Prakash Adhikari May 28, 2026

काठमाडौं, १४ जेठ । नेपाली महिला राष्ट्रिय भलिबल टोली घरेलु कोर्टमा भएको काभा महिला भलिबल च्याम्पियनसिपको फाइनलमा पुग्नबाट रोकिएको‌ छ।

विजेता बन्ने आशामा रहेको नेपाली टोलीमाथि युद्धमा रहेको इरानी टोली अवरोध बन्यो । बलियो प्रतिद्वन्द्वी इरानसँग आज ३-० को सोझो सेटमा पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो। अपराजित इरान कुनै पनि सेट नगुमाई फाइनल पुग्न सफल रह्यो।

नेपाली दर्शकहरुले भरिएको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा नेपालको प्रदर्शन सोचे अनुसार भएन। पहिलो सेट केहि प्रतिस्पर्धात्मक बन्यो। जहाँ नेपाली खेलाडीहरू सर्भीसमा चुके। पहिलो सेट २५-२० ले इरानले जित्यो।

दोस्रो सेटमा नेपालको प्रदर्शन कमजोर बन्यो । इरानले खेलमा एकपक्षीय दबाब बनायो। सहजै २५-१५ ले दोस्रो सेट जित्दै इरानले २-० को स्पष्ट अग्रता बनायो।

दुई सेट गुमाएको नेपाललाई खेलमा टिक्न तेस्रो सेट जित्नुको विकल्प थिएन्।‌ तेस्रो सेटमा नेपाल झनै निरिह बन्यो। २५-११ ले तेस्रो सेट जित्दै इरान फाइनलको यात्रा तय गर्न सफल रह्यो।

नेपाल इरानसँग हारेको यो दोस्रो पटक हो। यसअघि २०२४ को काभा महिला च्यालेन्ज लिगमा लिग चरणमा नेपाल इरानसँग ३-२ ले हारेको थियो। सोही प्रतियोगितामा नेपालले सेमिफाइनलमा इरानलाई सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाएको थियो।

अब उपाधिका लागि इरानले काजकिस्तानसँग खेल्नेछ। आज भएको पहिलो सेमीफाइनल खेलमा काजकिस्तानले भारतलाई २५-२१,२५-१७ र २५-१४ ले हराएको थियो।

भोलि इरान र कजाकिस्तानबीच फाइनल खेल हुनेछ। समूह चरणमा इरानले काजकिस्तानलाई सोझो सेटमा हराएको थियो।

नेपालले भने भोलि नै भारतसंग तेस्रो स्थानको लागि खेल्ने छ ।

Share Now