काठमाडौं, १४ जेठ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तमोर नदीमा निर्माण हुन लागेको १६६ मेगावाट क्षमताको सुपर तमोर जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजना प्रवर्द्धक कम्पनी क्रिष्टल पावर डेभलपमेण्ट प्रालि र बैंकहरूबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।
ऋण सम्झौतामा कम्पनीका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्य र बैंकहरूको तर्फबाट ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाईमा ऋण लगानी गर्ने बैंकका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । कुल अनुमानित लागत रु. २५ अर्ब ४० करोड रहेकोमा ७५ प्रतिशत ऋण र २५ प्रतिशत इक्विटी(सेयर)मार्फत जुटाइने भएको छ ।
आयोजनामा ६ वटा वाणिज्य बैंकले १९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ । संझौता अनुसार ग्लोबल आइएमई बैंक लिमिटेडले रु. ५ अर्ब, सिद्धार्थ बैंक लिमिटेड र लक्ष्मी सनराईज बैंकले रु.४ ।४ अर्ब, प्रभु बैंक लिमिटेडले रु ३ अर्ब ५० करोड, कृषि विकास बैंक लिमिटेडले रु. १ अर्ब ५० करोड, नेपाल एसबीआई बैंक लिमिटेडले रु १ अर्ब ऋण लगानी गर्ने छन् । आयोजना निर्माणमा ६ अर्ब ४० करोड रुपैयाँ स्वपुँजी लगानी संस्थापक तथा अन्य लगानीकर्ताबाट जुटाइने भएको छ ।
यो आयोजना २५.५ घनमिटर प्रतिसेकेण्ड पानी उपयोग गर्ने गरी डिजाइन गरिएको छ भने यसको हेड ७६२ मिटर रहने छ । आयोजनाबाट वार्षिक ९८३.१३ गिगावाट आवर विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ ।
उत्पादित विद्युतमध्ये ३०.८५ प्रतिशत सुख्खायाममा र ६९.१५ प्रतिशत वर्षायाममा उत्पादन हुने छ । पहिलो वर्ष आयोजनाबाट करिब ५८१ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ । विद्युत खरिद बिक्री सम्झौता (पीपीए) अनुसार पहिलो ८ वर्षसम्म वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि हुने व्यवस्था रहेको छ ।
आयोजनाको संरचना अन्तर्गत नदीमा ५० मिटर लामो बाँध निर्माण गरिने छ र ६ किलोमिटर लामो एवम् ४.४४ मिटर व्यास भएको सुरुङमार्फत पानी लगिने छ ।
उत्पादित विद्युतलाई ८ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निर्माणाधीन मार्गेन सबस्टेसनमा लगेर राष्ट्रिय प्रणालीमा जोडिने छ ।
कम्पनीका अनुसार हाल आयोजनाको हेडवर्क्स, पावरहाउस तथा सर्ज टैंक क्षेत्रमा पहुँचसडक खनिएको छ । आयोजनास्थलमा अफिस, कामदार तथा कर्मचारीको बसोबासका लागि क्याम्प, सामग्री भण्डारण घर (वर्कसप), आर्मी क्याम्प तथा बंकर निर्माणको कार्य भइरहेको जनाइएको छ ।
आयोजनामा जलविद्युत् क्षेत्रमा लगानी तथा सञ्चालनको राम्रो अनुभव भएका उद्यमीहरूका साथै स्थानीय बासिन्दाको समेत लगानी रहने छ । कम्पनीका अनुसार संस्थापक लगानीकर्ताबाहेक भविष्यमा सर्वसाधारणका लागि समेत सेयरमा लगानी गर्ने अवसर प्रदान गरिने छ ।
राम्रो प्रतिफल दिन सक्ने सम्भावना बोकेको यस आयोजनाको वित्तीय सुनिश्चितता भएसँगै अब निर्माण कार्यले थप गति लिने कम्पनीले जनाएको छ ।








