विराटनगर(मोरड.) ३१ जेठ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रजातन्त्रको लागि लडेको कांग्रेसमा निरङ्कुशता सुरु भएको बताउनुभएको छ ।
विराटनगरमा कांग्रेसको संस्थापन इतर पक्षले आयोजना गरेको एकता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। ‘कांग्रेसको जन्म लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो । तर, अहिले देशैभरि वडाका सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भएको छ । के–को निम्ति भन्दा अद्यावधिक गर्न नमानेको आधारमा हटाइयो । यो निरंकुशताको सुरुवात हो,’ कोइरालाले भन्नुभयो, ‘कांग्रेसको जन्म त्यसको लागि भएको होइन ।’
कांग्रेसले सबै शक्तिलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउँदै उहाँले त्यही दिशामा आफूहरु सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्ने बताउनुभयो । ‘कांग्रेसभित्र सहमति, सहकार्य र एकता हुनुपर्छ । एकता बिना कांग्रेस अगाडि बढ्न सक्दैन,’ कोइरालाले भन्नुभयो, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । कांग्रेस कमजोर हुँदा देशको सार्वभौमिकता र अखण्डता कमजोर हुन्छ ।’
कोइरालाले सामाजिक सञ्जालमा आएका प्रतिक्रियाको पछि नकुद्न आग्रह गर्दै उहाँले त्यो विषय सरोकारको विषय नभएको पनि बताउनुभयो । उहाँले सभापति गगन थापासँग कुरा गरेपछि ५ बुँदे प्रस्ताव लेख्नु परेको बताउनुभएको थियो । तर, उक्त प्रस्ताव पठाएको १ महिनामा पनि समाधान ननिस्किएको उहाँको भनाइ छ ।
उहाँले कांग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न नसक्ने बताउनुभयो ।
डा. शेखर इतर पक्षको सर्वमान्य !
विराटनगरमा आइतबार ‘बृहत् एकता, साझा प्रतिबद्धता’ भन्ने नाराका साथ सम्पन्न प्रदेश भेलाले पार्टीमा संस्थापन इतर समूहको सर्वमान्य नेतृत्वमा डा. शेखर कोइरालालाई स्थापित गरेको छ ।
कांग्रेस सभापति गगन थापा नेतृत्वको केन्द्रीय समितिले एकलौटी ढंगले क्रियाशील सदस्यता अद्यावधिक र १५औँ महाधिवेशनको तयारी गरिरहेको बेला संस्थापन इतर पक्षमा रहेका सबै समूहहरू (देउवा, कोइराला र सिटौला लगायत)को यो भेलाले दुई वटा सन्देश दिएको छ । पहिलो सन्देश पार्टी विभाजन हुनसक्छ र दोस्रो इतर पक्षको सर्वमान्य नेता डा. शेखर कोइराला हुनुहुन्छ ।
भेलाका अधिकांश वक्ता नेताहरूले सोही कुरालाई बल पुग्ने गरी भाषण गर्नुभएको थियो। कांग्रेस नेता बलबहादुर केसीले नामै लिएर डाक्टर शेखरलाई नेतृत्व लिएर अगाडि बढ्न आग्रह गर्नुभयो । ‘नेपाली कांग्रेसलाई मिलाएर लिएर जानुपर्छ । यसको नेतृत्व शेखर कोइरालाले लिनुभएको छ, हामीले साथ दिनुपर्छ,’ उहाँले भन्नुभयो ।
