बेरुत(लेबनान), १९ जेठ । अमेरिकी मध्यस्थतामा इजरायल र लेबनानको सशस्त्र शक्ति भएको सिया इस्लामिक राजनीतिक दल हिज्बुल्लाहबीच एक अर्कामाथि आक्रमण रोक्ने सहमति भएको लेबनानले जनाएको छ।
अमेरिकास्थित लेबनानको दूतावासले इजरेलले लेबनानको राजधानी बेरुतमा आक्रमण रोक्ने र हिज्बुल्लाहले पनि इजरेलमाथि आक्रमण नगर्ने अमेरिकी योजना हिज्बुल्लाहले स्वीकार गरेको जनाएको छ।
इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उक्त सम्झौता भएको पुष्टि गरेका छन्। यद्यपि हिज्बुल्लाहले इजरेली नागरिकमाथि आक्रमण नरोके बेरुतमा आक्रमण जारी रहने उहाँको चेतावनी छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले नेतन्याहू र हिज्बुल्लाहका प्रतिनिधिसँग कुरा गरेको र उनीहरूले सबै गोलाबारी रोक्ने सहमति जनाएको बताउनुभएको थियो
इरानले लेबनानमा जारी इजरेली सैन्य गतिविधिले अमेरिका र इरानबीच युद्धविरामलाई खतरा पुर्याइरहेको चेतावनी दिएपछि ट्रम्पले दुवै पक्षसँग कुराकानी गर्नुभएको थियो।
इजरेली अडान र झडपका विवरण
लेबनानको दूतावासले सोमवार अबेर जारी गरेको विज्ञप्तिमा हिज्बुल्लाहले पनि इजरायलमाथि आक्रमण नगर्ने सर्तमा बेरुतको दक्षिणी क्षेत्रमा इजरायलले आक्रमण रोक्ने पारस्परिक सहमति भएको जनाएको छ। उक्त विज्ञप्तिमा सम्पूर्ण लेबनानभरि नै यो युद्धविराम लागु हुने जनाइएको छ।
तर इजरेली प्रधानमन्त्री नेतन्याहूले इजरेल डिफेन्स फोर्स आईडीएफुले योजना अनुसार दक्षिणी लेबननमा आफ्नो उपस्थिति कायम राख्ने बताउनुभएको छ।
ट्रम्पले दुवै पक्ष भिडन्त रोक्न सहमत भएको बताएपछि पनि केही स्थानमा झडपहरू भएका विवरण आएका थिए।
हिज्बुल्लाहले उत्तरी इजरायलका दुई वटा गाउँ नजिक इजरेली ट्याङ्क र सैनिकमाथि ड्रोन आक्रमण र गोलाबारी गरेको थियो। इजरायली सेनाले लेबनानबाट प्रहार गरिएका दुई वटा प्रोजेक्टलाई निष्क्रिय बनाइएको जनाएको छ। यो घटनामा मानिसहरू घाइते भएको विवरण आएको छैन।
लेबनानको सरकारी समाचार एजेन्सीले दक्षिणी क्षेत्रमा इजरायली आक्रमणहरू भएको जनाएको छ र डेब्बीन सहरमा ठूलो विस्फोट भएको बताएको छ।
इरानको चेतावनी
यसअघि इजरेली प्रधानमन्त्रीले हिज्बुल्लाहले गरेको रकेट र ड्रोन आक्रमणको जबाफमा बेरुतका दक्षिणी क्षेत्रका आतङ्कवादी निशानामा आक्रमण गर्न आदेश दिनुभएको थियो।
लगत्तै इरानी अधिकारीहरूले आक्रमण रोक्न चेतावनीहरू दिए। इरानी विदेशमन्त्री अब्बास अराग्चीले अमेरिका र इरानबीचको युद्धविराम लेबननमा उल्लङ्घन भए सबै मोर्चामा युद्धविराम उल्लङ्घन ठहर्ने चेतावनी दिनुभएको छ।
सँगसँगै इरानको तस्नीम समाचार एजेन्सीले लेबननमा इजरेलका सैन्य कारबाहीका कारण तेहरानले अमेरिकासँग भइरहेको अप्रत्यक्ष वार्ता पनि रोक्न सक्ने समाचार प्रकाशित गर्यो।
इरानको इस्लामिक रेभलूशनरी गार्ड कोर (आईआरजीसी) सम्बद्ध उक्त समाचार एजेन्सीले इरान र उसका सहयोगीहरूले लाल सागरको प्रवेश मार्ग ूबाब अल–मान्डबको जलमार्ग सहितका मोर्चाहरू सक्रिय गर्न सक्नेू उल्लेख गरेको थियो। बाब अल(मान्डब जलमार्ग लाल सागरको अरबी किनारतर्फ यमन र अफ्रिकातर्फ जिबुटी र एरेट्रियाको बीचमा अवस्थित छ। सूइज कनालमा पुग्न हिन्द महासागर र एडेनको खाडीबाट आउने पानीजहाजहरू उक्त मार्ग भएर जानुपर्छ।
त्यसपछि ट्रूथ सोशलमा पोस्ट गर्दै ट्रम्पले इरानसँगको वार्ता तीव्र गतिमा जारी रहेको र आफूले नेतन्याहू अनि हिज्बुल्लाह दुवै तर्फका प्रतिनिधिसँग कुरा गरेको उल्लेख गर्नुभयो।
“मैले इजरायलका प्रधानमन्त्री नेतन्याहूसँग निकै परिणाममुखी संवाद गरेको छु र बेरुतमा कुनै पनि सेना जाने छैनन्। बाटोमा रहेका सेना पनि फर्काइसकिएको छ”, अमेरिकी राष्ट्रपतिले ट्रूथमा लेख्नुभएको छ।
“त्यसैगरी हिज्बुल्लाहसँग पनि उच्चस्तरका प्रतिनिधिमार्फत् मेरो कुरा भएको छ। उनीहरू गोलाबारी रोक्न सहमत भएका छन्। इजरायलले उनीहरूमाथि आक्रमण गर्दैन र उनीहरूले पनि इजरायलमाथि आक्रमण नगर्ने भएका छन्।”
अमेरिकी विदेशमन्त्री मार्को रुबिओले आइतवार इजरायली प्रधानमन्त्री र लेबनानका राष्ट्रपतिसामु लेबननमा जारी तनाव कम गर्ने प्रस्ताव अघि सारेको बताउनुभएको थियो।








