Prakash Adhikari May 16, 2026

वीरेन्द्रनगर(सुर्खेत), २ जेठ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको बताउनुभएको छ।

पूर्वसभापति शेरबहादुर देउवा समूहको कर्णाली प्रदेशस्तरीय भेलालाई शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दै पार्टीका पूर्वकार्यवाहक सभापति समेत रहनुभएका नेता खड्काले आफू पार्टी विभाजनको बाटोमा जान नहुने पक्षमा रहेको बताउनुभयो।

उहाँले विशेष अधिवेशनको छलकपटपूर्ण बाटोबाट पार्टी नेतृत्व कब्जा गरेको समूहसंग सानेपामा आधा कांग्रेस मात्रै रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु । पार्टीको विगत संझाउदै भनेको छ, गिरिजाबाबुकै कारणले पार्टी फुट्यो, पछि मिलाएको पनि उहाँले नै हो। यो कुरा मैले गगन र विश्वजी भेट्न आउँदा भनेको छु। पार्टी फुटको डिलमा छ मिलाउने कि फुटाउने तपाईँहरूको जिम्मा छ भनेर। अहिले आधा कांग्रेस सानेपाबाट बाहिरै छ। तपाई सिंगो कांग्रेसको सभापति हुने कि नहुने ? सबैलाई एकताबद्ध गरेर सिंगो कांग्रेसको सभापति हुनुस्। अदालतले जिताएर हामीले सभापति मानेका छौँ। सबै नेताहरूलाई सानेपा आउनसक्ने वातावरण बनाउनुस्।’

नेता खड्काले नेपालको राष्ट्रियता इतिहासकै कमजोर अवस्थामा रहेको भन्दै त्यसको रक्षाका लागि कांग्रेस जुट्नुपर्ने बताउनुभयो । नेपाली कांग्रेस जस्तो राष्ट्रियत, लोकतन्त्र र संसदीय पद्धतिको नेतृत्व गर्ने पार्टी फुट्यो भने राष्ट्रियता रहन्छ कि रहदैन भन्ने स्थिति आउने र अरुले बचाउन नसक्ने जिकिर उहाँले गर्नुभयो।

Share Now