Prakash Adhikari May 15, 2026

काठमाडौ, ३१ वैशाख। सरकारले आगामी आर्थिक बर्षका लागि संसदमा पेश गरेको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएको छ । बिहीबार राष्ट्रिय सभामा सर्वसम्मतिले नीति तथा कार्यक्रम पारित भयो भने प्रतिनिधिसभामा विपक्षीको बहिष्कार र प्रमुख प्रतिपक्षी दलको अवरोधबीच नीति तथा कार्यक्रम पारित भएको हो।

अवरोधबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्रीका तर्फबाट नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन थालेपछि विपक्षी चार दलले सदन बहिष्कार गरेका थिए।

नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू बैठक छाडेर हिँडेका थिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले भने सदनमै बसेर अवरोध गरेका थिए।

प्रधानमन्त्री बालेन्द्र शाह सदनमा अनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिँदा विपक्षी दलले बहिष्कार गर्नुका साथै प्रमुख प्रतिपक्षी दलले अवरोध गरेको हो।

राष्ट्रिय सभामा बहुमतले पारित

राष्ट्रिय सभाले आर्थिक वर्ष २०८३र८४ का लागि सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिएपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा.वाग्लेले नीति तथा कार्यक्रममाथि केन्द्रित रहेर उठेका जिज्ञासामाथि प्रस्ट पार्नुभएको थियो। उहाँले सरकारको कार्यदिशा सुशासन र आर्थिक समृद्धितर्फ लक्षित रहेको दाबी गर्नुभयो।

नीति तथा कार्यक्रममाथि सदस्यहरूले राखेका संशोधन प्रस्तावहरूलाई बैठकले निर्णयार्थ प्रस्तुत गर्दा ती प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। तर, बैठकमा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिएकोमा बहुमतले पारित भएको थियो।

विपक्षीको अवरोध र बहिष्कार भएता पनि प्रतिनिधिसभाबाट सर्वसम्मतिले सरकारको नीति तथा कार्यक्रम पारित भएको घोषणा गरिएको छ।

Share Now