Prakash Adhikari May 20, 2026

 

काठमाडौं, ६ जेठ । बुधबार नेपालको शेयर बजार उभो गति लिएको छ । यस दिन धितोपत्र बजार परिसूचक बढेर बन्द भएको छ। पछिल्ला दुई कारोबार दिन सामान्य अंकले घटेर बन्द भएको शेयर बजार यस दिन भने बढेर बन्द भएको हो।

यस दिन धितोपत्र बजार परिसूचक ३०.०८ अंक बढेर २७५४.४८ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.६८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ३ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ४६ स्टकको १ करोड ६ लाख ६१ हजार कित्ता शेयर खरिदबिक्रीमा ३ अर्ब ८२ करोड ८ लाख ९६ हजार रुपैयाँबराबरको भएको छ।

यस दिन अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य ७३ रुपैयाँ २० पैसा बढेर ५ सय ६१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो।

यस दिन माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य करिब १२ प्रतिशत बढेको छ भने बुंगल हाइड्रोको शेयरमूल्य साढे ७ प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक १३.२६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन १८ करोड ३५ लाख १३ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनीको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.८९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, लगानी, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Share Now