नयाँदिल्ली(भारत),१९मंसिर । भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसको अध्यक्षमा राजीव गान्धी र सोनिया गान्धीका पुत्र राहुल गान्धी निर्विरोध निर्वाचित हुने भएका छन् ।
उम्मेदवारी मनोनयन गराउने अन्तिम समयरेखा सोमबारसम्म उनको मात्र उम्मेदवारी परेपछि राहुल अबका कांग्रेस आईका अध्यक्ष हुने निश्चित भएको हो ।
सन् १९९८ देखि अध्यक्ष रहेकी राहुलकी आमा सोनिया गान्धीले स्वास्थ्यको कारण देखाउँदै पद छोड्ने चाहना व्यक्त गरेपछि राहुललाई अगाडि सारिएको हो ।
विगत ५ वर्षदेखि उपाध्यक्ष रहेका राहुललाई सिंगो कांग्रेस आईको अग्रपंक्तिका नेताहरुको साथ रहेको छ ।
राहुलको मनोयन प्रस्ताव लिएर पूर्व प्रधानमन्त्री मनमोहन सिंह गएका थिए ।
राहुलले पनि उक्त पद सम्हाल्न आफू सक्षम रहेको तर सबै नेता र कार्यकताहरुको साथ र सहयोग चाहिने बताएका छन् ।
काँग्रेस आईको १ सय ३२ वर्षे इतिहासमा यो समय सबैभन्दा खराव लयमा चलिरहेको छ ।
तर भगवानप्रति आस्था राख्ने युवा राहुलले नरेन्द्र मोदीको एकलौटी राजलाई फेर्न नयाँ नीति लिएर आउने अनुमान धेरैको छ ।