Prakash Adhikari June 25, 2026

 

काठमाडौं, ११ आषाढ । नेपाल विद्युत् प्राधिकरणले वर्षायामको सुरुवातसँगै नेपालमा बढी भएको विद्युत् छिमेकी देशहरू भारत र बंगलादेशमा औपचारिक रूपमा बिक्री गर्न थालेको छ।

हिउँ पग्लनथालेपछि नदीहरूमा पानीको बहाव बढेसँगै आन्तरिक माग पूरा गरेर बचेको ऊर्जालाई प्राधिकरणले छिमेकी मुलुकका बजारहरूमा निर्यात गर्न थालेको हो। हाल प्राधिकरणले दैनिक रूपमा औसत ६ सय ५० मेगावाटसम्म बिजुली निर्यात गरिरहेको छ।

बिहीबार मात्रै प्राधिकरणले अन्तर्राष्ट्रिय बजारमा ६ सय २० मेगावाट बिजुली निर्यात गरेको विवरण सार्वजनिक गरेको छ। नेपालको आन्तरिक उत्पादन क्षमता र दैनिक मागको अवस्था अनुसार निर्यात गरिने यो परिमाण दिनप्रतिदिन घटबढ हुने गर्दछ।

विद्युत् निर्यातको मोडालिटी र हालको अवस्था

प्राधिकरणले हाल दुई छिमेकी देशमा फरक–फरक मोडालिटी अन्तर्गत बिजुली निर्यात गरिरहेको छ। जसमध्ये बंगलादेशतर्फ निश्चित अवधिका लागि ४० मेगावाट बिजुली नियमित रूपमा निर्यात भइरहेको छ भने बाँकी ठूलो परिमाण भारतीय बजारमा खपत भइरहेको छ।

 

भारतीय बजारमा बिजुली बिक्रीका लागि प्राधिकरणले इन्डियन इनर्जी एक्सचेन्जको डे–अहेड र रियल–टाइम मार्केटका साथै विभिन्न राज्यहरूसँग गरिएका द्विपक्षीय तथा मध्यकालीन सम्झौताहरूलाई माध्यम बनाएको छ। हाल भारतको हरियाणा र बिहारका विद्युत वितरण कम्पनीहरूसँगको द्विपक्षीय सम्झौता बमोजिमको विद्युत् निर्यात पनि सुचारु रूपमा अघि बढिरहेको छ।

भारत र बंगलादेशबाट प्राप्त भयो निर्यात अनुमति

नेपालको विद्युत् उत्पादन क्षमतामा भएको क्रमिक वृद्धिसँगै निर्यातका लागि प्राप्त अनुमति पनि थपिँदै गएको छ। हाल प्राधिकरणसँग भारत र बंगलादेश गरी कुल १ हजार २ सय मेगावाटसम्म विद्युत् निर्यात गर्न सक्ने अनुमति सुरक्षित छ। यस अन्तर्गत भारतीय बजारमा मात्रै स्वीकृत प्राप्त विभिन्न आयोजनाहरूबाट १ हजार १ सय ६५ मेगावाट बिजुली निर्यातको अनुमति छ। नेपालले भारतीय बजारमा बिक्री गर्ने यो बिजुलीको औसत दर प्रति युनिट ५।२५ देखि ५।४५ भारतीय रुपैयाँ रहेको छ।

बंगलादेशतर्फको निर्यात र यसको मूल्य

नेपालले यस वर्ष बंगलादेशमा पनि ऐतिहासिक रूपमा विद्युत् निर्यात सुरु गरेको छ। बंगलादेशमा जुन १५ देखि नोभेम्बर १५ सम्म गरी कुल पाँच महिनाका लागि ४० मेगावाट विद्युत् निर्यात गर्न कात्तिक २०८१ मा औपचारिक अनुमति प्राप्त भएको थियो। यस निर्यातका लागि प्राधिकरणले आफ्ना दुई प्रमुख आयोजनाहरू १८.६० मेगावाटको त्रिशूली जलविद्युत् आयोजना र २१.४० मेगावाटको चिलिमे जलविद्युत् आयोजनाको बिजुली प्रयोग गरिरहेको छ।

नेपालले बंगलादेशलाई प्रतियुनिट ६.४० अमेरिकी सेन्टका दरले यो बिजुली बिक्री गरिरहेको छ। नेपाल र बंगलादेशबिच सिधा भौगोलिक सीमा नजोडिएका कारण भारतीय प्रसारण ग्रीडको प्रयोग गरी यो बिजुली बंगलादेश पठाइने हुनाले यसमा त्रिपक्षीय र भारतको केन्द्रीय स्वीकृत अनिवार्य रहँदै आएको छ।

Share Now