Prakash Adhikari May 30, 2026
गण्डकी, १५ जेठःआगामी आर्थिक बर्षको बजेटमा सरकारले गण्डकी र लुम्बिनी प्रदेशमा सडक, जलविद्युत र पर्यटन विकास तथा पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षणमा केन्द्रीत रहने गरी चयन भएका योजनामा बजेट बिनियोजन गरेको छ ।
सरकारले सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड दु्रुतमार्गका रुपमा निर्माण सुरु गर्ने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ / ८४ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै उक्त कुरा बताउनुभएको हो । उहाँले आगामी आर्थिक वर्षभित्रमा सिद्धबाबा सुरुङमार्गको काम सम्पन्न हुने बताउनुभयो ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको चारलेन सडक निर्माण शीघ्र रुपमा सम्पन्न हुने बजेटमा उल्लेख छ । मुग्लिङ–आँबुखैरेनी खण्डको निर्माण सुरु गर्ने अर्थमन्त्री डा वाग्लेले बताउनुुभयो ।

सिंचाई तर्फ लुम्बिनीका राजापुर सिँचाइ,भेरी बबई डाइभर्सन आयोजनाका लागि रु पाँच अर्ब ६३ करोड, सिक्टा सिँचाइ आयोजनाका लागि रु दुई अर्ब ५५ करोड बिनियोजन भएको छ ।

गण्डकी प्रदेशको म्याग्दीमा निर्माणाधीन कुल ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना यसैवर्ष सम्पन्न गर्ने घोषणा गरिएको छ । निर्माणका क्रममा रहेका तनहुँ जलाशययुक्त आयोजना, माथिल्लो मोदी ए, माथिल्लो मोदी, र बूढीगण्डकी जलविद्युत् आयोजनालाई विशेष संयन्त्र निर्माण गरी अगाडि बढाउने बजेटमार्फत घोषणा गरिएको छ ।

यस्तै, बाग्लुड. र रुकुमपूर्वको सीमामा रहेको ८२८ मेगावाटको उत्तरगङ्गा आयोजनाको वित्तीय व्यवस्थापन गरी निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने योजना अगाडि सारिएको छ ।

यस्तै, अमेरिकी सरकारको अनुदानमा सहयोगमा निर्माणाधीन एमसीसी परियोजना अन्तरगतको हेटौंडा–रातमाटे–लप्सीफेदी, न्यू दमौली–न्यू बुटवललगायत ४०० केभी प्रसारण लाइन निर्माण कार्यलाई तीव्रता दिने योजना अगाडि सारिएको छ ।

अन्तरदेशीय प्रसारण लाइनतर्फ बुटवल–गोरखपुर प्रसारण लाइन निर्माणलाई तीव्रता दिने योजना अगाडि सारिएको छ । लमही–लखनउ प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण सुरु गर्ने योजना बजेटमा अगाडि सारिएको छ ।

