Prakash Adhikari June 4, 2026

काठमाडौं, २१ जेठ । बिहीबार नेपालको शेयर बजार ओरालो लागेको छ । अघिल्ला दुई उकालो चढेको शेयर बजार यस दिन भने ओरालो लागेर बन्द भएको हो।

यस दिन धितोपत्र बजार परिसूचक १३.४६ अंक घटेर २७६६.७८ विन्दुमा झरेको छ। बजार परिसूचकसंगै यस दिन कारोबार रकम पनि घटेको छ। बुधबार ५ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ५३ स्टकको १ करोड ६ लाख १७ हजार कित्ता शेयर खरिदबिक्रीबाट ४ अर्ब ७० करोड ३३ लाख २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन कालिञ्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ८५ रुपैयाँ ९० पैसा बढर ६ सय ५८ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन न्यादी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको ८.५ प्रतिशत एसबिएल डिबेञ्चर २०८४ को मूल्य सर्वाधिक १०.४८ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन एभरेष्ट बैंकको अपरिवर्तिय ऋणपत्र शीर्ष स्थानमा रहेको छ। यस दिन सो बैंकको ३४ करोड १ लाख रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। त्यस्तै, यस दिन आँखु खोला जलविद्युत कम्पनी ३२ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १८ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.७१ प्रतिशत घटेको छ। त्यस्तै, यस दिन निर्जीवन बीमा र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Share Now