कर्णाली, १५ जेठः सङ्घीय सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा कर्णालीको पूर्वाधारमा जोड दिइएको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।
कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला–गमगढी सडकको स्तरोन्नतिका लागि रु एक अर्ब बजेट विनियोजन गरिएको छ । कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मुल्सामदेखि जुम्लाको टोप्लासम्मको सुरुङ मार्गको सम्भाव्यता अध्ययन, कर्णाली करिडोरको ३१ किलोमिटर कालोपत्र र ग्राभेल गरिने अर्थमन्त्री डा वाग्लेले वक्तव्यमार्फत जानकारी दिनुभयो ।
त्यस्तै, कर्णाली करिडोरको ३१, कालीगण्डकी करिडोरको २१ र कोसी करिडोरको १५ किलोमिटर कालोपत्र गर्न रु ६ अर्ब २५ करोड बजेट विनियोजन गरिएको छ भने भेरी करिडोर स्तरोन्नतिका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने उल्लेख छ । जाजरकोट तथा रुकुमपश्चिमलगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनःनिर्माण गर्न पनि सरकारले आवश्यक बजेट विनियोजन गरेको छ ।
मध्यपहाडी (पुष्पलाल), कर्णाली राजमार्ग, भेरी करिडोर र रारा जुम्लाहुँदै शे–फोक्सुण्डोको ‘कर्णाली चतुर्भुज’ जडीबुटी, जलविद्युत््, पर्यटन र खानीजन्य क्रियाकलापले प्रश्रय पाउने व्यवस्था गरिएको छ । सरकारले मध्यपहाडी राजमार्गसँग ओलाङ्चुङ्गोला, किमाथाङ्का, तातोपानी, रसुवागढी, कोरला, हिल्साजस्ता उत्तरी पर्या–व्यापारिक गन्तव्यसँग जोड्ने लक्ष्य राखेको छ ।
चार सय १६ मेगावाटको नलगाड जलविद्युत्् आयोजनाको अध्ययन प्रक्रिया अगाडि बढाउने, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको लगानीमा ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत् आयोजना निर्माणको ठेक्का प्रक्रिया सुरु गर्ने, कर्णाली करिडोर राष्ट्रिय प्रसारण लाइन निर्माणलाई तीव्रता दिने, राष्ट्रिय ग्रीड नपुगेका कर्णालीका स्थानीय तहमा विद्युतीकरणलाई तीव्रता दिने नीति सरकारले लिएको छ ।
कर्णालीको स्वास्थ्य जोखिमलाई ध्यानमा राखेर एयर एम्बुलेन्स सञ्चालन गर्ने, कर्णाली नदीको व्यवस्थापन, कर्णाली प्रदेशमा गुणस्तरीय टेलिफोन सेवा र इन्टरनेट विस्तार गर्ने, यहाँका दुर्गमा क्षेत्रमा टेलिमेडिसिन सेवा विस्तार तथा भिडियो कन्सल्टेसनमार्फत विशेषज्ञ स्वास्थ्य सेवा सुनिश्चित गर्ने, सुर्खेतमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक पूर्वाधारण निर्माण गरिने तथा कम्तीमा दुई हजार जना अटाउने इन्डोर मल्टिप्रपोज स्टेडियम बनाउने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।
कर्णालीमा स्याउ, ओखरलगायत फलफुलको जोन सञ्चालन गर्ने र चिस्यान केन्द्र स्थापना कार्य अगाडि बढाउने, हुम्लाको हिल्सा सीमा नाकामा पशु क्वारेन्टिन स्थापना गर्ने, काँक्रेबिहार–पञ्चकोशी–रारालाई प्रादेशिक पर्यटकीय करिडोरको रुपमा प्रवद्र्धन गर्ने, उच्च पहाडी पर्या–पर्यटन पदमार्ग (डाँफे रुट) अन्तर्गत रारालाई जोड्ने, सुर्खेत विमानस्थलको विस्तार र मुगुको ताल्चा विमानस्थलको स्तरोन्नति गर्नेलगायत विषय बजेटमा समेटिएको छ ।