मेक्सिको सिटी(मेक्सिको), ७ आषाढ । जापानले समूह ‘एफ’ अन्तर्गत ट्युनिसियालाई ४–० ले पराजित गर्दै लगातार चौथो पटक विश्वकपको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ।
मेक्सिकोको मोन्टेरे रंगशालामा भएको खेलमा ‘समुराई ब्लु’ का रूपमा परिचित जापानले विश्वकप इतिहासमै पहिलो पटक एकै खेलमा चार गोल गर्दै प्रभावशाली प्रदर्शन गर्यो।
यस जितसँगै जापान चार अंकसहित नेदरल्यान्ड्सको बराबरीमा पुगेको छ। यद्यपि‚ नेदरल्यान्ड्सले बढी गोल गरेको आधारमा समूहको शीर्ष स्थानमा छ।
ट्युनिसिया भने यो हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ। जापान भने कम्तीमा समूहको तेस्रो स्थान सुनिश्चित गर्न सफल भएको छ, जुन नकआउट चरण प्रवेशका लागि पर्याप्त हुन सक्छ।
पहिलो खेलमा स्विडेनसँग ५–१ को लज्जास्पद हार बेहोरेपछि ट्युनिसियाले प्रशिक्षक परिवर्तन गर्दै दुई पटक अफ्रिका कप अफ नेसन्स जितेका हेर्भे रेनार्डलाई जिम्मेवारी दिएको थियो। तर‚ उनको आगमनले पनि टोलीलाई जापानको तीव्र आक्रमण रोक्न सहयोग गर्न सकेन।
खेलको चौथो मिनेटमै डाइची कामादाले गोल गर्दै जापानलाई अग्रता दिलाए। केइटो नाकामुराको उत्कृष्ट क्रसलाई सहज रूपमा जाली चुमाउँदै उनले जापानको विश्वकप इतिहासकै सबैभन्दा छिटो गोलको कीर्तिमान बनाए।
३१औं मिनेटमा आयासे उएडाले मध्यम क्षेत्रबाट बल अघि बढाउँदै शानदार लामो दूरीको प्रहार गरे। बाहिरबाट हानेको उनको कोणीय प्रहार गोलपोस्टको बायाँ कुनामा प्रवेश गर्दै जापानको अग्रता २–० मा पुर्यायो।
फेयनोर्डका स्ट्राइकर उएडाले यस सिजन डच लिग एरेडिभिसीमा २४ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भएका थिए। ६९औं मिनेटमा उएडाको उत्कृष्ट फ्लिक पासमा जुन्या इटो एक्लै गोलकिपरसामु पुगे र शान्त रूपमा बललाई जाली चुमाउँदै जापानको तेस्रो गोल गरे।
८३औं मिनेटमा उएडाले आकर्षक हेडरमार्फत आफ्नो दोस्रो तथा टोलीको चौथो गोल गर्दै जापानको सानदार जित सुनिश्चित गरे। सन् २०१९ यता ९० मिनेटभित्र कुनै पनि युरोपेली टोलीसँग पराजित नभएको जापानले अब बिहीबार डलासमा स्विडेनसँग खेल्नेछ। त्यही समयमा ट्युनिसियाले क्यान्सस सिटीमा नेदरल्यान्ड्सको सामना गर्नेछ।








