काठमाडौं, ३ जेठ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज देशभर वडा अधिवेशन गर्दैछ ।
पार्टीले दिएको जानकारी अनुसार गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १ हजार ५ सय वडाको अधिवेशन आज हुँदैछ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सङ्गठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार करिब ३ हजार वडामा तदर्थ समिति बनेका छन् । तीमध्ये ५० प्रतिशतको अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ । तदर्थ समिति बनेका तर वडा अधिवेशन हुन नसकेका बाँकी वडाको अधिवेशन आज हुँदैछ ।
दुई चरणमा वडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको रास्वपाले बैशाख २० गते पश्चात् तदर्थ समिति बनेका वडाहरुको हकमा भने जेठ १६ गते वडा अधिवेशन गर्ने मिति तोकेको छ ।
रास्वपाको पालिका अधिवेशन पनि दुई चरण गर्ने मिति तोकिएको छ । जेठ ९ र १७ गते पालिका अधिवेशन हुनेछ ।
कुनै पालिकाको वडाहरू मध्ये ३० प्रतिशत र ३० प्रतिशत पालिकाको अधिवेशन भए उपल्लो तहको अधिवेशन नरोकिने निर्णय रास्वपाले जनाएको छ ।
रास्वापाले जेठ २३ र २४ गते जिल्ला अधिवेशन गर्ने भएको छ । प्रदेश अधिवेशन जेठ २६ बाट सुरु गरेर असार १ गते सक्ने कार्यतालिका बनाइएको छ ।
प्रथम केन्द्रीय महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुनेछ । पार्टी गठन भएको ठीक चार वर्ष पुगेकै दिन पहिलो महाधिवेशनको मिति तय गरिएको छ ।
‘फास्ट ट्र्याकमा महाधिवेशन
२०७९ असार ७ गते स्थापना भएको रास्वपाले आगामी ७ देखि ९ असारसम्म पहिलो महाधिवेशन गर्ने भएको छ ।
विगतमा पटक पटक महाधिवेशनको मिति तय भए पनि स्थगित हुँदै आएको थियो । पछिल्लोपटक गत फागुनमा तोकिएको महाधिवशेनको मिति चुनावका कारणले स्थगित गरिएको थियो ।
चितवनमा सौराहामा भएको विस्तारित बैठकले चुनाव सकिएको छ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । रास्वपाको ३० वैशाखमा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको हो । रास्वपाले पहिलो महाधिवेशन चितवनमा गर्ने गरी स्थान निश्चित गरेको छ ।
शनिबारदेखि विधिवत् रूपमा रास्वपामा महाधिवेशनमा केन्द्रित हुने भएको छ । २ जेठमा तदर्थ समिति गठन हुन नसकेका वडा र ९ जेठमा तदर्थ समिति नभएका पालिकाहरूको भेला डाकिएको छ । ती भेलाबाट यसअघि समिति बन्न नसकेका वडा र पालिकामा तदर्थ समिति बनाइने छ ।
पार्टी संरचना बनेका र बन्न नसकेका गरी वडा र पालिकाको अधिवेशन दुई चरणमा गर्ने गरी समय निश्चित गरिएको छ ।
यसअघि तदर्थ समिति बनिसकेका वडाहरूको हकमा ३ जेठमा वडा अधिवेशन हुनेछ भने वैशाख २५ पटि समिति बनेका वडाहरुको १६ जेठमा । त्यस्तै २५ वैशाख अघि पालिका समिति बनेका स्थानमा पालिकाको अधिवेशन १० जेठमा समय निश्चित गरिएको छ । १० जेठसम्म समिति बनेका पालिकाहरूको अधिवेशन १७ जेठमा हुने गरी तालिका बनाइएको छ ।