केसीले मात्रै होइन पार्टीका पूर्व महामन्त्री शशांक कोइरालाले पार्टी स्पष्ट रुपमा विभाजन भइसकेको दाबी गर्नुभयो । ‘आज कोइराला निवास गएँ, आँखाबाट आँसु आयो । तर, कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो,’ उनले भने, ‘अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ ।’ उहाँले यति मात्रै भन्नुभएन, यसको नेतृत्व अब दाजु डाक्टर शेखर कोइरालाले गर्ने कुरा पनि भन्नुभयो ।
‘पार्टी एकता भएपछि मात्रै कांग्रेसमा शक्ति आउँछ । पार्टी एकताको लागि यो भेला गर्नुपर्यो । मेरो दाइ पनि हो । शेखर दाईले पार्टी एकताको नेतृत्व गरिरहनुभएको छ । हामी उहाँको साथमा छौं,’ पूर्व महामन्त्री शशांक कोइरालाले भन्नुभयो । गगन थापाले अब पार्टी चलाउन नसक्ने उहाँको दाबी थियो । ‘यत्रो मानिसलाई बाहिर राखेर पार्टी चलाउन सक्नुहुन्छ ?,’ उहाँले गगन थापालाई प्रश्न गर्नुभयो ।
कांग्रेसका पूर्वउपसभापति समेत रहेका नेता विजयकुमार गच्छदारले शेखर कोइरालालाई पार्टीको बृहत्तर हितका लागि आफ्नो अहम् (इगो) त्याग्न र फराकिलो छाती बनाउन सुझाव दिनुभयो । ‘तपाईंहरू पनि धेरै इगोको कुरा नगर्नुस् । इगोको कुरा गर्दाखेरि मैले नेपाली कांग्रेस विभाजन भएको देखेको छु । म शेखर दाइलाई पनि सन्देश दिन चाहन्छु— तपाईंहरू आफ्नो स्वार्थभन्दा माथि उठ्नुस् । तपाईं पनि एकदम ठूलो छाती लिएर जानुस्, ठूलो छाती नलिइकन हुँदैन,’ उहाँले भन्नुभयो।
गच्छदारले गगन थापालाई विशेष महाधिवेशन र अदालती प्रक्रियाबाट राजनीतिक रूपमा सभापति भएपनि अहंकार नराख्न र अग्रजहरूबाट सिक्न आग्रह गर्नुभयो । ‘गगन थापाजी, तपाईं कांग्रेसको सभापति भइसक्नुभयो विशेष अधिवेशनबाट । सर्वोच्च अदालतबाट तपाईं वैधानिक रूपले बलियो सभापति बन्नुभएको छ । अनि सभापतिको के भूमिका हुन्छ, तपाईंलाई आउँदैन भने सिक्नुस् । कृष्ण सिटौला गुरूहरूसँग सिक्नुस्, मिनेन्द्र रिजालसँग सिक्नुस्,’ उहाँले भन्नुभयो ।
नेताहरूले डाक्टर शेखर कोइरालालाई प्रमुख अतिथि मानेर अगाडि बढ्नु भनेको इतर पक्षको नेता बनाएको सन्देश भएको बताएका छन् । निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका भीम पराजुलीले सबैले नेता मानेर एउटा सन्देश दिएको बताउनुभयो । ‘डाक्टर शेखरलाई प्रमुख अतिथि बनाएर एउटा एकताको सन्देश निद खोजिएको हो,’ उहाँले भन्नुभयो, ‘यसले नियमित महाधिवेशन पक्षधरहरू सबै समूह एक हुने संकेत गरेको छ ।’
कांग्रेस कोशी प्रदेशका महामन्त्री भुपेन्द्र राईले पनि संस्थापनको विपक्षमा रहेको सबै एक हुने संकेत गरेको बताउनुभयो । ‘हामी सबै पक्ष मिल्छौं भन्ने सन्देश हो,’ उहाँले भन्नुभयो । तरुण दलका पूर्वकेन्द्रीय सदस्य नेत्र पौडेलले अबको सर्वमान्य नेता डाक्टर शेखर कोइराला हुने दाबी गर्नुभयो । ‘यो भेलाको सन्देश के हो भन्ने कुरा स्पष्टै छ नि,’ उहाँले भन्नुभयो, ‘पूर्वउपसभापति, महामन्त्री भइसकेका सबै नेताहरूले डाक्टर शेखरलाई प्रमुख अतिथि मानेर बस्नुभएको छ । अब पनि कुनै कन्फ्युजन छ र ?’
कसले के भने ?
