Prakash Adhikari May 17, 2026

 

लण्डन(संयुक्त अधिराज्य), २६ बैशाख। बेलायतमा हालै सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका उम्मेदवारहरूले उल्लेख्य सफलता हासिल गरेका छन्। लन्डनको रोयल ग्रीनबीच बरोअन्तर्गत ‘प्लमस्टेड एन्ड ग्लिन्डन’ वार्डबाट लेबर पार्टीका तर्फबाट पूर्वमेयर जित रानाभाट पुनः काउन्सिलरमा निर्वाचित हुनुभएको छ।

उहाँले १ हजार ६ सय १० मत प्राप्त गरी आफ्नो सिट सुरक्षित गर्नुभएको छ। रोयल ग्रीनविच बरोको एबिउड वार्डबाट उहाँकी पत्नी गौमाया गुरुङ पनि १ हजार २ सय ९२ मतका साथ पहिलो पटक काउन्सिलर पदमा विजयी हुनुभएको छ। रानाभाट दम्पती दुवैले लेबर पार्टीको प्रतिनिधित्व गर्दै विजय हासिल गरेसँगै बेलायती राजनीतिमा नेपाली परिवारको सक्रियता र प्रभाव थप मजबुत देखिएको छ।

त्यसैगरी, अल्डरसटको रश्मोर बरोअन्तर्गत म्यानोर पार्क वार्डबाट कन्जरभेटिभ पार्टीका जीवनारायण बेल्वासे ८ सय ९१ मतसहित दोस्रो पटक निर्वाचित हुनुभएको छ भने सोही बरोको वेलिङटन वार्डबाट पूर्वगोर्खा सैनिक उत्तरबहादुर गुरुङ ५ सय ५१ मतका साथ काउन्सिलर निर्वाचित हुनुभएको छ।

रेडिङ बरोको ब्याटल वार्डबाट लेबर पार्टीकी प्रतिक्षा गुरुङ १ हजार १ सय ८० मतसहित विजयी हुँदै रेडिङ बरोमा नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलरको कीर्तिमान रच्न सफल हुनुभएको छ। उता लन्डन बरो अफ बार्नेटको एड्जवेरवरी वार्डबाट कन्जरभेटिभ पार्टीका लक्ष्य गुरुङ १ हजार ९ सय ५१ मतका साथ तेस्रो पटक काउन्सिलरमा निर्वाचित हुनुभएको छ।

स्थानीय तहको निर्वाचनमा बेलायतको सत्तारुढ लेबर पार्टीलाई यसपटक ठूलो धक्का लागेको छ। शुक्रबार मध्यरातिसम्म प्राप्त १ सय ३१ काउन्सिलको नतिजाअनुसार नाइजल फराज नेतृत्वको रिफर्म युकेले १ हजार ४ सय ४३ सिट जित्दै अप्रत्यासित सफलता हात पारेको छ।

दोस्रो स्थानमा खुम्चिएको लेबरले ९ सय ५९ सिट मात्र जितेको छ भने लिब्डेमले ८ सय ३४ र कन्जरभेटिभले ७ सय ७३ सिटमा चित्त बुझाएका छन्। सत्तारुढ लेबरले अघिल्लो निर्वाचनको तुलनामा करिब १ हजार ३ सय ९५ सिट गुमाउँदा अधिकांश स्थानमा रिफर्म युकेले आफ्नो वर्चस्व कायम गरेको छ।

यस निर्वाचनमा करिब डेढ दर्जन नेपाली मूलका उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।

Share Now