विराटनगर(मोरड.),३१ जेठ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टी व्यावहारिक रूपमा फुटिसकेको टिप्पणी गर्नुभएको छ।
आइतबार विराटनगरमा आयोजित संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उहाँले कांग्रेसको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको हो।
कांग्रेस अत्यन्तै कमजोर अवस्थाबाट गुज्रिरहेको बताउँदै डा. कोइरालाले वर्तमान नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो। उहाँले प्रश्न गर्नुभयो, ‘के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ?’ डा.कोइरालाले पार्टी सुधारका लागि नेतृत्वले रुढिवादी सोच त्यागेर पहिले आफूमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो।
आफू कोइराला निवास पुग्दाको भावुक क्षण स्मरण गर्दै उहाँले भन्नुभयो, ‘आज कोइराला निवास गएँ, आँखाबाट आँसु आयो। कांग्रेस आज टुक्रिएको छ, यसलाई टुक्र्याइएको छ। अदालतले बनाएको विभाजनको रेखा गलत थियो।’
नेता डा. कोइरालाले पार्टीभित्रको आन्तरिक कलहका कारण गाउँगाउँमा कांग्रेसका कार्यकर्ता भए पनि निर्वाचनमा मत खस्न नसकेको यथार्थ औंल्याउनुभयो। उहाँले भन्नुभयो, ‘अब सबैलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने बेला आएको छ।’
डा. शशांक कोइरालाले पार्टीलाई पुनः एकताबद्ध गर्ने अभियानको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेको उल्लेख गर्दै त्यसमा आफ्नो पूर्ण साथ र समर्थन रहने संकेत गर्नुभयो। उहाँले पार्टीलाई नियोजित रुपले विभाजित गरिएकोले जनताको आकर्षणयुक्त पहिलो र बलियो पार्टी बनाउन सार्थक एकता नै अहिलेको मुख्य लक्ष्य हुनुपर्ने धारणा राख्नुभयो।