कार्यक्रममा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माप्रति वक्ताहरूले तितो पोखे । अधिकांशले पार्टी विभाजनको दिशामा जान लागेको भन्दै चिन्ता व्यक्त गरे । यद्यपि नेता डा. शेखर कोइरालाले भने कुनै पनि हालतमा पार्टी फुट्न नदिने बताउनुभयो । कांग्रेसले सबै शक्तिलाई एकताबद्ध गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेकाले त्यही दिशामा आफूहरू सहमति, सहकार्य र एकताका साथ अगाडि बढ्ने उहाँले बताउनुभयो ।
ुकांग्रेसभित्र सहमति, सहकार्य र एकता हुनुपर्छ । एकताबिना कांग्रेस अगाडि बढ्न सक्दैन,’ कोइरालाले भन्नुभयो, ‘कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुन्छ । कांग्रेस कमजोर हुँदा देशको सार्वभौमिकता र अखण्डता कमजोर हुन्छ ।’
पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले नेपाल तर्सनेहरूको देश भएको बताउनुभयो। ‘राष्ट्रपति नै तर्सिनुभएको छ । आन्दोलन भयो । प्रतिनिधिसभा विघटन गरिदिनुभयो, प्रधानमन्त्री नियुक्त गरिदिनुभयो । संविधानमा त्यो कल्पना छैन, तर हामी पनि डराएर मान्यौँ,’ उहाँले भन्नुभयो । भय मेटाउन मनदेखि खण्डित कांग्रेसले नसक्ने उहाँले बताउनुभयो ।
कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरु बरालले पार्टी विभाजनको अवस्थामा जाँदै गरेको दाबी गर्नुभयो । नेता कुन्दनराज काफ्लेले पार्टी एकतामा जोड दिनुभयो । ‘कांग्रेसमा एकता हुनुपर्छ । तर अहिले कांग्रेस चोइट्याउन खोजिँदै छ । गगन र विश्व प्रकाशले पार्टी फुटाएर जान खोजिरहेका छन्,’ काफ्लेले भन्नुभयो ।
वर्तमान केन्द्रीय सदस्य आनन्द सन्तोषी राईले कांग्रेसको एकता आफ्नो अभीष्ट भएको बताउनुभयो। ‘कांग्रेस कठिन मोडमा छ । १५औँ महाधिवेशनमा एकताबद्ध भएर अगाडि बढ्नुपर्छ,’ उहाँले भन्नुभयो । नेतृ सरिता प्रसाइँले कांगेस उपसभापति विश्वप्रकाश शर्मालाई लक्षित गर्दै पार्टी विभाजन तिर अग्रसर भएको बताउनुभयो ।
नेता उमेशजङ्ग रायमाझीले विशेष महाधिवेशनले पार्टी दुई धार भएको दाबी गर्नुभयो । उहाँले नियमित महाधिवेशन नहुँदा विशेष महाधिवेशन भएको बताउनुभयो । ‘विधान, विचार र सिद्धान्त नमानेका कारण नियमित महाधिवेशन भएन । हामी सत्तामा रमायौँ । विधान र सिद्धान्तलाई उल्लंघन गर्यौँ। त्यसैले कांग्रेस दुवै समूहले बिगारे,’ उहाँले भन्नुभयो । रायमाझीले पार्टी एकताका पहल सभापति गगन थापाले गर्नुपर्नेमा जोड दिनुभयो । कांग्रेसको पुरानो कुनै पनि नेतृत्व असफल भएको भन्दै मञ्चमा बस्ने सबैलाई पदको लोभ नगर्ने आग्रह गर्नुभयो ।
नेता रामहरि खतिवडाले सिंहदरबार मात्रै जलाएर नपुगेर षड्यन्त्रकारीहरूले कांग्रेस जलाउन लागेको दाबी गर्नुभयो । उहाँले पार्टी एकताबद्ध भएर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । नेता गोविन्द शाहीले निर्वाचन आयोगले षड्यन्त्र गरेर चारतारे झण्डा र रूख चिह्न गगनको हातमा पुगेको बताउनुभयो । भेलामा उपस्थित नेता तथा कार्यकलाईलाई इंगित गर्दै उहाँले भन्नुभयो, ‘यो समूहलाई नमिलाए प्रजातान्त्रिक शक्ति समाप्त हुनेछन् । लोकतन्त्र समाप्त हुन्छ ।’
नेता मीन विश्वकर्माले कांग्रेस बलियो नभए, व्यवस्था नरहने र व्यवस्था नरहे मुलुक नरहने दाबी गर्नुभयो । विशेष महाधिवेशनले पार्टी विभाजित भएको र ९० सिट रहेको कांग्रेस अहिले इतिहासकै कमजोर अवस्थामा पुगेको बताउनुभयो । नेता मोहन बस्नेतले काग्रेस विभाजनको संघारमा रहेको दाबी गर्नुभयो । उहाँले सभापति गगन थापालाई खलनायकको भूमिकामा रहेको आरोप लगाउनुभयो । नेता, एनपी साउदले विराटनगरको भेला एकताका लागि भएको बताउनुभयो ।