सार्वजनिक निजी साझेदारी मोडलमा धौवादी फलामी सञ्चालन गरिने
नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोटमा रहेको फलाम खानी सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गरिने भएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै हुप्सेकोटमा रहेको फलाम खानीलाई सार्वजनिक निजी साझेदारीमा मोडलमा सञ्चालन गरिने बताउनुभएको हो ।
“धौवादी फलामखानीमा रहेको सरकारको सेयर अंश घटाई सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालन गर्ने कार्य अगाडि बढाउनेछौँ”, उहाँले भन्नुभयो । सिँचाइ पूर्वाधार विकासतर्फ नवलपुर र चितवन हुँदै बग्ने नारायणी नदीमा नारायणी सिँचाइ आयोजना पुनःस्थापनाका लागि बजेट विनियोजन गरेको अर्थमन्त्री डा वाग्लेले जानकारी दिनुभयो ।
“नारायणी, गण्डक, कोशी पम्पलगायत सिँचाइ प्रणालीको मर्मतसम्भार तथा पुनःस्थापनाका लागि रु ४४ करोड विनियोजन गरेको छु”, उहाँले भन्नुभयो । सुस्तगतिमा विस्तार भइरहेको नारायणघाट-बुटवल सडकखण्ड आगामी आवमा  सम्पन्न हुने उहाँले बताउनुभयो । “पूर्वपश्चिम राजमार्गको नारायणघाट बुटवल सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–दमौली–पोखरा खण्ड शीघ्र सम्पन्न गर्नेछौँ”, उहाँले भन्नुभयो ।
नवलपुरको त्रिवेणीधाम-देवघाट, रुरु क्षेत्र-कागबेनी, मुक्तिनाथ र दामोदर कुण्डलाई एकीकृत गर्दै शालिग्राम पथ विकास गर्ने अर्थमन्त्री डा वाग्लेले जानकारी दिनुभयो ।
शालिग्राम पथ विकास गरिने
 सरकारले मुक्तिनाथ क्षेत्रलाई केन्द्रित गरेर विभिन्न परियोजना र कार्यक्रमहरुलाई प्राथमिकता दिएको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आज सार्वजनिक गर्नुभएको आर्थिक वर्ष २०८३/८४ को बजेट व्यक्तब्यमा मुस्ताङमा रहेको हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ प्राथमिकतामा परेको हो ।
“कालिगण्डकी सभ्यताको उद्गम थलोलाई तिर्थाटन र स्वच्छ उद्यम, व्यवसाय केन्द्रित गण्डकी चतुर्भुज बनाउनेछौँ,” बजेट बक्तब्यमा भनिएको छ, “त्रिवेणीधाम, देवघाट, रुरुक्षेत्र, कागबेनी, मुक्तिनाथ र दामोदरकुण्डलाई एकिकृत गर्दै शालिग्राम पथ विकास गर्नेछौँ ।”
उच्च पहाडी र हिमाली क्षेत्रमा ध्यान साधना, योग, वौद्ध, वैद्धिक पर्यटन तथा मनाङ, मुस्ताङ र म्याग्दीको हिमाली सांस्कृतिक अनुभवलाई एकिकृत गरिने बजेट बक्तब्यमा उल्लेख छ । मुस्ताङको कोरलालगायत उत्तरी पर्याब्यापारिक नाकालाई मध्य पहाडी राजमार्गसँग जोड्ने लक्ष्य राखिएको अर्थमन्त्री डा वाग्लेले घोषणा गर्नुभएको छ ।
पर्यटकीय दृष्टिले महत्वपूर्ण पहाडी क्षेत्रमा ‘हिलस्टेसन’को प्रवद्र्धन गर्न पूर्वाधार विकासमा जोड दिने, हिमाल आरोही तथा पदयात्रीको सुरक्षा र आकस्मिक उद्धारको भरपर्दो व्यवस्था मिलाउने, मुस्ताङ, मनाङलगायत उच्च हिमाली जिल्लामा रहेका २०० वर्षभन्दा पुराना कम्तीमा पनि दुई दर्जन ऐतिहासिक बौद्ध गुम्बाको संरक्षणका लागि विशेष परियोजना ल्याउने बजेटमा उल्लेख छ ।
कपिलवस्तुको तिलौराकोट, धनुषाको जनकपुरधाम र काठमाडौँको गोकर्णेश्वलरलाई विश्व सम्पदा सूचीमा समावेश गराउने कार्य अगाडि बढाउने बजेटमा उल्लेख छ । खप्तड–बडिमालिका–शुक्लाफाँटा, काँक्रेविहार–पञ्चकोशी–रारा, ठाकुरद्वारा–स्वर्गद्वारी–रूरू क्षेत्र, देवघाट–मुक्तिनाथ–तिलिचो, कालिञ्चोक–जुगल–गोसाइकुण्ड, सखडा–धनुषाधाम–गढीमाई, हलेसी–चतरा– पाथिभरा प्रादेशिक पर्यटकीय कोरिडोरको प्रवद्र्धन गरिने मन्त्री डा वाग्लेले जानकारी दिनुभयो ।
ग्रेट हिमालयन ट्रेललगायत अन्य पदमार्गलाई रणनीतिक पदमार्गका रूपमा विकास गर्ने, खप्तड–रामारोशन–बडिमालिका–बुढिनन्दा–रारा–स्वर्गद्वारी–मुक्तिनाथलाई जोड्ने गरी उच्च पहाडी पर्या–पर्यटन पदमार्ग (डाँफे रुट) को विकास गर्ने तथा अपी हिमाल, दोर्दी हिमाल, सिकलेस–कहुपुचे–मनाङ, तीनजुरे–पाथिभरा ट्रेकिङ रुट विकास गर्ने बजेटमा उल्लेख छ ।
