Prakash Adhikari June 18, 2026
  • अशोक दाहाल
    बीबीसी न्यूज नेपाली

काठमाडौं, ४ आषाढ। आगामी साता पार्टी महाधिवेशनको तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी जिल्ला र प्रदेश अधिवेशनहरूमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह बालेन पक्षका नेताहरूले गुटबन्दी सुरु गरेको आरोप लागेको छ।

कोशी प्रदेशको सभापतिमा उम्मेदवारी दिएकी गोमा (सरिन) तामाङले आफू गुटबन्दीकै कारण पराजित भएको आरोप लगाउनुभएको छ। सुनसरी क्षेत्र १ मा पछिल्ला दुई निर्वाचनमा रास्वपाबाट उम्मेदवार बनेकी र यसअघि प्रदेशको कार्यवाहक सभापति समेत रहेकी तामाङ पार्टी अधिवेशनमा दुई धारबीच देखिएको गुटबन्दीबारे बोल्नुभएको हो।

तर पार्टीको निर्वाचन आयोग प्रमुख भुवन केसीले पार्टीमा शीर्ष नेताहरूको नाम गुट बनाएर प्रतिस्पर्धा गर्न रोकिएको बताएका छन्।

तीन वर्षअघि स्थापना भएको रास्वपाले आइतवारबाट चितवनको भरतपुरमा पहिलो महाधिवेशन गर्दै छ। यो महाधिवेशनमा संस्थापक सभापति रवि लामिछानेलाई चुनौती दिन कुनै नेताहरू हालसम्म अघि सरेका छैनन्।

तर वर्ष भदौमा भएको जेन जी आन्दोलनपछि फागुनको प्रतिनिधिसभामा निर्वाचन झन्डै दुईतिहाइ बहुमत ल्याएको सत्तारूढ पार्टीले अधिकांश जिल्ला र प्रदेशमा नेतृत्व छान्न निर्वाचन भएको छ।

पूर्वसञ्चारकर्मी रवि लामिछानेले गठन गरेको यो पार्टीमा फागुनको निर्वाचनअघि मात्रै बालेन प्रवेश गर्नुभएको थियो। उहाँ पार्टीको वरिष्ठ नेता हुनुहुन्छ। स्वतन्त्र उम्मेदवार बनेर काठमाण्डू महानगरको प्रमुख निर्वाचित बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने सर्तसहित रास्वपा प्रवेश गर्नुभएको थियो।

रास्वपा नेताहरूका अनुसार अधिवेशन सकिएका अधिकांश जिल्ला र प्रदेश अधिवेशनमा सभापति रवि लामिछानेसँग निकट उम्मेदवार निर्वाचित भएका छन्।

पार्टी नेता बने पनि बालेन पार्टी बैठक र अन्य कार्यक्रमहरूमा नदेखिएको टिप्पणी हुँदै आएको छ।

यसअघि उपसभामुखको निर्वाचनमा पार्टी सभापतिले राप्रपा उम्मेदवारलाई समर्थन गर्ने वाचा गरिसकेको भए पनि बालेनले श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई समर्थन गर्न बाध्य पारेको भन्ने विवरण आएको थियो।

पार्टी कार्यालयमा र केन्द्रीय समितिमा समेत खासै गरेका प्रधानमन्त्री शाहले पार्टी महाधिवेशनमा त्यति चासो नदेखाएकोउनीसँग निकट नेताहरू बताउछन्। तर कोशी प्रदेशको अधिवेशनमा प्रधानमन्त्री र पार्टी वरिष्ठ नेता रहेका बालेनको नाम लिएर उनीसँग निकटस्थ व्यक्तिहरूले उम्मेदवारको प्यानल नै बनाएको प्रदेश सभापतिमा पराजित बनेकी तामाङको आरोप छ।

“मैले नेतृत्वलाई विश्वास गरेर प्यानल बनाइनँ। तर यहाँ आएर दुईवटा गुट देखियो। एउटा वरिष्ठ नेता प्रधानमन्त्रीज्यूको प्यानल भनेर जिल्लाबाटै देखियो र अर्को सभापतिको नाम लिएर आए। त्यो हुँदा म छक्क परेँ”, तामाङले बीबीसी न्यूज नेपालीसँग भन्नुभएको छ।

कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका थिए। तामाङले पार्टी नेताहरूबाट तयार गरिएको दाबी गर्दै उम्मेदवारको एउटा सूची नै सार्वजनिक गर्नुभएको थियो । त्यसबारे आफूले पार्टीमा उजुरी गर्ने तयारी गरिरहेको बताउनुभएको छ ।

“तपाईँहरूको नाम बेचेर सङ्गठन लथालिङ्ग बनाउन खोजिएको छ। म रविजी र बालेनलाई दाजुभाइ भन्छु, दाजुभाइ सचेत नभए पार्टी समस्यामा पर्छ”, उहाँले भन्नुभयो ।

तर पार्टीले गठन गरेको निर्वाचन आयोगका प्रमुख केसी पार्टीले नेताहरूको नाममा हुने गुटबन्दी र प्यानल गठन गर्ने विषयमा आचारसंहिता नै बनाएर कडाइ गरेको बताउनुहुन्छ ।

हाम्रोमा दुईवटा पक्ष भनेर गुटबन्दी छैन। अर्को कुरा हामीले आचारसंहिता लगाए प्रचारका काममा पनि सीमा तोकेका छौँ। हाम्रोमा गुटबन्दी नभएका कारण नयाँ मान्छे आएर पनि चुनाव जितिरहनुभएको छ र आफ्नो स्थान खोज्दा आकाङ्क्षी धेरै हुनुभएको हो, उहाँ भन्नुहुन्छ।

गोरखामा गृहमन्त्री सुधन गुरुङसँग निकट र प्युठानमा सांसद सुशान्त वैदिकसँग निकट उम्मेदवार अधिवेशनमा पराजित भएको नेताहरूले बताएका छन्।

बालेनले यसअघि फागुनको निर्वाचनमा आफूसँगै रास्वपा प्रवेश गरेका निकटस्थ उम्मेदवारहरूलाई टिकट दिलाउन चाहिँ उहाँले पहल गरेको बताइन्छ।

बालेनअघि रास्वपामा राजनीतिक तथा सामाजिक अभियानबाट उदाएको विवेकशील साझा पनि समाहित भएको थियो।

नेताहरूका अनुसार केही जिल्ला र प्रदेशमा बालेननिकट भनिएका नेताहरू निर्वाचित भए पनि अधिकांश जिल्लामा पार्टी समायोजनमा आएको बालेन समूह र विवेकशील साझा पृष्ठभूमिबाट आएका नेताहरू चुनिएर आएका छैनन्।

मधेशका मतदातामा बालेनको प्रभाव व्यापक रहे पनि पार्टी सङ्गठनमा उहाँको प्रभाव कम रहेको एक नेताले नाम उल्लेख नगर्ने सर्तमा बीबीसीसँग बताउनुभएको छ।

यो प्रदेशमा चुनावअघि मात्रै रास्वपा प्रवेश गरेका अमरेशकुमार सिंहको पनि प्रभाव रहेको बताइन्छ।

पार्टी महाधिवेशनको तयारीमा जुटेको रास्वपाले मधेश प्रदेशको अधिवेशन र उक्त प्रदेशका आठमध्ये सात जिल्लाको अधिवेशन पार्टी महाधिवेशनपछि मात्रै गर्ने निर्णय गरेको निर्वाचन आयोग प्रमुख केसीले जानकारी दिनुभयो।

यो प्रदेशका अधिकांश जिल्लामा यसअघि हुने भनिएको अधिवेशन बिथोलिएको थियो।

त्यसको कारणबारे सोधिएको प्रश्नमा केसी भन्नुहुन्छ, “समायोजनको प्रक्रिया त्यहाँ टुङ्गिसकेको छैन। त्यसले गर्दा विभिन्न असमझदारीहरू पैदा भयो। त्यसलाई राम्रोसँग हेरेर मात्रै टुङ्ग्याउने भनेर हामीले स्थगित गरेका हौँ।”

