Prakash Adhikari May 22, 2026

काठमाडौं, ८ जेठ ।आजदेखि राजधानीमा मध्य एशिया भलिबल संघ(काभा) को महिला च्याम्पियनसिप सुरु हुँदै छ ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार उद्घाटन समारोह अगाडि इरान र बङ्गलादेश बीच खेल हुने भएको छ ।

उद्घाटन समारोह पछि नेपाल र भारतबीचको खेल दिउँसो ३ः३० मा हुने तालिका रहेको छ।

यस्तै दिनको तेस्रो खेलमा किर्गिस्तान र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ।

८ राष्ट्र सम्मिलित यो प्रतियोगितामा आयोजक नेपाल लामो समयदेखिको प्रतिस्पर्धी भारतसँगै किर्गिजस्तान र माल्दिभ्ससँग ग्रुप ‘ए’ मा रहेको छ। ग्रुप बीमा श्रीलंका, बङ्गलादेश, इरान र काजकिस्तान रहेका छन्।

यस पटकको काभा महिला भलिबल च्याम्पियनसिपमा घरेलु टोली नेपालसहित ८ राष्ट्र उपाधिका लागि प्रतिस्पर्धामा उत्रँदैछन्। घरेलु समर्थकको साथ, अनुभवी र युवा खेलाडीको मिश्रण तथा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बढेको आत्मविश्वासका कारण नेपाल यसपटक उपाधि जित्नेमा विश्वस्त देखिएको छ ।

बिहीबार आयोजित प्रि–म्याच पत्रकार सम्मेलनमा निरुता ठगुन्नाले घरेलु कोर्टमा खेल्दा दर्शकको साथ टोलीका लागि ठूलो ऊर्जा बन्ने बताइन्।

पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरिरहेकी निरुताले टोलीमा अनुभवी र युवा खेलाडीबीच राम्रो समन्वय रहेको उल्लेख गर्दै नेपाल राम्रो प्रदर्शनका लागि तयार रहेको बताइन्।

उनले भनिन्, ‘घरेलु दर्शकको साथले खेलाडीलाई थप हौसला दिन्छ। हाम्रो तयारी राम्रो छ र हामी प्रतियोगितामा सकारात्मक सुरुआत गर्ने लक्ष्यमा छौँ।’

यस्तै, साविक विजेता भारतकी कप्तान नन्दनाले छोटो तयारी भए पनि टोली उपाधि रक्षा गर्ने लक्ष्यसहित काठमाडौं आएको बताइन्। उनले दक्षिण एसियाली टोलीहरूबीच प्रतिस्पर्धा पछिल्ला वर्षहरूमा झनै कडा बन्दै गएको उल्लेख गरिन्।

काजखस्तानकी कप्तान नतालियाले पनि सीमित तयारीका बाबजुद आफ्नो टोली उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने बताइन्।

आयोजक राष्ट्र भएकोले र्‍याङ्किङ प्रतियोगितामा नेपालले एफआइभिबी वरियतामा समावेश हुन पाउनेछ ।नेपालको प्रदर्शनको आधारमा नेपालको वरियता निर्धारण हुनेछ ।

नेपालले यो प्रतियोगिताको उपाधि नै जितेमा नेपालको बरियता निकै राम्रो हुने भलिबल सङ्घको दाबी छ । नेपाल विश्व वरियतामा महिलातर्फ शीर्ष ६० भित्र पर्न सक्छ ।

कुनै समय नेपाल ८६औँ स्थानमा थियो । तर नियमित अन्तर्राष्ट्रिय वरियता मान्यता प्राप्त प्रतियोगिता नखेल्दा नेपाल हाल वर्गीकरणमा परेको छैन् । सन् २०२३ मा चीनमा भएको १९औँ एसियन गेम्स खेलेको नेपाल त्यहाँ ११औँ भएको थियो । यदि यो प्रतियोगिता जित्ने हो भने एसियामा पनि नेपालको वरीयता राम्रो हुनेछ र कम्तीमा शीर्ष २० भित्र नै समावेश हुनेमा भलिबल संघका पदाधिकारीहरु ढुक्क छन् ।

नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्र चन्दको भनाइअनुसार नेपालले काभा महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेमा महिला एसियन कप खेल्न पाउनेछ । अहिले एसियन भलिबल कन्फेडेरेसनले एसियन स्तरमा विभिन्न प्रतियोगिता गर्दै आएको छ । त्यसमध्ये एसियन कपमा नेपाल छनोट हुन सके त्यसबाहेक अन्य एसियन लेभलका प्रतियोगिताका लागि पनि नेपालको ढोका खुल्नेछ ।

नेपाली महिला टोलीले अहिलेसम्म एसियन महिला भलिबल च्याम्पियनसिप खेल्न पाएको छैन । एकपटक फिलिपिन्समा हुने च्याम्पियनसिप खेल्ने तय भए पनि कोभिड महामारीको असरले गर्दा नेपालले त्यो अवसर पनि गुमाएको थियो ।

नेपालका लागि घरेलु कोर्टमा उत्कृष्ट प्रदर्शन गर्दै काभाको उत्कृष्ट टोली बन्ने अवसर पनि छ । साथै यसअघि पछिल्ला दुई काभाका प्रतियोगितामा घरेलु मैदानमा उपाधि जित्न नपाएको पीडा पनि नेपालसँग छ । यदि नेपालले उपाधि जितेमा त्यो पीडा बिर्सने अवसर बन्ने छ ।

सन् २०२३ मा काठमाडौँमै भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल तेस्रो भएको थियो । यस्तै सन् २०२४ मा काठमाडौँमा भएको काभा महिला भलिबल नेसन्स कपमा नेपाल फाइनल पुगेको थियो, तर भारतसँग पराजित हुँदै उपविजेता बन्यो । त्यस संस्करणमा नेपालले भारतलाई लिग चरणमा पराजित गर्दै इतिहास रचेको थियो । तर फाइनलमा नेपालले त्यो लय दोहोर्‍याउन सकेन र भारतले नेपाललाई हराएर उपाधि जित्यो ।

Share Now