका सदस्य पदका लागि व्यवसायीहरूले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन्।

वरिष्ठ उपाध्यक्ष पदमा विभिन्न समूहका प्रभावशाली व्यवसायीहरूले दाबी गरेका छन्। जिल्ला–नगर उपाध्यक्ष पदमा मात्रै पाँच जनाको उम्मेदवारी परेको छ।

Share Now