साइकल ट्रेलका लागि उपयुक्त गण्डकी प्रदेशको मध्यपहाडमा परीक्षणका रूपमा कास्की लिपेनी–थुम्सीकोट–भाचोक–लम्तरी (प्रिन्स चाल्र्स रुट हुँदै करापुसम्म) र ब्यास– छाब्दी बाराही–बन्दीपुर– छिम्केश्वरी–लाब्दी–देवघाटरुट निर्माण गरिने छ ।
मनाङ र मुस्ताङमा रहेका दुई सय वर्षभन्दा पुराना कम्तीमा २४ ऐतिहासिक वौद्ध गुम्बाहरुको संरक्षणका लागि विशेष परियोजना सञ्चालन गरिने अर्थमन्त्री डा वाग्लेले घोषणा गर्नुभयो । गण्डकी प्रदेशको लाईफ लाइन मानिएको चीन र भारत जोड्ने कालिगण्डकी कोरिडोरको थप २१ किलोमिटर सडक कालोपत्र गरिने र म्याग्दीमा नेपाल विद्युत् प्राधिकरण मार्फत निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनालाई यसै वर्षभित्र सञ्चालनमा ल्याउने सरकारले घोषणा गरेको छ ।
तनहुँ जिल्लामा पूर्वाधार र पर्यटन  प्राथमिकतामा
सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि तनहुँ जिल्लासँग सम्बन्धित विभिन्न पूर्वाधार, ऊर्जा तथा पर्यटन प्रवर्द्धनका योजनालाई प्राथमिकतामा राखेको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा आज बजेट प्रस्तुत गर्नुहुँदै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सडक, विद्युत् प्रसारण, जलविद्युत् तथा पर्यटन क्षेत्रका महत्त्वपूर्ण योजनालाई अगाडि बढाइने घोषणा गर्नुभएको हो ।
बजेट वक्तव्यअनुसार मुग्लिन–आँबुखैरेनी सडक निर्माण सुरु गरिने भएको छ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने उक्त सडकखण्डलाई स्तरोन्नति गर्दै सुरक्षित, व्यवस्थित तथा सहज यातायात सञ्चालनका लागि निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ ।
यस खण्डमा मस्र्याङ्दी नदी पारिपट्टि गोरखा जिल्लामा कुल ४.४५६ किलोमिटर नयाँ सडक निर्माण गर्न लागिएको छ । मुग्लिनदेखि आँबुखैरेनीसम्म हालको राजमार्गको समानान्तर मुग्लिन बजारको पारिपट्टि त्रिशूली किनार (गोरखातर्फ) मस्र्याङ्दी नदीको बायाँ किनार हुँदै मस्र्याङ्दी विद्युत्गृहको पारिपट्टिसम्म थप सडकको रेखाङ्कन गरिएको जनाइएको छ ।
त्यसैगरी, राष्ट्रिय महत्वको तनहुँ जलविद्युत् आयोजनाको निर्माणलाई तीव्रता दिइने अर्थमन्त्री वाग्लेले बताउनुभयो । एक सय ४० मेगावाट क्षमताको उक्त आयोजना सम्पन्न भएपछि देशको ऊर्जा उत्पादनमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको तीनवटा प्याकेजमा काम भइरहेको छ । हालसम्म आयोजनामा ७५.५ प्रतिशत भौतिक प्रगति भएको छ ।
ऊर्जा पूर्वाधारअन्तर्गत न्यू दमौली प्रसारण लाइन निर्माणलाई समेत तीव्रता दिइने घोषणा गरिएको छ । प्रसारण लाइन विस्तारले विद्युत् आपूर्ति प्रणालीलाई थप प्रभावकारी र भरपर्दो बनाउन सहयोग पुग्ने सरकारको विश्वास छ ।
पर्यटन प्रवर्द्धनलाई लक्षित गर्दै सरकारले परीक्षणका रूपमा व्यास–छाब्दीबाराही–बन्दीपुर–छिम्केश्वरी–लाब्दी–देवघाट मार्गमा साइकल ट्रेल निर्माण गर्ने योजना अघि सारेको छ । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त रुटलाई साहसिक तथा ग्रामीण पर्यटनसँग जोड्दै नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको बताइएको छ ।
घोषित साइकल ट्रेलले तनहुँका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई एउटै रुटमार्फत जोड्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने अपेक्षा गरिएको छ । विशेषगरी बन्दीपुर, छिम्केश्वरी र देवघाटजस्ता चर्चित गन्तव्यलाई समेटिएको यस रुटले धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई एकसाथ प्रवर्द्धन गर्ने विश्वास गरिएको छ ।
स्थानीय पर्यटन व्यवसायी तथा सरोकारवालाले साइकल ट्रेल निर्माणले ग्रामीण पर्यटन, होटल व्यवसाय, स्थानीय उत्पादनको बजारीकरण तथा रोजगारी सृजनामा सकारात्मक प्रभाव पार्ने बताएका छन् ।
–––
Share Now