काठमाडौं, ७ जेठ । शुक्रबारदेखि काठमाडौँमा मध्य एशिया भलिबल संघ(काभा)को महिला भलिबल च्याम्पियनसिप सुरु हुँदैछ ।
प्रतियोगितामा आयोजक नेपालसहित आठ देशका राष्ट्रिय टोली सहभागी हुँदै छन् । सबै पाहुना टोलीहरु नेपाल आइसकेको जानकारी आयोजक समेत रहेको नेपाल भलिबल संघले दिएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स, श्रीलंका, उज्वेकिस्तान, किर्गिस्तान र इरान यो प्रतियोगिता प्रतिस्पर्धा गर्दैछन् ।
नेपालले यो प्रतियोगितालाई क्षेत्रीय प्रतियोगिताको रुपमा मात्र नहेरी नेपाली भलिबल क्षेत्रको दिशा र गति दिन सक्ने इभेन्टको रुपमा लिएको छ ।यो प्रतियोगिता एफआईभीबी र्याङ्किङ प्रतियोगितासमेत भएकाले नेपाली टिमको र्याङ्किङको विषय पनि यसमा जोडिएको छ ।
आयोजक राष्ट्र भएकोले र्याङ्किङ प्रतियोगितामा नेपालले एफआइभिबी वरियतामा समावेश हुन पाउनेछ ।नेपालको प्रदर्शनको आधारमा नेपालको वरियता निर्धारण हुनेछ ।
नेपालले यो प्रतियोगिताको उपाधि नै जितेमा नेपालको बरियता निकै राम्रो हुने भलिबल सङ्घको दाबी छ । नेपाल विश्व वरियतामा महिलातर्फ शीर्ष ६० भित्र पर्न सक्छ ।
कुनै समय नेपाल ८६औँ स्थानमा थियो । तर नियमित अन्तर्राष्ट्रिय वरियता मान्यता प्राप्त प्रतियोगिता नखेल्दा नेपाल हाल वर्गीकरणमा परेको छैन् । सन् २०२३ मा चीनमा भएको १९औँ एसियन गेम्स खेलेको नेपाल त्यहाँ ११औँ भएको थियो । यदि यो प्रतियोगिता जित्ने हो भने एसियामा पनि नेपालको वरीयता राम्रो हुनेछ र कम्तीमा शीर्ष २० भित्र नै समावेश हुनेमा भलिबल संघका पदाधिकारीहरु ढुक्क छन् ।
काभा महिला भलिबल च्याम्पियनसिपमा सेन्ट्रल एसियाका सबैभन्दा बलिया टिमहरू इरान र काजाकिस्तान जस्ता टिम पनि छन् । नेपाल रहेको समूहमा भने छिमेकी भारत र किर्गिस्तान छन् ।
नेपालले घरेलु कोर्टमा उपाधि जितेमा वरीयतामा समावेश हुनुका साथै एसियन लेभलमा पनि खेल्ने मौका पाउने छ । नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र चन्दको भनाइअनुसार नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेमा महिला एसियन कप खेल्न पाउनेछ । अहिले एसियन भलिबल कन्फेडेरेसनले एसियन स्तरमा विभिन्न प्रतियोगिता गर्दै आएको छ । त्यसमध्ये एसियन कपमा नेपाल छनोट हुन सके त्यसबाहेक अन्य एसियन लेभलका प्रतियोगिताका लागि पनि नेपालको ढोका खुल्नेछ ।
नेपाली महिला टोलीले अहिलेसम्म एसियन महिला भलिबल च्याम्पियनसिप खेल्न पाएको छैन । एकपटक फिलिपिन्समा हुने च्याम्पियनसिप खेल्ने तय भए पनि कोभिड महामारीको असरले गर्दा नेपालले त्यो अवसर पनि गुमाएको थियो ।
नेपालका लागि घरेलु कोर्टमा उत्कृष्ट प्रदर्शन गर्दै काभाको उत्कृष्ट टोली बन्ने अवसर पनि छ । साथै यसअघि पछिल्ला दुई काभाका प्रतियोगितामा घरेलु मैदानमा उपाधि जित्न नपाएको पीडा पनि नेपालसँग छ । यदि नेपालले उपाधि जितेमा त्यो पीडालाई पनि भुलाउने अवसर हुनेछ ।
सन् २०२३ मा काठमाडौँमै भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको थियो । यस्तै सन् २०२४ मा काठमाडौँमा भएको काभा महिला भलिबल नेसन्स कपमा नेपाल फाइनल पुगेको थियो, तर भारतसँग पराजित हुँदै उपविजेता बन्यो । त्यस संस्करणमा नेपालले भारतलाई लिग चरणमा पराजित गर्दै इतिहास रचेको थियो । तर फाइनलमा नेपालले त्यो लय दोहोर्याउन सकेन र भारतले नेपाललाई हराएर उपाधि जित्यो ।
भारत र नेपाल अहिले चिरपरिचित प्रतिद्वन्द्वी जस्तै भइसकेका छन् र नेपालमा पनि यी दुई टोलीले धेरै खेल खेलिसकेका छन् । यसपटक नेपालले समूहको पहिलो खेलमै शुक्रबार भारतसँग खेल्ने तय छ । पहिलो खेलमै भारतलाई पराजित गर्न सके नेपाली टोलीको मनोबल अझै उच्च हुनेछ र आउने खेलमा फाइदा पुग्नेछ ।
यस प्रतियोगितामा नेपालको कप्तानी आउटसाइड हिटर निरुता ठगुन्नाले गर्दै छिन् । संघले उनको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरिसकेको छ । जसमा ६ नयाँ खेलाडीले राष्ट्रिय टिममा जोडिन पाएका छन् । यस्तै रिमा कुँवरले पनि राष्ट्रिय टिममा पुनरागमन गरेकी छन् । ८ खेलाडीसँग अन्तर्राष्ट्रिय खेलको अनुभव छ ।








