Prakash Adhikari June 21, 2026

भरतपुर(चितवन), ७ आषाढ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को चितवन भरतपुरमा भइरहेको पहिलो महाधिवेशनमा शुभकामना दिन पुगेका राजनीतिक दलका नेताहरुले दुई तिहाईको दम्भ त्याग्न र विधिको शासन चलाउन सो दलका नेताहरुलाई सचेत गराएका छन् ।

स्वपाको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसका सभापति गगन थापाले रास्वपाको जनमत स्थिरताका लागि सही ढङ्गले अघि बढोस्ू भन्दै सो दललाई पार्टी आफ्नो प्रतिस्पर्धीको रुपमा हेरेको दुश्मनको रुपमा हेरेको छैन भन्नुभयो ।

उहाँले इतिहासमा दुई तिहाईको जनमत पाएका दलहरूले आफूलाई सम्हाल्न नसक्दा दलको मात्र नभएर पुस्तौँ पुस्ताको भविष्य खेर गएको बताउनुभयो।

“गल्ती गरेका बेला आफ्नै नेतालाई पनि प्रश्न गर्ने साहस गर्नुहोला, हामीले ढिलो गर्‍यौँ र त्यसको सजाय पनि भोगिसक्यौँ “, सभापति थापाले भन्नुभयो, “जहाँ विधि मिचिन्छ, त्यहाँ नेपाली कांग्रेस तपाईँलाई प्रश्न गरेको पाउनुहुन्छ।”

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले महाधिवेशनको सफलताको शुभकामना दिंदै रास्वपा आन्दोलनलाई सङ्गठनमा रूपान्तरण गर्ने टर्निङ प्वइन्टमा रहेको बताउनुभयो ।

“चुनाव, सरकार या लोकतन्त्रहरू मुलत साधनहरु हुन। साध्य चाहीँ जनताको श्रीवृद्धि र राष्ट्रको समृद्धि हो। तपाईँहरूको काँधमा जुन एउटा असिम जनमत छ त्यो ठिक ढङ्गले सदुपयोग भएन भने त्यसले निम्त्याउन सक्ने जोखिम उत्तिकै भयावह हुन्छ भन्ने पाइला(पाइलामा हेक्का राख्नुपर्छ भन्न चाहन्छु”, ज्ञवालीले भन्नुभयो।

उहाँले रास्वपाकै बाचापत्रसँग मेल नखानेगरी उनीहरूका केही प्रारम्भिक गतिविधिले केही प्रश्न सिर्जना गरेको भन्दै नेपाललाई केन्द्रमा राखेर काम गर्न सुझाव दिनुभयो।

“यदि न्यायालयहरू कमजोर भए, राष्ट्रपति संस्था कमजोर भयो, यदि संसद कमजोर भयो, आलोचनाका स्वरहरू कमजोर भए, यदि जनताका स्वरहरूलाई कमजोर पार्ने प्रवृत्ति देखियो भने, पारदर्शीता होइन, अपारदर्शितातिर गइयो भने स्वाभाविक छ, त्यो जनमत सधैभरि नरहन पनि सक्छ।”

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले विशाल जनमतसहित आएको रास्वपाको महाधिवेशनका नतिजाले समग्र राष्ट्रिय जीवनलाई अर्थ राख्ने भन्दै सबैले चासोपूर्वक हेरेको बताउनुभयो।

“थिति बसाउन चालिएका कदमहरू विधिसम्मत र संविधानभन्दा बाहिर नहोस् भन्नेमा तपाईँहरूको पर्याप्त ध्यान पुग्ने नै छ भन्ने हाम्रो विश्वास छ”उहाँले भन्नुभयो।

“लोकतन्त्रमा शक्ति जनताले दिन्छन्, आवश्यक परे फिर्ता पनि लिन्छन्।।। राजनीतिमा बहुमतले विनम्रता सिक्नुपर्छ, अल्पमतले धैर्यता।”, उहाँले थप्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा_का अध्यक्ष राजेन्द्र लिङदेनले कुनै पार्टी वा व्यक्तिको जीवनमा आउने दुर्लभ अवसर यसपटक रास्वपा र त्यसको नेतृत्वले पाएको बताउनुभयो।

उहाँले संविधानमा पनि समस्या रहेको भन्दै थप्नुभयो, “आज जनता राजनीतिक दल, दर्शन र सीमाभन्दा एक कदम पर सरेर निर्णय गर्न सक्षम भएको छ, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ। बालेनले राजा ल्याउँछ भनेर तपाईँलाई भोट दिएका छन्। तपाईँहरूको विशिष्ट जिम्मेवारी छ।”

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको आर्थिक विकास र समृद्धिका लागि सुशासन र सामाजिक न्याय महत्त्वपूर्ण रहेको भन्दै महाधिवेशनले ऐतिहासिक निर्णयहरू गर्न शुभकामना दिनुभयो।

उहाँले थप्नुभयो, “नयाँ युगमा, नयाँ परिवर्तित सन्दर्भमा नयाँ युवाहरू नेतृत्वमा आउनुभएको छ।।।हामी सहकार्य गरेर अगाडी बढ्ने नै छौँ।”

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले रास्वपाको जनमतलाई पूरा कार्यकाल काम गर्ने र दलभित्र एकबद्ध भएर काम गर्ने शुभकामना दिनुभयो।

जनमत पार्टीका अध्यक्ष सीके राउतले आफू प्रतिस्पर्धी नभईकन सहयात्रीका रूपमा शुभकामना दिन आएको बताउनुभयो।

“जुन आन्दोलनबाट उदय हुनुभएको छ, सहिदहरूको सपनाको आशा कहिल्यै नबिर्सनु होला”,उहाँले भन्नुभयो,”यो दुई तिहाइ नजिककोे बहुमत भनेको जिम्मेवारी हो‘यदि हामी बाचा पुरा गर्न चुक्यौँ भने जनता र हावामा धेरै समानता छ। यो कसैको पनि हुँदैन।”

Share Now