Prakash Adhikari May 28, 2026

 

काठमाडौं, १४ जेठ । नेपाली महिला क्रिकेट टोली एसियाली खेलकुद महिला क्रिकेट छनोटको सेमिफाइनलमा पुगेको छ। आज इण्डोनेसियालाई ४ विकेटले पराजित गरेसंगै नेपाली टोली अन्तिम चारमा पुगेको हो।

यस अगाडि हिजोको खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको थियो । लगातार दुई जित निकालेको नेपाल समूह बीको विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

आजको खेलमा टस जितेको इण्डोनेसियाले दिएको १ सय १४ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।

नेपालले सुरुवात राम्रो गर्न सकेन । ओपनर सम्झना खड्का १ रनमा, पूजा महतो ९ रनमा र रुबी पोद्दार रनको खाता नखोली आउट भए। २० रन जोड्दा नेपालले ३ विकेट गुमाइसकेको थियो।

त्यसपछि कप्तान इन्दुले सुझबुझपूर्ण ब्याटिङ गरिन्। उनले ४३ बल खेल्दै ५ चौका सहित अविजित ४२ रन जोडेर नेपाललाई जिततर्फ डोर्याइन्।खेलमा कविता कुँवरले १४ रन बनाइन भने सीता राना मगर १३ रनमा अविजित रहिन्।

नेपाललाई रोक्ने क्रममा बलिङमा नी मेडे र नी एरियानीले समान २।२ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनायो। इण्डोनेसियाका लागि ओपनर काडेक विनमडा गोल्डेन डक आउट हुँदा अर्की ओपनर राहावटी पाङगेस्टुटी १ रनमा आउट भइन् । त्यसपछि ब्याटिड.मा आएका नी लु डिवी र नी पुटु आयुले तेस्रो विकेटको लागि ६५ रनको साझेदारी गर्दै इनिङ्स सम्हाले। नी लु २३ रनमा एलबीडब्लु आउट भइन्। नी मेडे १३ रनमा । नी पुटु ६२ बल खेल्दै अविजित ५६ रनमा क्रिजमा रहिन्।

इण्डोनेसियालाई रोक्ने क्रममा बलिङमा मनिषा उपाध्यायले ४ ओभरमा ९ रन मात्र दिएर २ विकेट लिइन्। रिया शर्माले १ विकेट झारिन्।

लगातारको दोस्रो जितमा ४ अंक सहित सेमिफाइनलमा पुगेको नेपालले समुक ‘ए’ को उप विजेता मलेसियासँग सेमिफाइनल खेल्नेछ।

अर्को सेमिफाइनल थाइल्याण्ड र चीन भिड्नेछन्।

हङकङ र इन्डोनेसिया समूह चरणबाट बाहिरिंदा एसियन गेम्स छनोट हुन असफल रहे। अब सेमिफाइनलमा पुगेका ४ मध्ये ३ राष्ट्रले जापानमा हुने एसियन गेम्समा स्थान बनाउनेछन्।

Share Now