Prakash Adhikari June 2, 2026

सिंगापुर, १९ जेठ । नेपालको पुरुष क्रिकेट टोली जापानमा हुने २० औं एसियन खेलकुद(एसियाड) छनोट भएको छ।

सिंगापुरमा जारी एसियाड छनोटमा आज समुह ‘ए” को खेलमा मलेसियाले चीनलाई ९ विकेटले हराएसँगै मलेसिया र नेपाल दुवै एसियन गेम्सको लागि छनोट हुन सफल भएका हुन्।

छनोटमा ७ राष्ट्रको सहभागिता छ। नेपाल रहेको ग्रुप ‘ए’ मा मलेसिया, चीन र कतार छन्। कतारले छनोटमा सहभागिता नजनाएपछि मलेसिया र नेपालले समान १ खेल जित्दै सेमिफाइनलमा स्थान बनाए। यो सँगै नेपाल एसियाडमा छनोट भएको हो।

नेपालले चीनलाई २ सय २१ रनको फराकिलो अन्तरले हराएको थियो। चीन लगातारको दोस्रो हारमा समूह चरणबाट बाहिरिएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा बिहीवार मलेसियासँग खेल्नेछ।

छनोटबाट सेमिफाइनलमा पुग्ने चार राष्ट्र एसियाली खेलकुदमा पुग्ने प्रावधान रहेको छ। समुह ‘ख’ मा हङकङ, ओमान, सिंगापुर र बहराइन रहेका छन्।

एसियाड आगामी सेप्टेम्बरमा जापानमा हुँदैछ‌।

नेपाली महिला टोली भने छनोट हुन असफल भएको थियो। महिलातर्फ शीर्ष तीनमा रहने टिम छनोट हुने प्रावधान रहेकोले नेपाली महिला टिम सेमिफाइनल पुगेर पनि तेस्रो स्थानको प्रतिस्पर्धामा पराजित भएकोले एशियाडमा छनोट हुन सकेन ।

Share Now