रास्वपाले फास्ट ट्र्याकबाट पहिलो महाधिवशेन गर्ने निर्णय गरेको छ । कुनै पालिकाको वडा र कुनै जिल्लाको पालिकाहरू मध्येमा ३० प्रतिशत मात्रै अधिवेशन भएपनि उपल्लो तहको अधिवेशन नरोकिने गरी केन्द्रीय तहबाट निर्णय गरिएको छ ।
रास्वपाको निर्वाचन समितिका सचिव भूमिनन्द बरालका अनुसार कुनै पालिकाका ३० प्रतिशत वडामा र जिल्लाको पनि ३० प्रतिशत पालिकाको अधिवेशन भएको अवस्थामा समेत उपल्लो तहको अधिवेशन रोकिने छैन ।
पालिकाबाट महाधिवेशन प्रतिनिधि छनोट गर्दा २०१ भन्दा बढी पार्टी सदस्य भएको गाँउपालिकाबाट १ जना पठाउने व्यवस्था छ । ४०१ भन्दा बढी पार्टी सदस्य भएको नगरपालिकाबाट २ जना, ५०१ भन्दा बढी पार्टी सदस्य भएको उपमहानगरपालिकाबाट ३ जना र ७०१ भन्दा बढी पार्टी सदस्य भएको महानगरपालिकाबाट ४ जना प्रतिनिधि छनोट गर्ने विधानको व्यवस्था छ ।
अधिवेशन हुन नसकेका स्थानबाट समेत केन्द्रीय समितिमा प्रतिनिधिहरू आउन सक्ने व्यवस्था रास्वपाले गरेको छ ।
संगठन विभागका सचिव शंकर श्रेष्ठका अनुसार अधिवेशन भएको संरचनाबाट पूरै समिति महाधिवेशनको प्रतिनिधि छनोट बन्नेछन् । तर, तदर्थ समिति बनेका स्थानबाट भने पदाधिकारी मात्रै केन्द्रीय प्रतिनिधि हुनेछन् ।
महाधिवेशनबाट केन्द्रीय, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा गरी छ तहको निर्वाचित समिति बनाउने व्यवस्था छ ।
यी मध्ये प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन भने गरिने भएको छैन । निर्वाचन आयोगका सचिव बरालका हालका लागि प्रतिनिधि छनोट गर्नुपर्ने संरचनाको अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्न लागिएको हो ।
महाधिवेशनमा केन्द्रीय तहमा रहेका सबै पार्टी संरचनाबाट स्वतः प्रतिनिधि बन्नेछन् ।
केन्द्रीय समितिमा नरहेका प्रतिनिधि सभा सदस्य पनि स्वतः महाधिवेशन प्रतिनिधि बन्नेछन् । केन्द्रीय समितिमा रहेका ९२ जनामा अधिकांश प्रतिनिधि सभा सदस्य समेत छन् ।
१८१ (सभामुख डीपी बाहेक) जना प्रतिनिधि सभा सदस्यमा केन्द्रीय सदस्य नहुनेहरूको संख्या उल्लेख्य छ ।
केन्द्रीय विभागबाट प्रत्येकबाट ११ प्रतिनिधि बन्ने व्यवस्था छ । रास्वपाका ३६ विभागमा प्रत्येकमा ११ सदस्य हुने व्यवस्था भएपनि अधिकांशमा प्रमुख मात्रै मनोनीत भएका छन् ।
रास्वपाले २६ जेठदेखि प्रदेशहरूको अधिवेशन सुरु गरेर १ असारमा सक्ने कार्यतालिका बनाएको छ ।
बागमतीको २६ जेठ, कोशीको २७ जेठ, मधेशको २८ जेठ, गण्डकीको २९ जेठ, लुम्बिनीको ३० जेठ, कर्णालीको ३१ जेठ र सुदूरपश्चिमको १ असारमा अधिवेशन गरिने भएको छ । प्रदेश समिति र त्यस अन्तर्गत रहेका अनुशासन लेखा, निर्वाचन समितिका पदाधिकारी प्रतिनिधि हुनेछन् ।
रास्वपाले जिल्ला अधिवेशनको मिति २३ र २४ जेठ तोकेको छ । पार्टी विधान अनुसार जिल्ला संरचनाको आकार सानो बनाइएको छ । जिल्ला अधिवेशन भएका स्थानबाट पाँच जना प्रतिनिधि चयन हुने भएपनि अधिवेशन हुन नसकेका जिल्लामा त्यही संख्यामा प्रतिनिधि छनोट हुन सक्ने छैनन् । रास्वपा केन्द्रीय महाधिवेशनका प्रतिनिधिको संख्या तीन हजार बढी हुनेछ ।








