Prakash Adhikari June 14, 2026

काठमाडौं, ३१ जेठ। राष्ट्रिय प्रजातन्त्र पार्टी त्यागेर नयाँ पार्टी गठन गर्न अग्रसर नेता डा.धवलशमशेर राणा र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं नयाँ पार्टीको नामाकरण गर्नुपूर्व नै पार्टीका विभागहरुको गठन गर्नुभएको छ।

उहाँहरूले दल निर्माणका लागि ३१ वटा विभाग गठन गरिएको बताउनुभएको छ। विभाग प्रमुखहरूलाई आइतबार काठमाडौंमा आयोतिज एक कार्यक्रममा जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

आयोजकहरुले पार्टी एकता कार्यदल, कार्यसम्पादन कार्यदल, वार्ता कार्यदल लगायतका विभाग गठन गरिएको जानकारी दिनुभएको छ । जसमा मुकुन्दश्याम गिरी, सगुनसुन्दर लावती, राजु आचार्य, धनश्वर शाही, खड्ग जिसी, ईश्वरीप्रसाद भट्टराई, केशवराज श्रेष्ठ, डा. महेन्द्रजंग शाह, दिलविकास राजभण्डारी लगायत हुनुहुन्छ।

नयाँ पार्टी गठन गर्न भन्दै २१ जेठमा राप्रपा महामन्त्री धवलशमेर राणा लगायतले पार्टी परित्याग गर्नुभएको थियो । त्यसपछि दुर्गा प्रसाईंको समूह राणाको समूहसँग मिल्ने घोषणा भएको थियो।

प्रस्तावित राष्ट्रवादी पार्टी निर्माण तथा जिम्मेवारी हस्तान्तरण कार्यक्रममा बोल्दै राणाले राप्रपाका नेताहरूद्धारा कार्यकर्तालाई अनावश्यक कारवाहीको डण्डा चलाएको बताउनुभयो । उहाँले बालेन्द्र शाह नेतृत्वमा बनेको राष्ट्रिय स्वतन्त्र पार्टीको वर्तमान सरकारले १०० दिन नपुग्दै अक्षम्य गल्तीहरू गर्दै गएको जिकिर पनि गर्नुभयो ।

Share Now