Prakash Adhikari May 25, 2026

तेहरान, ११ जेठ (रासस/सिन्ह्वा) ः अमेरिकी राष्ट्रपति कार्यालयले इरानसँग भइरहेको सम्भावित सम्झौताबारे अन्तिम निर्णय आउन अझै केही दिन लाग्न सक्ने जनाएको छ । आइतबार सार्वजनिक एक अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टअनुसार, उक्त सम्झौताले इरानको नेतृत्व तहबाट औपचारिक स्वीकृति प्राप्त गर्न केही समय लिन सक्ने बताइएको हो ।

रिपोर्टमा उद्धृत एक वरिष्ठ अमेरिकी अधिकारीका अनुसार दुवै पक्षबीच सकारात्मक प्रगति भइरहेको छ र केही दिनभित्र सम्झौता सम्पन्न हुन सक्ने अपेक्षा गरिएको छ । यद्यपि, सम्झौता अझै अन्तिम चरणमा रहेकाले सबै प्रक्रिया पूरा भएपछि मात्र औपचारिक घोषणा गरिने जनाइएको छ ।
यस सम्भावित सम्झौताले क्षेत्रीय शान्ति तथा आणविक कार्यक्रमसम्बन्धी चासोलाई सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । यद्यपि, यस विषयमा विस्तृत सहमति सार्वजनिक भइसकेको छैन ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्ना प्रतिनिधिहरूलाई वार्तामा धैर्यता र सावधानी अपनाउन सुझाव दिएको बताउनुभयो । उहाँले दुवै पक्षले पर्याप्त समय लिएर सोचविचारपूर्वक उचित निर्णयमा पुग्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

सम्झौता आजै पनि हुन सक्छ
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँगको युद्ध अन्त्यतर्फ लक्षित सम्झौता अझै पनि सोमबार सम्भव रहेको सङ्केत दिँदै वार्ताबाट सकारात्मक परिणाम निस्किन सक्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सम्भावित सहमतिले क्षेत्रीय सामुद्रिक मार्ग खुला राख्ने तथा खाडी क्षेत्रमा स्थायित्व कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा पनि राख्नुभयो ।
भारत भ्रमणका क्रममा नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले सम्भावित सम्झौताबारे अपेक्षा जीवित रहेको स्पष्ट पार्नुभयो । उहाँका अनुसार अमेरिकी पक्षले आइतबार रातिसम्म कुनै प्रगति हुने अनुमान गरेको थियो, तर समय लम्बिँदैमा निष्कर्ष निकाल्न नहुने अवस्था रहेको छ ।
“हामीले हिजो रातिसम्म केही समाचार आउला भन्ने सोचेका थियौँ, सायद आज पनि आउन सक्छ, म यसलाई धेरै अर्थपूर्ण ढङ्गले हेर्दिनँ”, उहाँले भन्नुभयो ।
रुबियोले वार्ताको केन्द्रमा समुद्री मार्गहरूको सञ्चालन र सुरक्षा रहेको सङ्केत गर्दै यस विषयमा टेबलमा पर्याप्त ठोस प्रस्तावहरू रहेको बताउनुभयो । भारतीय राजधानीबाट प्रस्थानको तयारीका क्रममा उहाँले पत्रकारहरूसँग कुरा गर्दै खाडी क्षेत्रका धेरै मुलुकले प्रस्तावित पहललाई समर्थन गरेको दाबी गर्नुभयो ।
उहाँका अनुसार अमेरिका भ्रमण वा संवादका क्रममा सम्पर्कमा आएका अधिकांश देशहरूले यो पहललाई केवल व्यावहारिक मात्र नभई विश्वका लागि आवश्यक कदमका रूपमा बुझेका छन् ।
रुबियोले इरानले आणविक कार्यक्रमसम्बन्धी विषयमा गम्भीर, अर्थपूर्ण र निश्चित समयसीमाभित्र हुने वार्तामा सहभागी हुने विश्वास पनि व्यक्त गर्नुभयो । भारत भ्रमणको अर्को चरणअन्तर्गत उहाँ उत्तर भारतीय सहर आगरा पुग्ने कार्यक्रम रहेको थियो । आगरामा ताजमहल अवस्थित छ ।
रुबियोको अभिव्यक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार आफ्ना वार्ताकारहरूलाई ‘हतार नगर्न’ निर्देशन दिएपछि आएको हो । ट्रम्पको उक्त भनाइलाई सम्भावित सम्झौताबारे बढेको अपेक्षा केही संयमित बनाउने प्रयासका रूपमा हेरिएको छ ।
राष्ट्रपति ट्रम्पको वार्ता रणनीतिबारे टिप्पणी गर्दै रुबियोले उहाँ कुनै पनि हालतमा कमजोर वा असन्तुलित सम्झौतामा सहमत नहुने बताउनुभयो । “उहाँ हतारमा हुनुहुन्न, उहाँले नराम्रो सम्झौता गर्नुहुने छैन र राष्ट्रपतिले नराम्रो सम्झौता स्वीकार गर्नुहुने छैन”, रुबियोले भन्नुभयो ।
फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इस्लामिक गणतन्त्र इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वले मध्यपूर्वमा तनाव चुलिएको थियो । त्यसको प्रत्युत्तरमा इरानले क्षेत्रका विभिन्न भागमा मिसाइल र ड्रोन आक्रमण गरेको थियो । त्यसयता वासिङ्टन र तेहरान अप्रिल ८ देखि युद्धविरामको पालनामा रहेको जनाइएको छ ।
क्षेत्रीय सुरक्षाबारे आफ्नो धारणा राख्दै रुबियोले इजरायललाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार सधैँ रहने बताउनुभयो । उहाँका अनुसार यदि हिजबुल्लाहले क्षेप्यास्त्र प्रहार गर्ने वा त्यस्तो आक्रमणको तयारी गर्ने अवस्था सिर्जना हुन्छ भने इजरायलसँग त्यसको प्रतिकार गर्ने वा सम्भावित आक्रमण रोक्ने अधिकार रहन्छ ।
“इजरायललाई सधैँ आफ्नो रक्षा गर्ने अधिकार छ”, उहाँले भन्नुभयो, “यदि हिजबुल्लाहले क्षेप्यास्त्र प्रहार गर्न लागेको छ भने इजरायललाई जवाफ दिने वा त्यसलाई रोक्ने पूर्ण अधिकार हुन्छ र यो कुरा युद्धविरामको अवधिमा पनि बुझिएको विषय हो ।”
–––

साथै, अमेरिकाले इरानका बन्दरगाहहरूमाथि लागू गरेको नाकाबन्दी सम्झौता औपचारिक रूपमा स्वीकृत, प्रमाणित र हस्ताक्षर नभएसम्म यथावत् रहने जानकारी पनि दिइएको छ ।

Share Now