Prakash Adhikari June 22, 2026

लस एन्जल्स(संयुक्त राज्य अमेरिका), ८ आषाढ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’को खेलमा बेल्जियम र इरानले गोलरहित बराबरी खेलेका छन्।

लस एन्जलसमा आइतबार राति भएको खेलमा बेल्जियमले धेरै अवसर सिर्जना गरे पनि गोल गर्न सकेन।

बेल्जियमले खेलभर २३ पटक गोलका लागि प्रहार गरेको थियो। तर इरानका गोलरक्षक अलिरेजा बेइरानभन्दले उत्कृष्ट प्रदर्शन गर्दै सबै प्रयास विफल बनाए।

खेलको ६६औँ मिनेटमा बेल्जियमका डिफेन्डर नाथन न्गोय रातो कार्ड पाएपछि टोली १० खेलाडीमा सीमित भएको थियो। त्यसपछि पनि बेल्जियमले गोल गर्ने केही अवसर बनायो, तर सफलता हात पार्न सकेन।

इरानले २५औँ मिनेटमा मेहदी तारेमीमार्फत गोल गरेको थियो। तर भिएआर जाँचपछि उक्त गोल अफसाइड ठहर गरियो।

यो नतिजासँगै बेल्जियमले विश्वकपमा लगातार दोस्रो खेल बराबरी खेलेको छ। समूह ‘जी’मा बेल्जियम र इरान दुवैको समान २ अंक भएको छ।

बेल्जियमका अनुभवी खेलाडी केभिन डे ब्रुइने र रोमेलु लुकाकुबाट ठूलो अपेक्षा गरिए पनि उनीहरूले प्रभावशाली प्रदर्शन गर्न सकेनन्। विशेषगरी लुकाकुले पाएका अवसर सदुपयोग गर्न नसक्दा टोलीले महत्वपूर्ण २ अंक गुमायो।

सन् २०१८ मा विश्वकपको सेमिफाइनल पुगेको बेल्जियम अहिले भने समूह चरणबाटै बाहिरिने खतरा सामना गरिरहेको छ। अन्तिम समूह खेलमा न्यूजिल्यान्डलाई हराउन सके बेल्जियम नकआउट चरणमा पुग्न सक्छ। अन्य कुनै नतिजाले भने उसको भविष्य अनिश्चित बन्नेछ।

इरानका लागि भने यो बराबरी ऐतिहासिक बनेको छ। विश्वकप इतिहासमा पहिलो पटक इरानले सुरुआती दुई खेलमा हार बेहोरेको छैन।

इरानका गोलरक्षक अलिरेजा बेइरानभन्द प्लेयर अफ दि म्याच घोषित भए। उनले गरेका महत्वपूर्ण बचाउले इरानलाई १ अंक दिलाउन ठूलो भूमिका खेले।

Share Now