Prakash Adhikari May 22, 2026

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज (शुक्रबार) विश्वासको मत लिने तयारी गर्नुभएको छ ।

सरकारलाई समर्थन गर्दै आएको जनता समाजवादी पार्टीले सरकारलाई साथ दिने संकेत नदिएपछि बिहिबार मुख्यमन्त्री यादवले सो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई बर्खास्त गरेर नेकपा एमालेका मोहम्मद समिरलाई बिनाविभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी गराउनुभएको छ।

नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवका अनुसार एमालेबाट थप ३ जना मन्त्री सरकारमा सहभागी हुने तयारी छ । एमालेले चारवटा मन्त्रालय पाउने सहमति भएको छ।

पुनर्गठन प्रक्रिया अघि बढ्नुअघि सरकारमा सहभागी जनमत पार्टीका दुई मन्त्रीले आफ्नो पदबाट राजीनामा दिनुभएको थियो।

सीके राउत नेतृत्वको जनमत पार्टीबाट अर्थमन्त्री बन्नुभएका महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएपछि मन्त्रिपरिषद् हेरफेरको ढोका खुलेको थियो।

जनमतका मन्त्रीहरूको बहिर्गमनलगत्तै मुख्यमन्त्री यादवले एमालेका प्रादेशिक सांसद मोहम्मद समिरलाई विना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो। नयाँ राजनीतिक सन्तुलन मिलाउने प्रयासस्वरूप मुख्यमन्त्रीले सरकारमा रहेका जसपा नेपालका तीन मन्त्रीहरूलाई भने पदमुक्त (बर्खास्त) गर्नुभयो।

मन्त्रिपरिषद् पुनर्गठनपछि हाल मधेस प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन रहेका छन्। नयाँ राजनीतिक समीकरण अनुसार मन्त्रालयहरूको जिम्मेवारीमा थप बाँडफाँड र परिमार्जन हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।

मधेस प्रदेशसभामा जसपा नेपालका २६, नेकपा एमालेका २४, नेपाली कांग्रेसका २२, नेकपा (माओवादी केन्द्र) का १३, जनमत पार्टीका १२, तथा राप्रपा र नेपाल संघीय समाजवादी पार्टीका १–१ जना सदस्य छन्।

कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) गरी ६० र जसपा नेपालको समर्थनसमेत जोड्दा मुख्यमन्त्री यादवले करिब ८६ सांसदको विश्वासको मत पाउने देखिन्छ।

 

सत्ता गठबन्धनभित्र चुलिएको असन्तुष्टि र समीकरण परिवर्तनका कारण मुख्यमन्त्री यादवले यो कदम चालेका हुन्।

Share Now