“स्वतन्त्र राजनीति गरिरहनुभएका र अन्य दलबाट आउनुभएकाहरूले पनि रास्वपामा उचित स्थान दिइयोस् भन्ने कुरा गर्नुभएको छ। स्थान दिने बेलामा स्थानीय नेता प्रतिनिधिलाई पनि सही स्थान दिन सक्छौँ भन्ने प्रक्रियामा केही कमजोरी भएका कारण विवाद पनि भयो। त्यसमा केन्द्रले नै विचार पुर्‍याउनुपर्ने देखियो।”

रास्वपाले समायोजन प्रक्रियाबाट आएका नेताहरूलाई महाधिवेशनमा समेट्न जेठ १० भित्र उनीहरूको सूची बुझाउन महामन्त्री भूपदेव शाहको नेतृत्वमा एउटा समिति जिम्मेवारी दिइएको बताएको छ।

काठमाडौं महानगरपालिकामा बालेनको प्रमुख स्वकीय सचिव रहेका शाह समायोजनपछि रास्वपाको महामन्त्री बन्नुभएको थियो ।

निर्वाचन आयोग प्रमुख केसीले स्थानीय अधिवेशनहरूमा समायोजनबाट आएको समूहलाई पनि स्थान सुनिश्चित गर्दै ल्याइएको बताउनुभयो ।

“अर्को चाहिँ हाम्रो चुनाव पनि दुई चरणमा हुन्छ। पहिलो चरणमा सभापति र केन्द्रीय सदस्यहरूको हुन्छ। दोस्रो चरणमा केन्द्रीय सदस्यहरू मात्रै पदाधिकारीको उम्मेदवार बन्न पाउनुहुन्छ”, उहाँले भन्नुभयो।

यसरी निर्वाचन गर्दा समायोजन प्रक्रियाबाट आएका नेताहरू पनि पार्टी नेतृत्वमा पुग्ने थप सुनिश्चितता हुने उहाँको दाबी छ।

रास्वपा नेता मिलन लिम्बू पार्टीप्रति प्रतिबद्ध नेताहरूलाई कुनै समूहका आधारमा महाधिवेशनमा भेदभाव नगरिने बताउनुहुन्छ।

“पार्टीलाई अँगालेर आउनुभएका नयाँ नेताहरूलाई नेतृत्वमा पुर्‍याउने कुरामा कार्यकर्ताहरू पनि सकारात्मक नै हुनुहुन्छ। त्यही आधारमा चुनावमा असहयोग हुँदैन”, उहाँले भन्नुभयो।

बालेनसँगै पार्टीमा समाहित नेतालाई पार्टीमा सभापति पछिको पदाधिकारी बनाइने चर्चा हुँदै आएको छ। अहिले यो समूहबाट बालेनपछि सबैभन्दा शीर्ष भूमिका उनीसँग निकट नेता भूपदेव शाहले पाउनुभएको छ।

तर विवेकशील साझा पार्टीबाट आएका नेताहरू भने आगामी महाधिवेशन आफूहरूका लागि अस्तित्वको चिन्ताको विषय भएको बताउँछन्।

विदेशबाट पनि मतदान र विद्युतीय उपकरण

रास्वपाले ६४ वटा जिल्लामा अधिवेशन सकिएको जनाएको छ।

मधेश प्रदेशबाहेक सिन्धुपाल्चोकमा पनि अधिवेशन रोकिएको छ। बाँकी जिल्लाहरू पार्टीको सङ्गठन उल्लेख्य नभएका हिमाली क्षेत्रहरू रहेको केसीले बता।उनुभयो ।

यो महाधिवेशनमा विद्युतीय मतदान उपकरण प्रयोग गरिने पार्टी निर्वाचन आयोगले जनाएको छ।

“नेपालभन्दा बाहिर रहनुभएका साथीहरूका लागि हामीले रास्वपाको एप प्रयोग गर्दै छौँ। त्यसो गर्दा विदेशमा रहनुभएका साथीहरू सहभागी हुन सक्ने सुनिश्चित गरिएको छ”, उहाँले भन्नुभयो।

रास्वपाका प्रवास सङ्गठनबाट १७० देखि २०० जनाले एपबाट मतदान गर्ने ठानिएको केसीले बताउनुभएको छ ।

Share Now