दुबई, २० जेठ (रासस/एपी) : इरान र संयुक्त राज्य अमेरिकाबीच बढ्दो सैन्य तनावबीच बुधबार कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन आक्रमण भएपछि व्यापारिक उडानहरू तत्कालका लागि स्थगित गरिएको छ । यस घटनामा धेरै मानिस घाइते भएका छन् र विमानस्थल संरचनामा गम्भीर क्षति पुगेको कुवेतले जनाएको छ ।
कुवेतको रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल साउद अब्दुलाजिज अल–ओतैबीका अनुसार ‘धेरै शत्रुतापूर्ण ड्रोन’ ले विमानस्थलको यात्रु भवनलाई लक्षित गरी आक्रमण गरेका थिए । आक्रमणपछि भवनमा ठूलो क्षति पुगेको र धेरै व्यक्ति घाइते भएको पुष्टि गरिएको छ । इरानसँगको युद्धका कारण अस्थायी रूपमा बन्द रहेको विमानस्थल हालै जुन १ मा मात्र पुनः सञ्चालनमा आएको थियो ।
यो आक्रमण इरान र अमेरिकाबीच पछिल्ला दिनहरूमा क्षेप्यास्त्र र ड्रोन आक्रमणहरू आदानप्रदान भइरहेको समयमा भएको हो । मङ्गलबार राति अमेरिकी सेनाले कुवेत र बहराइनमा इरानी क्षेप्यास्त्र आक्रमणको जवाफस्वरूप इरानी सैन्य संरचनामा प्रहार गरेको बताएको थियो । अमेरिकी पक्षका अनुसार कुवेततर्फ प्रक्षेपित दुई मिसाइल बीचमै नष्ट भएका थिए भने बहराइनतर्फ लक्षित क्षेप्यास्त्रहरू रोकिएका थिए ।
अमेरिकी सेन्ट्रल कमान्डले कुवेतमा अमेरिकी सेनालाई लक्षित गर्दै आएका धेरै ड्रोनहरू खसालिएको जनाएको छ । त्यसैगरी इरानको इस्लामिक रिभोलुसनरी गार्डले बहराइन र अन्य क्षेत्रमा अमेरिकी सैन्य उपस्थिति भएका स्थानलाई लक्षित गरेको दाबी गरेको छ, यद्यपि कुवेतको नाम प्रत्यक्ष रूपमा उल्लेख गरिएको छैन ।
इरानी पक्षले अमेरिकी नाकाबन्दीबीच तेल ट्याङ्करमाथि गरिएको कथित आक्रमणको प्रतिक्रियामा यी कारबाही गरिएको बताएको छ । गार्डद्वारा जारी विज्ञप्तिमा पहिले चेतावनी दिइएको भए पनि आक्रमण भएमा कडा प्रतिक्रिया दिइने बताइएको छ ।
यसैबीच अमेरिकी सेन्ट्रल कमान्डले हर्मुज जलघाँटी नजिकै इरानी सैन्य सञ्चार तथा नियन्त्रण केन्द्रमा जवाफी कारबाही गरिएको जनाएको छ । दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी राख्दा क्षेत्रीय तनाव थप चुलिएको देखिएको छ ।
यता इरानी समाचार एजेन्सीहरूले मध्यस्थकर्ताहरूसँग चलिरहेको वार्ता रोकिएको दाबी गरे पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त दाबीलाई अस्वीकार गर्दै वार्ता निरन्तर जारी रहेको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत इरानसँगको वार्ता विभिन्न चरणमा अघि बढिरहेको र अन्तिम परिणाम अझै अनिश्चित रहेको उल्लेख गर्नुभयो ।
क्षेत्रीय मध्यस्थतामा संलग्न एक अधिकारीका अनुसार इरानले हालै लेबनानमा युद्धविराम कार्यान्वयन नभएसम्म वार्ता अघि नबढाउने स्पष्ट सङ्केत दिएको थियो । तर परिस्थितिबारे आधिकारिक रूपमा कुनै स्थगन घोषणा नभएको बताइएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कङ्ग्रेसमा दिएको बयानमा वार्ताको आणविक पक्षबारे आशावादी दृष्टिकोण व्यक्त गरे पनि कुनै ठोस सम्झौता हुने ग्यारेन्टी नभएको स्पष्ट पार्नुभएको छ ।
कुवेत विमानस्थलमा भएको पछिल्लो आक्रमणले मध्यपूर्वमा चलिरहेको सैन्य तनाव अझै नियन्त्रण बाहिर जान सक्ने चिन्ता बढाएको छ । यसले नागरिक संरचना र अन्तर्राष्ट्रिय उडान सुरक्षामाथि थप दबाब सिर्जना गरेको छ ।